हाल मर्जरमा रहेका सबै कम्पनीको सेयर कारोबार खुल्ने, लगानीकर्तालाई राहत


मर्जरमा गएका कम्पनीको सेयर कारोबार लामो समयसम्म बन्ध भएर सास्ती खेपिरहेका सेयरधनीले राहत पाउने भएका छन् ।

विगतमा भएका मर्जर प्रकृयाले पूर्णता नपाउँदा अहिले दर्जनौं बैंक, बीमा तथा लघुवित्तका सेयरधनीको सेयर बन्धक भइरहेको छ ।

तर अब भने छिटोभन्दा छिटो मर्जर र प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै संगठित संस्थाहरुको सेयर कारोबार फुकुवा हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै हाल मर्जरमा रहेका कम्पनीहरुले पनि रोक्का रहेको सेयर कारोबार खुलाउनु पर्ने भएको हो ।

कात्तिक २४ गतेदेखि लागू भएको निर्देशिकाले अब मर्जरमा जाने कम्पनीको मात्र नभई यस अघि मर्जर तथा प्राप्ति प्रकृयामा रहेका कम्पनीको आधारभुत बाहेकका सेयरधनीको कारोबार फुकुवा गर्नुपर्ने व्यवस्था गरेको हो । योसँगै हाल मर्जरमा रहेका बैंक, बीमा तथा अरु कम्पनीहरुले आधारभूत बाहेकका सबै सेयरधनीको कारोबार सुचारु गराउनु पर्ने भएको छ ।

निर्देशिकाको दफा १३ ले अन्य नियमनकारी निकायका कारण सेयर कारोबार रोक्का रहेको भएमा त्यस्ता नियामकको सहमतिमा आधारभूत बाहेकका सेधनीको सेयर कारोबार फुकुवा गर्नुपर्ने व्यवस्था गरेको हो ।

“यो निर्देशिका लागू हुनुअघि गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयर कारोबार फुकुवा हुने व्यवस्था गरएको छ ।” निर्देशिकाको दफा १३ को १ मा भनिएको छ । त्यसैगरी सोही दफाको उपदफा ४ मा “यस दफामा अन्यत्र जेसुकै लेखिएको भए तापनि सम्बन्धित नियमनकारी निकायले सेयर कारोबार रोक्का राखेको भएमा सम्बन्धित नियामकको सहमतिमा आधारभूत बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्न सकिने छ” भन्ने उल्लेख छ ।

यो प्रावधान अनुसार अब सूचीकृत कम्पनीहरुले आधारभूत सेयरधनी र अन्य सेयरधनीको विबरण केन्द्रिय निक्षेप प्रणालीलाई उपलब्ध गराई प्रणालीले सिस्टमममा तथ्यांक अद्यावधिक गर्नुपर्नेछ । तथ्यांक अद्यावधिक गर्दा आधाभूत सेयरधनीको कारोबार रोक्काको व्यवस्था निक्षेप प्रणालीले गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

मर्जरमा जाने कम्पनीका सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का नहुने, बोर्डले जारी गर्यो निर्देशिका

“आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थासमक्ष निवेदन दिनुपर्नेछ । निवेदनका आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ ” मर्जरमा जाने सबै कम्पनीको हकमा निर्देशिकामा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।