शङ्कास्पद वित्तीय कारोबार ८१% ले बढ्यो, वाणिज्य बैंकपछि रेमिट्यान्स कम्पनीबाट धेरै

0
Shares

बैंक तथा वित्तीय संस्थामा शङ्कास्पद कारोबारको संख्या उच्च दरमा बढेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालन नगरी गरिने वित्तीय कारोबारको संख्या बढेको हो ।

सम्पत्ति सुद्धिकरण ऐन २०६४ अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको भन्दा फरक गरेर हुने कारोबारलाई शङ्कास्पद कारोबारको रुपमा वित्तिय जानकारी इकाइमा रिपोर्टिङ गर्नु पर्छ । त्यसैगरी आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वभाविक प्रवृत्तिको सबै कारोबारलाई पनि शङ्कास्पद कारोबारको रुपमा हेर्नुपर्ने व्यवस्था छ ।

आर्थिक वर्ष २०७८/०७९ मा बैंक, बीमा तथा रेमिट्यान्स कम्पनी, सहकारी, धितोपत्र कम्पनी तथा अन्य संस्थाहरुबाट २ हजार ८ सय ७० शङ्कास्पद वित्तीय कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । यो संङकास्पद कारोबारको तथ्याङक आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ८१.३४ प्रतिशतले धेरै हो । अघिल्लो आवमा यस्तो कारोबार संख्या एक हजार ५ सय ३३ मात्र रहेको केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो ५ वर्षको तथ्याङलाइ हेर्दा पनि शङ्कास्पद कारोबारको संख्या बार्षिक रुपमा बढेको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा ८ सय ८७ वटा मात्र शङ्कास्पद कारोबार रहेकोमा आव २०७५/०७६ मा एक हजार ३ सय ५१ वटा शङ्कास्पद कारोबार भएका थिए । त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा केही घटेर एक हजार ९० वटामा झरेको भएपनि २०७७/०७८ मा पुन बढेर एक हजार ५ सय ३३ पुगेको थियो ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका अनुसार गत आवमा सबैभन्दा धेरै वाणिज्य बैंकहरुमा शङ्कास्पद कारोबार भएका छन । सो अवधिमा वाणिज्य बैंकहरुले मात्र २ हजार ३ सय ८० शङ्कास्पद कारोबारको रिपोर्टिङ वित्तीय जानकारी इकाइमा दिएका छन । त्यसैगरी रेमिट्यान्स कम्पनीहरुले एक सय ८७ र विकास बैंकले एक सय १९ वटा शङ्कास्पद कारोबारको रिपोर्टिङ गरेका छन् ।

गत आवमा बीमा कम्पनीहरुमा ९, वित्त कम्पनीहरुमा १९, लघुवित्तहरुमा ४४, सहकारीमा ३, धितोपत्र संग सम्बन्धित कम्पनीबाट ८ र अन्य संस्थाहरुबाट ११ वटा शङ्कास्पद कारोबार भएको रिपोर्टिङ वित्तीय जानकारी इकाइमा पुगेको छ । यसमा शङ्कास्पद कारोबार र शङ्कास्पद गतिविध दुबैको तथ्याङ छ । वित्तीय कारोबार गर्ने संस्थाले संङका लगेमा वा अस्वभाविक कारोबार गर्न आएको खण्डमा मात्र पनि वित्तिय जानकारी इकाइमा शङ्कास्पद कारोबार वा गतिविधिमा रिर्पोटिङ गर्न सक्छन ।

वित्तीय जानकारी इकाइले शङ्कास्पद लागेका कारोबार माथि थप अध्ययन गरेर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायहरुमा कुल ४०९ वटा कारोबारलाई पठाइ सकेको छ । आतंककारी गतिविधिमा वित्तीय लगानी निरुत्साहनका लागि अन्तरािष्ट्रय अभ्यासलाई नेपालले पनि अनुसरण गरेको छ । त्यसैले स्रोत नखुलेको वा अस्वभाविक आय भएको व्यक्ति तथा संस्थाको आयको स्रोत केलाउने कानुन विपरित भएको खण्डमा कारबाही समेत हुने गरेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।