बीमा क्षेत्रका नियामक, कम्पनी र अभिकर्तासम्मले ‘मिस सेलिङ’लाई रोक्नुपर्छ: निराजन कँडेल

0
Shares

बैंकिङ क्षेत्रमा रमाइरहेका निराजन कँडेल आजभन्दा पाँच वर्ष अघि जीवन बीमा कमपनीको उच्च व्यवस्थापन जाने निर्णय गरे । तर, उक्त निर्णयलाई लिएर पछुताउनु नपरेको उनी बताउँछन् । १२ वर्ष बैंकिङ क्षेत्रमा विताएका निराजन कँडेल वित्तीय क्षेत्रमा सक्रिय रहेको १६ वर्ष भैसकेको छ । ८ वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंकमा काम गरेका कडेँलले सिटिजन्स बैंक इन्टरनेशन र सिद्धार्थ बैंकमा समेत काम गरे ।

हाल नेशनल बैंकिङ इन्ष्टिच्यूटका प्रशिक्षक समेत रहेका उनले शैक्षिक रुपमा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्टस् हासिल गरेका छन् । त्यतिमात्र नभइ उनले विजनेस स्टडिजमा स्नातकोत्तर गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सको स्थापना कालदेखि उच्च व्यवस्थापनमा रहेका कँडेल अहिले डेपुटी प्रमूख कार्यकारी अधिकृतको रुपमा छन् । छोटो अवधिमै नयाँ कम्पनीलाई प्रतिस्पर्धी बजारमा स्थापित गर्नका लागि महत्वपुर्ण भुमिका खेलेका कँडेलले बीमा क्षेत्रमा पनि कमी कमजोरी रहेको स्वीकार गर्छन् । बीमा क्षेत्रको सुधारका लागि नियामक देखि कम्पनी र अभिकर्तासम्मले ‘मिस सेलिङ’ लाई रोक्नुपर्ने तर्क गर्ने कँडेलसँग समग्र बीमा क्षेत्र तथा नयाँ बीमा ऐनका सन्दर्भमा नोटबजारले गरेको कुराकानीः-

बैंकिङ क्षेत्रमा १२ वर्ष बिताइसकेको मान्छे बीमा क्षेत्रमा त्यो पनि नयाँ स्थापना भएको कम्पनीमा आउने सोच कसरी आयो । रिलायन्स लाइफमा आएको पनि ५ वर्ष पूरा भैसकेको छ । यो अवधिमा बीमा क्षेत्रलाई कसरी बुझ्नु भयो ? बैंकिङ क्षेत्र छाेडेको पश्चताप त छैन नि ?

मैले बैैंकिङ करिअर सुरु गरेको सन् २००६ देखि हो । बैंकिङ क्षेत्रमा विताएको १२ वर्षमध्ये ८ वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंकमा बिताए । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा प्रवेश गर्दा नै सिनियर पोजिसनमा गए । त्यसका साथै मैले उच्च व्यवस्थापनका काम कारबाहीका प्रक्रिया सिक्ने मैका पनि पाए । त्यसका साथै विजनेस म्यनेजर, वेल्थ म्यानेजमेन्ट लगायतका धेरै क्षेत्रमा काम गरे । करिअरकै कुरा गर्दा सन्तुष्टिजन रुपमा अघि वढीरहेको थियो । बैंकमा धेरै सहज अवस्थामा थिए । त्यसपछि मलाइ सहज अवस्थामा भयो भने सिकाइ र करिअरमा छलाङ मार्न सकिदैन भन्ने महसुस भयो । त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको जागिर छोडेर बीमा क्षेत्रमा प्रवेश गरे । बैंकिङ क्षेत्र छोडेर बीमामा आउने भन्ने सोचेकै थिइन । तर, अकस्मात अवसर आयो । नयाँ क्षेत्रको पनि सिकौं भन्ने सोच सहित उद्घाटन पनि नभएको रिलाइन्स लाइफ इन्स्योरेन्ससंग जोडिए । त्यसपछि संस्थालाई अघि बढाउन नयाँ टीम बनाउनमा महत्वपुर्ण भुमिका खेल्ने अवसर पाए । त्यसको नतिजा पछिल्लो ५ वर्षमा कम्पनीले गरेको ग्रोथबाट नै हेर्न सकिन्छ ।

