राष्ट्र बैंक विरुद्धको आन्दोलन स्थगित गर्न महासंघको आग्रह

0
Shares

नेपाल उद्योग बाणिज्य महासंघले तरलता, ब्याजदर तथा चालु पूँजी कर्जाको विषयलाई लिएर आन्दोलनरत व्यवसायीलाई तत्कालका लागि आन्दोलन स्थगित गर्न आग्रह गरेको छ।

महासंघले बुधबार औपचारिक निर्णय गर्दै सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई विरोधका कार्यक्रम स्थगित गर्न भनेको हो ।

महासंघले यही मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन गैरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको भन्दै विरोधका कार्याक्रम रोक्न भनेको हो । साथै निर्वाचन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन समेत महासंघ आग्रह गरेको छ।

निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसंग सम्वादमा रहने जानकारी महासंघले गराएको छ । वार्ता एवं सम्वादका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त छ ।

निर्वाचन पछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्ने बताएकोछ ।

तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार तथा नेपाल राष्ट बैंकसमक्ष जोडदार माग समेत गरेको छ ।

बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कार्तिकबाट केन्द्रिय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको महासंघको ठहर छ ।

तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यवद्धता पनि जाहेर गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।