अमेरिकी राजदुतसँग अर्थमन्त्रीले भने – ठुला पूर्वाधार निर्माणमा अमेरिकी सहयोगको अपेक्षा छ


अर्थमन्त्री जनार्दन शर्माले नवनियुक्त अमेरिकी राजदुतसँगको भेटमा ठुला पूर्वाधार निर्माणमा अमेरिकी सहयोगको अपेक्षा रहेको बताएका छन् ।

मंगलबार नेपालका लागि नवनियुक्त अमेरिकी राजदुत डिन आर थम्प्सनसँगको शिष्टाचार भेटका क्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

अर्थ मन्त्रालयमा मंगलबार बिहान भएको भेटका क्रममा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरेका थिए ।

“अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ”, अर्थमन्त्री शर्माले भने, “भूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।”

अहिले ठूला पूर्वाधारहरू आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको मन्त्री शर्माले बताएका थिए । युएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको भन्दै मन्त्री शर्माले त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह पनि गरेका थिए ।

राजदूत थम्प्सनले नेपालमा उत्पादित विभिन्न वस्तुको अमेरिकातर्फ निर्यात लगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताएका थिए । उनले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।