बैंकिङ क्षेत्रमा रहदै गर्दा अन्तराष्ट्रिय बैंकिङ अभ्यासहरु सिकिन्थ्यो । तर, बीमा क्षेत्रमा आएकै कारण दैलेख, डडेल्धुरा जस्ता ग्रामीण क्षेत्रको अवलोकन गर्ने तथा बुझ्ने अवसर पाए । त्यससंगै नयाँ नयाँ मान्छेहरुसँग भेट्ने मौका मिल्यो । त्यसले पनि धेरै कुरा सिक्ने अवसर दियो । आफ्नो देशको वास्तविकता देख्ने अवसर पाए । त्यसका साथै नेपालको व्यवसायीक बातावरणको विषयमा पनि बुझ्ने मौका पाए । आजको दिनमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको १२० शाखाहरु रहेका छन् । ठुलो सञ्जाल भएकाले पनि नयाँ कुरा सिक्न तथा बुझन थप मद्दत पुगेको छ । त्यसले गर्दा पनि बैंकिङ क्षेत्र छोडेर बीमा तर्फ आएको कुनै पछुतो छैन । यो क्षेत्रमा आउने त्यो निर्णय गरेर ठिकै गरेछु ।

ग्राहकले पैसा लिएर जाने बैंकिङ क्षेत्रबाट कागज बिक्री गरेर पैसा लिन क्षेत्रमा आउनुभएको छ । बीमा क्षेत्रका काम गर्न कत्तिको सहज रैछ त ?

बैंकमा पैसा राख्न होस वा कर्जा लिन ग्राहक आफै जान्छन । तर, बीमा व्यवसाय त्यस्तो होइन । बीमा क्षेत्रको व्यवसाय गर्दा ९९ प्रतिशत ग्राहककोमा हामी पुग्नु पर्छ । पुगेर मात्र नभई ग्राहकलाई बीमा बुझाएर पोलिसी बिक्री गर्नुपर्ने अवस्था छ । बैंक र बीमा दुबै वित्तीय संस्था हुन । बैंक र बीमा दुबैले संकलन गर्ने भनेको सर्वसाधारणको पैसा नै हो । बैंकले निक्षेपको रुपमा लिएको हुन्छ भने बीमा कम्पनीले प्रिमियमबाट सर्वसाधारणको पैसा जम्मा गर्ने हो । लगानीको सन्दर्भमा बैंकहरुले धेरै सहज छ । बीमा कम्पनीहरु आफैले पनि जलविद्युत र उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने बाटो खुलाइदिएको अवस्था छ । आजको दिनमा बीमा कम्पनीहरुले लगानी गर्ने भनेको बैंक वित्तीय संस्थाको निक्षेप, सरकारी ऋणपत्र तथा डिवेञ्चरमा पनि लगानी गर्छन ।

बैंक बीमाले पैसाकै कारोबार गर्ने भएपनि बैंकले कर्जा दिन्छ र त्यसलाइ असुल गर्न भने बीमा कम्पनीले जोखिम खरिद गरेको बीमीतलाई भूक्तानी दिन्छ । बैंकले पैसा बिक्री गर्छ भने बीमाले सुरक्षा तथा भविष्य बिक्री गर्ने हो । कुनै पनि व्यक्तिले खुलेर जिवन जिउनका लागि बीमा गर्नु पर्छ भन्ने हो ।

कम्पनी आफैमा नयाँ त्यसमा पनि उच्च व्यवस्थापनमा बीमा भन्दा फरक क्षेत्रका व्यक्ति धेरै हुँदा बजारका पुराना कम्पनीहरुसंग प्रतिस्पर्धा गरेर व्यवसाय विस्तार गर्न कत्तिको चुनौतिपुर्ण रह्यो ?

