कालिगण्डकी करिडोरलाई व्यवस्थित गरेर कोराला नाकासँग जोड्न सके मुस्ताङको पर्यटनले गति लिन्छ: सोनाम लामा

0
Shares

गैरआवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले मुस्ताङको मुक्तिनाथ स्थित रानीपौवामा सुविधा सम्पन्न बुटिक रिसोर्ट सञ्चालनमा ल्याएका छन् । मनमोहक हिमालको दृष्यावलोकन गर्न सकिने गरि निर्माण भएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ मा लामाले ५५ करोड रुपैयाँ लगानी गरेका छन् । रिसोर्टलाई अझै बिस्तार गर्ने योजना बनाएका लामा पर्यटकको चाप बढेपनि स्तरीय र सुविधा सम्पन्न होटल संरचनाको अभाव टार्न रिसोर्टले भूमिका खेल्ने बताउँछन् ।

बुटिक अवधारणामा करिव १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । होटलमा २० कोठा, एक हल र अन्य आठ कोठा निर्माण कार्य भइरहेको छ ।

होटल उच्च हिमाली क्षेत्रमा रहेकाले चिसोबाट बच्न सोना तथा स्पाको समेत सुविधा रहेको छ । होटलको स्वामित्व सञ्चालनमा आएको ३५ वर्षपछि मुक्तिनाथबासीलाई हस्तान्तरण गर्ने योजना सहित जग्गा भाडामा लिएका लामा मुस्ताङको विकासका लागि आफु लागिरहने बताउँछन् ।

अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आवद्ध रहे । काठमाडौंको ठमेलमा १०० बेड क्षमताको होटल लो मुस्ताङ सञ्चालनको तयारीमा रहेका लामा स्वदेशमा रोजगारी बिस्तारमा सकेको पहल गर्ने बताउँछन् ।

मुस्ताङ्मा रिसोर्टका साथै मुक्तिनाथ मन्दिरसँगै ३५ फिट अग्लो भगवान बुद्धको प्रस्तर मूर्ति समेत स्थापना गरेका लामा त्यहाँ धार्मिक पर्यटकको संख्या क्रमिक रुपमा बिस्तार हुनुपर्ने धारणा राख्छन् । यस्तै विषयलाई सन्दर्भ बनाएर नोटबजारका तीर्थराज पौड्याल र परमेश्वर अधिकारीले होटलका सञ्चालक लामालाई आफ्नो अगुवाईमा बुद्धमूर्ति स्थापनासँगै चारैतिर हिमालको बिचमा स्तरीय होटल खोल्दाको अनुभव कस्तो रह्यो ? भनेर सोधेका थिए ।

लामाको जवाफ: तपाईले भनेजस्तै चारैतिरको हिमाल हेर्दै बस्न चाहने धार्मिक पर्यटकहरुका लागि बुटिक अवधारणामा होटल खोलिएको हो । निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध गराउने छौं । समुन्द्री सतहबाट करिव ३ हजार ७०० मिटर उचाईमा बनेको यो रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न पाउनु नै यसको आकर्षण हो ।
हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा बढी हिन्दुधर्मालम्वीहरु दर्शन गर्नको लागि पुग्ने भएकाले होटलमा हिन्दुहरुको लागि शाकाहारी रेष्टुरेण्ट सञ्चालनमा ल्याउने तयारी भईरहेको छ ।
यसका अलावा रिसोर्टमा ध्यान, योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुनेगरी पार्क तथा अन्य संरचनासमेत बनाउने क्रम चलिरहेको छ । यस अर्थमा केही फरक गरौं भन्ने सोचले अघि सरेको योजनालाई सबैभन्दा पहिले यहाँका स्थानीयको साथ र सहयोग छ । विश्वभरी रहनु भएका र जसले मलाई चिन्नु हुन्छ, उहाँहरुबाट पनि उत्साहजनक प्रतिकृया पाइरहेको छु । यसले आगामी दिनमा मलाई थप काम गर्न उत्प्रेरणा मिल्नेमा विश्वस्त छु् ।

मुस्ताङबासीहरु तपाईप्रति अझै धेरै अपेक्षित भएको देखियो । आगामी दिनमा तपाईका योजना के के छन् ?

