राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर नेटवर्थ १४०० नजिक, मूल्य आम्दानी अनुपात पनि ६०० माथि !


नियामकीय निर्देशनको पालना गर्न नसकेको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर नेटवर्थ १ हजार ४०० रुपैयाँ नजिक पुगेको छ । तोकिएको पुँजी पुर्याउन कुनै पनि योजना बनाएर अघि बढ्न नसकेको कम्पनीले लगानीकर्तालाई लाभांश बितरण गर्न तथा बक्यौता वर्षहरुको साधारण सभा गर्न नसक्दा नेटवर्थ बढ्दै गएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर नेटवर्थ १ हजार ३७९ रुपैयाँ कायम भएको छ । सामान्य अवस्थाका कम्पनीहरुको यस्तो नेटवर्थ २०० रुपैयाभन्दा तल रहेका बेला राष्ट्रिय बीमा कम्पनीको भने नियामकीय निर्देशकनको पालना नगरेका कारण नेटवर्थ आकर्षक बनेको देखिएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफामा सवा १३ प्रतिशतको संकुचन आएको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद बीमाशुल्करकमको आकार बढाएको कम्पनीको नेटवर्थका आधारमा दोस्रो बजारमा सेयर मूल्य उच्च विन्दुमा छ । जसका कारण कम्पनीको मूल्य आम्दानी अनुपात ६३३.१८ गूणाले बढी कायम भएको छ ।

बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी यस अघि १ अर्ब कायम गराएकोमा कम्पनीले सो मापदण्ड पुरा गरेको थिएन । अहिले प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी अढाई अर्ब कायम गर्दा पनि कम्पनीले २६ करोड ६६ लाख रुपैयाँको पुँजीमा कुनै वृद्धि गर्न सकेको छैन । जगेडा कोषमा ३ अर्ब ३१ करोड २१ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीले थप नयाँ सेयर निष्काशन गर्ने योजना बनाए पनि प्राधिकरणले तोकेको मापदण्ड पुरा गराउन नसकेको हो ।

लेखापरीक्षण तथा आन्तरिक लेखा अव्यवस्थित भएका कारण कम्पनीका विगतका आर्थिक कारोबारहरु पारदर्शी छैनन् । जसका कारण कम्पनीले बक्यौता वर्षहरुको आम्दानीबाट लगानीकर्तालाई कुनै प्रतिफल वितरण गर्न सकिरहेको छैन ।

वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ २० पैसा रहेको कम्पनीले पछिल्लो पटक आर्थिक वर्ष २०६२।०६३ को आम्दानीबाट आर्थिक वर्ष बितेको झण्डै १४ वर्ष पछि ११४ प्रतिशत बोनस सेयर बितरण गरेर चुक्ता पुँजी २६ करोड बढी बनाएको थियो । उक्त आर्थिक वर्षको आम्दानीबाट कम्पनीले ६ प्रतिशत नगद लाभांश बितरण गरेको थियो ।

आर्थिक वर्ष २०७२।०७३ को वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत गराएको कम्पनीलाई सबै विबरण पुरा नहुञ्जले लाभांश बितरणमा बन्देज लाग्दै आएको छ । प्राधिकरणले विगतमा पुँजी कायम नगरेको विषय जसरी अब कम्पनीलाई तोकिएको पुँजी कायम नगरे कार्वाही गर्ने चेतावनी दिँदै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।