पछिल्लो समयमा बहुराष्ट्रिय कम्पनीहरुले पनि कर्मचारी भर्ना गर्दा सम्बन्धित क्षेत्र भन्दा पनि फरक पेसा व्यवसायमा आवद्ध व्यक्तिलाई छनोट गर्ने गरेको देखिन्छ । फरक क्षेत्रको व्यक्ति आएको खण्डमा सोच्ने तरीका नै भिन्न हुने भएकाले पनि संस्थाको ग्रोथमा सकारात्मक प्रभाव पर्छ । मेरै कुरा गर्दा पनि रिलायन्समा आउनु भन्दा अघि इन्स्योरेन्स कम्पनीमा कसरी काम हुन्छ भन्ने थाहा थिएन । नयाँ क्षेत्रबाट आएको उच्च व्यवस्थापनमा भएकाले भैरहेका बीमा कम्पनीको भन्दा रिलायन्सको कार्य शैली फरक भयो । त्यसले गर्दा कम्पनी स्थापित हुन वा व्यवसाय विस्तार गर्न सहज भयो । रिलायन्स स्थापना भएको ५ वर्ष पुरा हुदै गर्दा अन्य कम्पनीका भन्दा फरक रुपमा स्थापित हुन सफल भएका छ । प्रिमियमको दृष्टिकोणबाट हामी पहिलो नभएपनि अन्य धेरै पक्षबाट रिलायन्स पहिलो नम्बरमा छ । यसमा बीमाको लिगेसी भएका निर्णयकर्ताहरु भएकाले पनि रिलायन्सलाई सबल संस्थाको रुपमा स्थापित हुन मद्दत पुगेको छ भन्ने लाग्छ ।

केही समय अघि मात्र तपाइको कम्पनीले भुक्तानी गरेको बीमा दावी नक्कली भएको पुष्टि भयो, यसमा कम्पनीको तर्फबाट के कस्ता कमजोरी भएका रहेछन् ?

पछिल्लो समयमा बीमा समितिको नियमन निकै प्रभावकारी हुदै आएको छ । नियामकको कमजोरीका कारण फेक क्लेम देखिएको भन्न मिल्ने अवस्था अहिले छैन । कुनै पनि समाजमा केही न केही नकारात्मक काम गर्ने अभ्यास भएको हुन्छ । केही गलत अभ्यास हुन्छ भन्दै गर्दा त्यो हुनु सामान्य हो भन्न खोजेको पनि होइन । बीमामा काम गर्दा असल नियतको सिद्धान्तमा रहेर काम गरिन्छ । कुनै पनि बीमा पोलिसी खरिद गर्दा ग्राहकले स्व घोषणा गर्नुपर्ने हुन्छ । जस्तो कुनै दिर्घकालीन रोग भए नभएको लगायतका विषयहरु हुन्छ । पोलिसी बिक्री गर्दा बीमा कम्पनीले ग्राहकको स्व घोषणालाई विश्वास गर्नुको विकल्प हुदैन । दावी भूक्तानी गर्नुपर्ने अवस्थामा ग्राहकले स्व घोषणा गरेका कुराहरु सत्य नभएको पाइएको खण्डमा पोलिसीमा उल्लेख भएका विषयहरुको कार्यान्वयन गर्न बाध्य हुदैन । असल नियतले काम गर्ने भएकाले बीमा कम्पनीहरुबाट पनि सबै कुरा पहिचान हुन्छ भन्ने हुदैन । बीमा कम्पनीमा पनि मानिसले नै काम गर्ने भएकाले ह्यूमन एरर हुने गर्छ । पछिल्लो समयमा नियमन तथा बीमा कम्पनीका सीस्टमहरुमा पनि आएको सुधारका कारणले धेरै हदसम्म यस्ता कमजोरीहरुमा सुधार आएको छ।

तर, फेक क्लेमको सन्दर्भमा निर्जवन बीमामा जस्तो जीवनमा हुदैन । बीमा दावी लिन कै लागि भनेर मान्छे मर्ने भन्ने त नहोला । र्निजीवन बीमा गर्दा फिक्स भ्यालुमा हुन्छ । तर, जीवन अमुल्य भएकाले बहु संस्थाबाट पोलिसी खरिद गर्न सकिन्छ । कीनकी जिवनको मुल्य नै छैन । जीवन बीमामा फ्रर्ड हुने सम्भावना व्यवसायको प्रकृतिमै छैन । जीवन बीमामा फ्रर्ड हुने भनेको क्राइमसंग जोडिन जान्छ । विगतका घट्नाबाट सिकेर आगामी दिनमा नदोहोर्याउने खालको सुधार गर्नु पर्छ । यो भनेको क्रमीक सुधार हुने विषय हो ।

जीवन बीमा कम्पनीहरुको सर्वसाधारणसंग पैसा उठाउने अनि बैंकमा निक्षेप राख्ने प्रवृत्ति छ, तपाइहरु आफै लगानी किन नगर्ने ?

