चुनाव र व्याजदर नबढ्ने विषयलाई पत्याएन सेयर बजारले


सेयर बजार बढ्ने किसिमको खबरको पर्खाइमा रहेका लगानीकर्तालाई बजारले दिनहुँ निराश बनाइरहेको छ । संघ र प्रदेश सभाको मंसिर ४ मा हुने निर्वाचन पछि तरलता सहज हुने आशमा बसेका लगानीकर्तालाई व्याजदर नबढ्ने खबरले सकरात्मक बनाउन सकेन ।

बैंकहरुले मंसिर महिनामा ब्याजदर नबढाउने नेपाल बैंकर्स संघको निर्णयको असर बजारमा नदेखिएको हो ।

मंगलबार बजार खुलेको केही समयसम्म उकालो लागेको बजार ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय सार्वजनिक भएसँगै क्रमिक रुपमा ओरालो लागेको हो । बजार बन्द हुने समयसम्ममा समग्र बजार परिसुचक नेप्से ६.५९ अंकले घटेको छ । योसँगै नेप्से परिसुचक १८९७.८६ अंकमा ओर्लिएको छ ।

यस क्रममा २२९ कम्पनीका २७ लाख ४५ हजार १०९ कित्ता सेयरहरु २२ हजार ७७१ पटक किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही सुधार देखिएको हो । सोमबार ९४ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

मंगलबार नेपाल बैंकर्स संघको बैठक चल्दै गर्दा व्याजदर घट्ने आश लगानीकर्ताले गरेका थिए । सोही समयमा किनबेच बढ्दा कारोबार रकममा टेवा मिलेको थियो । यद्यपी सुचक बढ्ने क्रमलाई भने संघको निर्णयले असर पार्न नसकेको हो ।

मंगलबार कारोबारमा आएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विबरण सार्वजनिक गरेका तथा लाभांश दर अपेक्षित भएका कम्पनीहरुको सेयर मूल्यमा सामान्य सुधार आएको छ । कमजोर वित्तीय विबरण निकालेका तथा थप सूचनाहरु नभएका धेरै कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको छ ।

अब चुनाव अघि बुधबार र बिहीबार मात्र सेयर बजार खुल्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।