सुदूरपश्चिममा हुलाकी सडकः अर्बौ लगानी, गति सुस्त


सुदूरपश्चिम प्रदेशमा निमार्णाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ ।

कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्म को काम सन्तोषजनक रुपले अघि बढ्न सकेको छैन । सुदूरपश्चिमको उक्त क्षेत्रमा हुलाकी सडक झण्डै तीस महिनायता निर्माणाधीन अवस्थामा छ ।

कैलालीमा लम्कीदेखि टीकापुरतर्फको पहिलो प्याकेज ९८ किलोमिटर० सडकमा निर्माण कम्पनीले ६४ प्रतिशत भौतिक प्रगति गरे पनि खङ्ग्रौलासम्मको बाँकी दुई प्याकेजमा २५ देखि ३० प्रतिशत मात्रै काम भएको छ ।

विसं २०७७ जेठदेखि निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले कोरोना कहरका बेला काम गर्न नपाउँदा पनि निर्माणमा ढिलाइ भएको बताएका छन् ।

लम्कीदेखि खङ्ग्रौला नाकासम्म साढे २९ किलोमिटर सडकमा अहिले पहिलो प्याकेजको एक किलोमिटर सडक कालोपत्रको तयारी भइरहेको छ । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर दीपक सुनारले आयोजना अन्तर्गत कैलाली र कञ्चनपुरमा सडक निर्माणको कामले गति लिन नसकेको बताए ।

“कोरोनाले काम प्रभावित हुँदा ढिलाइ भयो”, उनले भने, “कञ्चनपुरमा भइरहेको काम असारमा नसकिए निर्माण व्यवसायीलाई गाह्रो पर्ने स्थिति पनि हो ।” लम्कीदेखि दक्षिण टीकापुरतर्फको आठ किलोमिटर सडकलगायत संरचना निर्माणका लागि ४० करोड रुपैयाँ लागत छ ।

उनका अनुसार उक्त सडकको दोस्रो प्याकेज १० र अन्तिम प्याकेज साढे ११ किलोमिटर निर्माण गर्नुपर्ने छ । “दोस्रो प्याकेज ४१ करोड र तेस्रो ३३ करोडको हो”, उनले भने, “काम चलिरहेको भए पनि द्रुत गतिमा भने छैन ।” तीन वटै प्याकेजको समय भने आगामी मङ्सिरसम्म मात्र छ ।

त्यसैगरी धनगढी क्याम्पस रोडदेखि भजनीसम्मको ६२ किलोमिटर सडकमध्ये १८ किलोमिटर कालोपत्र भइसकेको सूचना अधिकृत सुनारले बताए । “सो सडकमा चार वटा प्याकेजमा ४४ किलोमिटर सडक निर्माण जारी छ”, सुनारले भने,“उक्त काम एक अर्ब ३० करोडको लगानीमा बन्दै छ ।” सो क्षेत्रमा निर्माणाधीन सडकको गति पनि सुस्त नै छ ।

त्यसैगरी कञ्चनपुरको डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये ३४ किलोमिटरमा कालोपत्रे सकिएको छ । विसं २०७३ फागुनमा ३० महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको उक्त सडक दोब्बर समय सकिँदा पनि करिब ५० प्रतिशत काम बाँकी छ । डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर, बेलौरीदेखि बेल्डाडीसम्को २० र बेल्डाडीदेखि दैजीसम्म २२ किलोमिटर सडक तीन प्याकेजमा काम भइरहेको छ ।

यहाँ पहिलो प्याकेजको काम सम्पन्न हुने चरणमा रहेपनि अरु दुई प्याकेजमा बाँकी छ । कञ्चनपुरमा निर्माण व्यवसायीको ढिलासुस्तीले पनि काममा ढिलासुस्ती भएको हो । कञ्चनपुरमा निर्माणाधीन उक्त हुलाकी सडक तीन प्याकेजमा निर्माण गर्नका लागि एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । – रासस

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।