बीमा कम्पनी पनि वित्तीय संस्था सरह नै भएकाले सर्वसाधरणबाट फण्ड संकलन गर्ने हो । फण्ड संकलन गरीसकेपछि पोलिसी होल्डरलाइ रिटर्न दिनु पर्ने हुन्छ । त्यसका साथै संस्था सञ्चालन गर्ने र सेयरधनीलाइ समेत उपयुक्त प्रतिफल दिनु नै पर्ने हुन्छ । आजको दिनमा बीमा व्यवसायलाई हेर्दा सेयरधनीलाई ४ देखि ५ प्रतिशतको प्रतिफल पनि छैन । त्यसले गर्दा फण्ड भैसकेपछि त्यसलाई के गर्ने भन्ने प्रश्न हुनु स्वभाविक नै हो । नेपालको पुँजी बजारमा लगानी गर्ने भनेर हेर्ने हो भने पनि भर्खरै बामे सरीरहेको अवस्था छ । लगानी गर्नका लागि औजारहरु नै छैन । लगानी गर्ने औजारहरु छैन भन्दै गर्दा अर्थतन्त्रको आकार कत्रो हो भन्ने विषयलाइ पनि हेर्नुपर्छ । हाम्रो जस्तो सानो अर्थतन्त्रमा लगानीका धेरै औजारहरु उपलब्ध हुदैन ।

त्यसैले बीमा कम्पनीले सरकारी वण्डमा लगानी गर्नका लागि पनि सरकारले सोही अनुसार ल्याउन सक्नु पर्यो । आजको दिनमा बीमा कम्पनीहरुले पेन्सन खालका योजनाहरु सञ्चालन गर्न सक्ने अवस्था छैन । दिर्घकालिन लगानीका लागि औजार नै छैन । बीमा कम्पनीले १५ वर्षका लागि सर्वसाधरणबाट लिएको फण्ड सोही अवधिका लागि लगानी गर्ने अवस्था छैन । त्यो नभएपनि अल्पकालिन औजारमा लगानी गर्दा मिसम्याच हुन सक्छ । त्यसैले लगानी गर्ने अवस्था नहुदा बैंक वित्तीय संस्थामा निक्षेप राख्नु परेको हो ।

त्यसैले समय अनुसारका नयाँ क्षेत्र तथा उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सकिन्छ । अहिले फोहोर व्यवस्थापनको कुरा आइरहेको छ । त्यसमा बीमा कम्पनीहरुले लगानी गर्न सक्ने अवस्था रहन्छ । यी क्षेत्रहरुको लगानी गर्न पाइदैन । बीमा कम्पनीहरुलाई लगानीका लागि सीमा क्षेत्र भन्दा पनि दायरा फराकिलो बनाइदिनु पर्यो । नयाँ क्षेत्रमा लगानी गर्न नदिदासम्म हामीले भेञ्चर क्यापिटको मोडमा वा स्टार्ट अपमा लगानी गर्न सक्दैनौ ।

पछिल्लो समयमा बीमा समितिले बीमा कम्पनीहरुका लागि लगानीका क्षेत्रहरु खुलाउदै गएको छ । बीमा कम्पनीले बैंकमा राख्ने मात्र नभई डारेक्ट लगानी पनि गर्न सकिन्छ । त्यसका लागि जोखिमको समिक्षा गरेर लगानी गर्न खुलाइएको छ । बीमा कम्पनीले पनि प्रत्यक्ष रुपमा उत्पादन मूलक क्षेत्रमा लगानी गर्न सक्छौ भनेर लगानी गर्ने क्षेत्र खुलाउदै गएको खण्डमा बैंकमा नै किन राख्ने भन्ने हुन्छ । बैंकमा निक्षेप राख्दा त्यो पैसा अटो वा होम लोनका लागि पनि जान्छ होला ।

