चिलिमे जलविद्युत कम्पनीको प्रतिसेयर आम्दानीमा सन्तुलन


चिलिमे जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ रुपैयाँ १९ पैसा प्रतिसेयर आम्दानी कायम गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा चिलिमेको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८३ पैसा थियो । समीक्षा अवधिमा चिलिमेको प्रतिसेयर आम्दानी ६४ पैसाले घटेको हो । पुँजीमा भएको सामान्य वृद्धिका आधारमा चिलिमेको प्रतिसेयर आम्दानी स्थिर अवस्थामा रहेको मान्न सकिन्छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ अर्ब २८ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी हुँदा २० करोड ३५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले अहिले ६ अर्ब ७५ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी हुँदा २० करोड ७८ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड १६ लाख १७ हजार रुपैयाँको विद्युत बिक्री गरेको कम्पनीले अहिले ३५ करोड ५८ लाख ३८ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ ।

मर्मत सम्भार, रोयल्टी, ह्रासकट्टी लगायतका खर्चमा सामान्य उतारचढाव देखिएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ८३ करोड २६ लाख ७९ हजार रुपैयाँ सञ्चित छ ।

प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ९ पैसाबाट १५६ रुपैयाँ ७७ पैसामा घटेको कम्पनीको मूल्य आम्दानी अनुपात ६३.६७ गूणा बढीबाट २९.७७ गूणामा ओर्लिएको छ ।

कम्पनीको व्याज आम्दानीमा भएको ५५ प्रतिशतको सुधारले औषत प्रतिसेयर आम्दानी सन्तुलनमा टेवा पुगेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।