काम गर्दौ जाँदा नै अरु के के गर्ने भन्ने कुरा पनि अघि आउँछन् । अहिले भनेको यो रिसोर्टलाई स्थापीत गराउँदै समग्र मुस्ताङबासीको साथ र सहयोगमा अघि बढ्ने र परेको बेला आफु पनि सहयोगी बन्ने भन्ने हो । यसका लागि अहिले तपाईले देखिरहनु भएको रिसोर्टलाई अझै बिस्तार गर्नुपर्नेछ । तत्काल मैले अरु खास सोचेको छैन ।

यो रिसोर्टमा आउने आन्तरिक पर्यटक जसलाई यहाँ बस्न मन लाग्छ तर, आर्थिक अवस्थाले नसक्ने भए तपाईहरुले के गर्नुहुन्छ ?

म आफैंले सोचिरहेको विषय हो । यहाँ धार्मिक पर्यटक धेरै आउने भएकाले कसको आयस्तर कुन भन्ने निश्चित हुँदैन । त्यसमा पनि धार्मिक पर्यटकहरुमा धेरैजसो शाकाहारी आउनु हुन्छ । त्यसको लागि हामीले अलग अलग रेष्टुरेण्ट बिस्तार गर्ने योजना बनाएका छौं । यहाँ आउने सबै खाले पर्यटकहरुलाई सुविधा मिल्ने किसिमले संरचनाहरु बिस्तार गरेर सकेसम्म सहज अवस्था बनाउने हाम्रो प्रयास हुनेछ ।

ठमेलमा पनि होटल खोल्दै हुनुहुन्छ ? मुस्ताङ र ठमेलको अलग वाताबरणलाई कसरी लिनु भएको छ ?

ठमेल भनेको सिंगो काठमाण्डौं हो । त्यहाँ आउने पर्यटक र मुस्ताङ आउने पर्यटकको तुलना हुनै सक्दैन । हाम्रो अवधारण भनेको ब्रान्च मोडलमा ठमेलको होटलबाट मुस्ताङको बजारीकरण गर्ने हो । यसले ठमेलको लो मुस्ताङ होटलमा आउने पर्यटकलाई मुस्ताङसम्म तान्न सकियो भने त्यसले यो क्षेत्रलाई टेवा पुर्याउँछ ।

बुद्धमूर्ति उद्घाटनसँगै विष्णुमूर्ति शिलन्यास भएको छ । यसको निर्माणमा लगानी कसरी जुटाउँदै हुनुहुन्छ ?

गैरआवासीय नेपाली संघका पुर्व अध्यक्ष शेष घलेले ५० लाख रुपैयाँ उपलब्ध गराउने हुनु भएको छ । लगानी व्यवस्थापनका लागि हामीले एउटा समिति गठन गरेका छौं । समितिले आफ्नो स्थानबाट पहल गरिरहने छ । विश्वभरी छरिएर रहनु भएका गैरआवासीय नेपालीहरुबाट पनि रकम संकलन गरिनेछ भने मुक्तिनाथ मन्दिरको पनि सहयोग लिएर मन्दिर निर्माणको कामलाई पूर्णता दिन्छौं । यसमा नेपाल सरकार, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि सहयोग दिने योजना बनाएका छौं।

सोनाम लामा भनेर चिनिँदै गर्दा तपाईको विगतका सम्बन्धमा बताइदिनुस् ?

म नेपालको हिमालपारी तथा विकट जिल्ला मुस्ताङको सामान्य परिवारमा जन्म लिएको मान्छे हुँ । १५ वर्षको उमेरसम्म मैले यहाँ जति अध्ययन गर्न सकेँ त्यो मेरो शिक्षा हो । म मुस्ताङ जिल्लामा जन्म लिएपनि काठमाडौंमा धेरै समय दुःख गरेर बसेँ । भारतमा पनि बसेर व्यवसाय बिस्तारमा धेरै दुखः गरे । यस्तै क्रममा म अमेरिका पुगेर आफ्नो व्यवसायलाई अघि बढाउने काममा लागि रहेँ ।

विदेशमा बस्दा गैर आवासीय नेपाली संघको केन्द्रिय उपाध्यक्षसमेत भएर काम गरेँ । म मुस्ताङ जस्तो जिल्लामा जन्म लिएर विदेशमा गएर काम गरेर मुस्ताङको पर्यटन विकासको लागि केही काम गर्न पाउनु आफ्नो बुबा आमाको श्रेय हो । आफूसँग भए आफू जन्मको ठाँउ र समाजसेवा, आफ्नो देशलाई सहयोग गर्नुपर्छ भन्ने भावना छ । समाजसेवा गर्नु धर्म हो । मैले मेरो छोराछोरीलाई कमाइ दिनुपरेको छैन । आफैँ राम्रो काम गर्ने भएका छन् । उनीहरुबाट नै मलाई मुस्ताङको पर्यटन विकास र समाज सेवा गर्न साथ सहयोग रहेको छ । आफू जन्मेको ठाउँमा पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्नु मेरो पहिले देखिको उदेश्य रहेको थियो । तर अहिले आएर सम्भव भयो ।