बीमा क्षेत्रबाट आएको पैसाले उत्पादन मुलक क्षेत्रलाई मात्र सपोर्ट गर्नु पर्छ भन्ने पनि हुदैन होला । यसमा पनि नियामक निकायले काम गरीरहेको छ भन्ने लाग्छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीको फण्ड १८६ अर्ब रुपैयाँको रहेको छ । त्यसैगरी जिवन र निर्जिवन बीमा कम्पनीहरुको गरेर करिब ७५ अर्ब रुपैयाँ चूक्ता पुँजी रहेको छ । यो रकमको केही हिस्सा बीमा कम्पनीले प्रत्यक्ष लगानी गर्न सक्ने भन्ने नियम आएको खण्डमा हामीले त्यसका काम गर्न सक्छौ । लगानीका लागि विज्ञता पनि बीमा कम्पनीसंग छ ।

लगानीका लागि विविधता खोज्दै गर्दा जीवन बीमा कम्पनीले बिक्री गर्ने पोलिसीमा पनि विविधता छैनन नी होइन ?

अन्तराष्टिय बीमा बजारको तुलनामा नेपालमा नियमीत र परम्परागत वीमा योजना नै बिक्री गर्दै आएको कुरा सत्य हो । बीमा पोलिसी खरिद गर्नु भनेको लगानी भन्ने गरिन्छ । त्यो होइन । बीमाका लागि गरीने लगानीलाइ तपाई लगानी भन्न सक्नुहुन्छ । तर, लगानी भनेको सेयर बजार, समुहिक लगानी कोष, मुद्दती निक्षेप, बण्ड लगायतका औजारहरुमा गरिन्छ । बीमा पोलिसी भनेको बचत केन्द्रित योजना हो । अन्तराष्टिय अभ्यास हेर्न ेहो भने लगानी प्रडक्ट पनि बीमा कम्पनीले बिक्री गर्छ । तर, नेपालको सन्दर्भमा सुरु हुन सकेको छैन । नेपाली बीमा कम्पनीले लगानी योजना सुरु गरेपनि लगानी गर्ने क्षेत्र छैन । त्यसले गर्दा पनि त्यस्तो योजनाहरुको सुरुवात हुन सकेको छैन ।

पुँजीबजारमा अहिले पनि बैंक वित्तीय संस्थाको बाहुल्यता रहेको छ । पछिल्लो समयमा रियल सेक्टरका केही कम्पनीहरु थपिन थालेका छन । धितोपत्र बजारमा लगानी गर्न पनि विविधिकरण छैन । त्यसले गर्दा पनि बीमा कम्पनीहरुका योजनाहरुमा केही सिमितता आएको हो । त्यस विषयमा रिलायन्स लाइफले केही योजना पनि गरेको हो । त्यसमा हामीले काम गरीरहेका छौ । धितोपत्र बजारमा विविधिरण आउने वित्तीकै त्यस्ता खालका योजनाहरु हामी ल्याउँछौ ।

पोलिसीको कुरा गर्दा रिलायन्स लाइफ एक मात्र नविनतम योजना ल्याउने कम्पनी हो । हामीले सुरु गरेको चाइल्ड प्लान कुनै पनि कम्पनीहरुले सुरु गरेका थिएनन । आजको दिनसम्म पनि त्यसलाई यूनिक प्रडक्टको रुपमा लिइन्छ । नेपालमा टर्म प्लान ल्याएर यसलाई किन्न पर्छ भन्ने हामी पहिलो कम्पनी नै हो । टर्म प्लान बिक्री गर्दा प्रिमियम थोरै हुन्छ । अहिले प्रिमियम बढाउने पनि प्रतिस्पर्धा छ । यसले गर्दा पनि टर्म प्लान पछि परेको देखिन्छ ।

बीमा समितिले बीमा क्षेत्रको प्रयाप्त अध्ययन तथा अनुसन्धान नगरी कम्पनीको लाइसेन्स वितरण गर्ने अनि मर्जर गराउने खालको नीतिले पनि बीमा व्यवसाय अपेक्षित रुपमा विस्तार हुन नसकेको हो ?

