कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव


अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ ।

बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा उपलब्ध नहुँदा उपभोक्ता समस्यामा परेका छन् । कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाममा पेट्रोलियम पदार्थको अभाव भएको पाइएको हो ।

महिनौँ दिनसम्म कर्णाली राजमार्ग नखुल्ने हल्ला चलेकाले बजारमा कालोबजारी भएको जनगुनासो आएपछि चन्दननाथ नगरपालिका जुम्लाका उपप्रमुख रामदेवी खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रिजालको अगुवाइमा बजार अनुगमन गरिएको हो ।

खाद्यान्न र पेट्रोलियम पदार्थका पसल अनुमगनका क्रममा झण्डै दुई महिना पुग्ने खाद्यान्न र खाने तेल बजारमा मौज्दात रहेको सहायक प्रजिअ रिजालले जानकारी दिइन् ।

दशवटा पसलको अनुगमन गर्दा पेट्रोलियम पदार्थबाहेक दैनिक उपभोग्य वस्तुमा समस्या नहुने देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छिटोभन्दा छिटो अवरुद्ध राजमार्ग खुलाउनका लागिपरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।