मैले मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा विदेशी पर्यटकका लागि सुविधा सम्पन्न होटल तथा मुस्ताङका व्यवसायीहरुलाई पनि सिक्ने अवसर बनाउनको लागि रिसोर्टमा लगानी गरेको हुँ । पर्यटकहरु आएर बस्ने होटलहरुमा लजिङ, फुडिङ तथा शौचालयहरु कस्तो राख्ने, बेड रुम कस्तो बनाउने होटल तालिम समेत दिने सोच बनाएर रिसोर्ट बनाउन लागेको हो । मैले १०० रोपनी गाउँको जग्गा लिजमा लिएर होटल बनाएको हो । मुक्तिनाथ क्षेत्रलाई र यहाँको समाजलाई केही योगदान होस भनेर लगानी गरेको हो । मैले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा कमाउनको लागि लगानी गरेको होइन । मुक्तिनाथ क्षेत्रको आर्थिक र सामाजिक विकासको लागि हो । मलाई कमाउनको लागि देश तथा विदेशमा ठूलो लगानी गर्नसक्छु ।

अहिले पनि अमेरिकामा ७ वटा डिपार्टमेण्ट स्टोर सञ्चालनमा छन । त्यहाँ हजार जनाले अझै पनि रोजगारी पाइरहेका छन् । मैले समाज सेवाको लागि मात्रै आफू जन्मेको ठाँउमा लगानी गरेको हो । मलाई खर्ब र अर्बौ रुपैयाँ पैसा चाहिएको छैन । मलाई चाहिने पुगेको छ । म शिक्षा क्षेत्रको विकासको लागि सहयोग गरिरहेको छु । मेरो चाहना दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा विपन्नहरुलाई सहयोग गर्ने र समाज सेवा गर्ने रहेको छ ।

होटल सम्पूर्ण रुपमा तयारी हुँदा लागत कति पुग्छ, होटलका सेवा सुविधाहरु के–के छन् ?

होटलमा २० कोठा रहेको छ । जसमा एक हल छ । होटलमा हिटिङ समेत भएको बुटिक स्तरको छ । बाँकी ८ वटा कोठा २ महिनामा तयार हुन्छ । त्यसमा सोना, स्पा सेवा सुविधा थप हुन्छ । चिसो ठाउँ भएकाले होटलमा मौसम अनुसारका पर्यटकको सुविधाको लागि सोना स्पाको व्यवस्था गरिन्छ । होटलमा लगानी किस्ता किस्तामा भइरहेको छ । पहिलो पटक २५ करोड लगानी लागेको छ । सम्पूर्ण रुपमा होटल तयारी हुँदासम्म ५५ करोड लगानी हुन्छ भन्ने अनुमान छ ।

मुस्ताङमा पर्यटन क्षेत्रको विकास किन हुन नसकेको र अब राज्यले के गर्नुपर्छ जस्तो लाग्छ ?

मुस्ताङमा पर्यटन क्षेत्रको विकास गर्न मुख्य बाधक सडक सञ्जाल रहेको छ । कालीगण्डकी करिडोर बनाउन लागेको धेरै समय भएको छ । तर सडक बिस्तार राम्रो हुन सकेको छैन । त्यो सडक बिस्तार व्यवस्थित बनाएर चीनतर्फको कोराला नाका जोड्न सके मुस्ताङमा पर्यटन विकासमा धेरै अवसरहरु छन् ।

मुस्ताङमा फल्ने स्याउ, आलु र सिमी अग्र्यानीक हुन्छ । मुस्ताङ नेपालको पर्यटकको लागि पहिलो नम्बर ठाउँ हो । त्यसको लागि सडक राम्रो हुनुपर्छ । जलवायु परिवर्तनका कारण केही असर परेकोले जलवायु परिवर्तन नहुने गरी वातावरण संरक्षण गर्नुपर्ने अवस्था छ ।

ट्रेकिङ र साइकिलिङ पर्यटकका लागि राम्रो रुट बनाउनुपर्ने देखिएको छ । मुस्ताङको पर्यटक विकासको लागि मुख्य गरेर म्याग्दीको सडक बिग्रिरहने समस्याले मारमा पारेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।