बीमा समितिको लाइसेन्स र मर्जर नीति कै कारणले भन्ने मलाइ लाग्दैन । नयाँ लाइसेन्स वितरण पनि बीमाको पहुँच विस्तार हुनमा धेरै मद्दत पुगेको छ । आजको दिनमा बीमा पहुँचको अवस्था ४१ प्रतिशत रहेको छ । नयाँ कम्पनी नआएको भए यो हुदैनथ्यो । नयाँ कम्पनीहरु आउदा प्रतिस्पर्धा बढेको छ । प्रतिस्पर्धा बढेसंगै बीमा क्षेत्रमा केही कमी कमजोरीहरु पनि बढेको हुन सक्छ । यो क्षेत्रले १२ हजार भन्दा धेरैलाई प्रत्यक्ष रोजगार दिएको छ । यसलाई नकारात्मक रुपमा मात्र हेर्न मिल्दैन । कुनै पनि बजारमा कन्सोलिडेसन भनेको अन्तिम विकल्प हो । कम्पनीले लिने जोखिम क्षमता बढाउनका लागि पुँजी बढाउनै पर्ने हुन्छ । सर्वसाधरणको पैसामा जोखिम लिने भएपनि हामी प्रभावकारी नियमनमा पनि हुनुपर्छ । त्यसैले पनि यो क्षेत्रको नियमन अन्यको तुलनामा बलियो छ ।

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा लगानी योग्य रकमको अभाव भयो । त्यसपछि बैंकहरुले पनि बीमा कम्पनीका जस्तै निक्षेप योजनाहरु सुरु गरेका छन् । यसलाई कसरी हेर्नु भएको छ ?

बैंकहरुले पछिल्लो समयमा ल्याएका निक्षेप योजनाहरुलाई मार्केटिङ गेमिक्स हो । व्यक्तिगत रुपमा मैले यसलाई समर्थन गर्दिन । एउटा कुरा देखाउने र सर्तहरुलाई सानो सानो अक्षरमा लेखिए जस्तै हो । बैंकहरुले ल्याएका निक्षेप योजनामा तोकिएको समयसम्म नै पैसा राख्नु पर्ने हुन्छ । एक दिन मात्र अघि झिक्न परेको खण्डमा बचतको ब्याजदर मात्र पाइन्छ । यसमा नियामकले बैंकहरुलाई नियमन गर्नुपर्छ भन्ने लाग्छ । बैंकको काम बैंकले गर्ने हो र बीमाको काम बीमाले नै गर्नु पर्छ । हैन भने बैंक एण्ड इन्स्योरेन्स भनेर एउटै लाइसेन्स दिए भैहाल्यो । प्रडक्ट जस्तो पनि डिजाइन गर्न सकिन्छ । किन बैंक र बीमा छुट्टा छुट्टै खोल्नु पर्यो । यो बैंकहरुबाट मिस सेलिङ हो । वित्तीय क्षेत्रको सबैभन्दा ठुलो जोखिम भनेको पनि मिस सेलिङ हो । यसमा नियमन अझै पनि कसीलो हुनु पर्छ ।
यस्तो अभ्यासले बैंक तथा बीमा प्रति सर्वसाधारणको बुझाइ पनि गलत हुनु जान्छ । यसले दिर्घकालमा समग्र अर्थतन्त्रमा नै असर गर्छ । बैंकका कारण बीमा कम्पनीको विजनेस गयो भन्दा पनि हामीले सही काम गर्नुपर्छ भन्ने हो ।

बीमाको पहुँच विस्तार भएको भएपनि पोलिसी सरेण्डर दर घटाउन नसक्नुको कारण के हो ?

पोलिसी सरेण्डरको मूख्य कारण मिस सेलिङ पनि हुन सक्छ । मिस सेलिङ भएपनि पोलिसी बिक्री भएको निश्चित अवधिपछि बीमीतले नचाहिने कुरा रहेछ भनेर सरेण्डर गर्छन । त्यसका साथै पैसाको आवश्यकता परेकाले पनि सरेण्डर हुने गर्छ । कतिपय अवस्थामा अन्य कारणले पनि सरेण्डर हुने गर्छ । नयाँ बीमा ऐन आएको छ । नियमावली आउने क्रममा छ । अन्य निर्देशिका तथा निर्देशन पनि आउनेछ । अबका दिनमा अभिकर्तालाई दिने लाइसेन्सको सन्दर्भमा राम्रो गाइडलाइन हुनु पर्छ । अभिकर्ताको लाइसेन्स लिने प्रक्रिया कडा नभएकाले पनि आवश्यक ज्ञान छ की छैन भन्ने पनि यकिन गर्न नसकिने अवस्था छ ।

जीवन बीमा कम्पनीहरुले बोनस दरलाई देखाएर पोलिसी बिक्री गर्ने गरेको देखिन्छ, यसलाई कसरी हेर्नु भएको छ ?

जीवन बीमा कम्पनीले बोनसलाइ देखाएर पोलिसी बिक्री गर्ने गरेका पाइन्छ । बोनसदरमा लोभ देखाउने भनेको केही समयका लागि मात्र हो । दिर्घकालमा गएर नेपाली जीवन बीमा कम्पनीहरु सबैको बोनस दर करिब उस्तै नै हुन्छ । कीनकी जीवन बीमा कम्पनीहरुले लगानी गर्ने भनेको सिमित क्षेत्रमा मात्र हो। लगानीको क्षेत्रहरुमा विविधिकरण थियो भने फरक पर्न सक्थ्यो । त्यस्तो नभएकाले दिर्घकालमा सबै बोनस दर उस्तै नै हुने हो ।
बोनस देखाएर पोलिसी बिक्री गर्नु भनेको पनि मिस सेलिङ हो । कुनै पनि बीमा पोलिसी खरिद गर्दा बोनस भनेको दोस्रो कुरा हो । बीमा पोलिसीका लागि चाहिने कुरा नराखि बोनस देखाउनु गलत हो । बीमा पोलिसीमा हुनु पर्ने मूख्य कुरा भनेको पोलिसी होल्डरलाइ हुने बेनिफिट हो । बीमा कम्पनीले बिक्री गर्ने भनेको पनि बेनिफिट होे । प्रडक्ट होइन ।

बीमा ऐन २०७९ लागु पनि भैसकेको अवस्था छ, नयाँ ऐनले बीमा व्यवसायलाई आगामी दिनमा कसरी अघि बढाउने देख्नु हुन्छ ?

बीमा ऐन २०७९ लागु भएको छ । ऐनमा सबै कुरा विस्तृत हुदैन । त्यसैले नियमावली पनि आउनु पर्छ । नियमावली नआउदासम्म आगामी बीमा क्षेत्र यस्तै हुन्छ भनेर भन्न सकिने अवस्था हुदैन । ऐनले बीमा अभिकर्तालाई एक कम्पनीमा मात्र आवद्ध हुने भनेको छ । यो निकै राम्रो कुरा हो । अभिकर्ताको विषयमा नियमावली र निर्देशिकाले पनि थप व्यवस्था गर्लान । तर, अभिकर्ता हुनका लागि नियामकको रहोबरमा परिक्षा दिने र पास भएपछिमात्र काम गर्न पाउने व्यवस्था हुनु पर्छ । बीमा अभिकर्ता भनेको समान्य कुरा होइन । अभिकर्ता भनेको वित्तीय सल्लाहाकार पनि हो । त्यसैले आउने दिनमा अभिकर्ताको लाइसेन्स दिने प्रक्रियालाई सबलिकरण गरिनु पर्छ । अभिकर्ताको क्षमता विकास हुने गरी परिक्षा लिइनुपर्छ भन्न खोजेको हो ।

नयाँ ऐनलाई सरसर्ति हेर्दा धेरै परिवर्तन भएको देखिदैन । नयाँ देखिएको एउटा कुरा भनेको सञ्चालकहरुको अवधिमा बोलेको छ । त्यसका साथै अनुमतीपत्रको विषयमा पनि परिवर्तन गरिएको छ । त्यो भन्दा बाहेकका विषयमा हामीले पनि नियमावलीलाई पर्खेका छौ । इन्स्योरेन्स ब्रोकर तथा सर्भेअरको विषयमा पनि केही नयाँ व्यवस्था गरेको छ । यसको विस्तृत नियमावलीमा उल्लेख होला ।

रिलायन्स र सानिामा लाइफ इन्स्योरेन्स मर्जरको प्रक्रिया कहाँ पुगेको छ ?

दुई कम्पनी बीच मर्जर लागि प्रारम्भिक सम्झौता गरिसकेको अवस्था छ । त्यसपछिको प्रक्रिया पनि अघि बढीनै रहेको छ । अहिले डीडीए भैरहेको छ । हाम्रो चाहाना पनि जतिसक्दो छिटो मर्जर प्रक्रिया पुरा गरेर संयुक्त कारोबार गर्ने भन्ने हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।