बैंकहरुले सम्झौता विपरित बढाएको प्रिमियमको रकम १६ अर्ब भन्दा धेरै रहेको अनुमान

0
Shares

बैंकहरुले आर्थिक वर्ष २०७८/०७९ ऋणीबाट सम्झौता विपरितको प्रिमियम बापत लिएको ब्याज रकम १६ अर्ब रुपैयाँ भन्दा धेरै देखिएको छ । बैंकहरुले औसत प्रिमियम २ प्रतिशत लिएको अनुमान राखेर नोटबजारको अध्ययन अनुसार नियम विपरित असुल गरिएको ब्याज रकम १६ अर्ब भन्दा माथि देखिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा कोरोना महामारिका कारण बैंक वित्तीय संस्थामा अधिक निक्षेप थियो । अधिक निक्षेप भएपछि बैंकहरुले ऋणीको घरमै गएर सस्तो दरमा कर्जा लगानी गरे । बैंकहरुले सहज कर्जा लगानी गरेपछि माग बढ्न थाल्यो । त्यसले समग्र अर्थतन्त्रमा नै असर गर्यो । अघिल्लो आवमा सस्तो दरमा उच्च कर्जा लगानी गरेपछि त्यसको असर गत आवको सुरुवाती देखि नै देखा पर्न थाल्यो । बैंकहरुमा कर्जा लगानी योग्य रकम तथा तरलताको अभाव देखिन थाल्यो ।

बैंकिङ प्रणालीमा कर्जा लगानी योग्य तथा तरलता अभाव भएपछि निक्षेप आकर्षित गर्न ब्याजदर बढ्न थाल्यो । ब्याजदर बढाउदा पनि नयाँ निक्षेप आएन । त्यसपछि बैंकहरुले कर्जा लगानी नै रोक्नु परेको अवस्था थियो । कर्जा लगानी खुम्चिएपछि बैंकहरुले आम्दानी बढाउन सस्तो दरको कर्जामा नियम विपरित प्रिमियम बढाउन थाले । बैंकहरुले कर्जा दिँदाको सम्झौता विपरित कर्जा र ऋणी हेरेर ०.५ प्रतिशत देखि ४ प्रतिशतसम्म प्रिमियम बढाएको ऋणीहरुले भन्ने गरेको पाइन्छ ।

बैंकहरुले ऋण प्रवाह गर्दा ऋणीसँग गरेको सम्झौता अनुसार लिने प्रिमियम दर औसतमा २ प्रतिशत अनुमान गर्दै नियम विपरीत लिएको ब्याज रकम निकालिएको छ । बैंकहरुले कर्जामा लिने ब्याजदर र अधिकतम प्रिमियमको सूचना बाहिर ल्याउने भएपनि ऋणीसँग लिएको प्रिमियमको तथ्याङकका लागि हरेक कर्जाका फाइल नै हेर्नु पर्ने हुन्छ । त्यो सम्भव नभएकाले अनुमानित औसत प्रिमियम कायम गरिएको हो । बैंकहरुले एउटै प्रकृतिको कर्जामा पनि फरक व्यक्तिसँग फरक प्रिमियम लिएका हुन्छन् । त्यसका साथै नेपाल राष्ट्र बैंकले तोकेका कर्जाको हकमा भने आधार दरमा २ प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था गरेको हुनाले पनि तथ्याङ्क नजिक पुग्न सकिने भएकाले पनि २ प्रतिशतलाई औसत लिइएको हो ।

लगानी विस्तार नभएको अवस्थामा आम्दानी बढाउने दाउमा बैंकहरुले राष्ट्र बैंकको नियम विपरित प्रिमियम बढाए । त्यसको चौतर्फि विरोध भएपछि नेपाल राष्ट्र बैंकले त्यस्तो व्याज रकम फिर्ता गर्न निर्देशन दियो । सो अनुसार ८ वाणिज्य बैंकले ब्याज फिर्ता दिइसकेका छन् ।

बैंकहरुले प्रकाशित गरेको गत आवमा अपरिस्कृत वित्तीय विवरणलाई आधार बनाइ नोटबजारले गरेको अध्ययन अनुसार २६ बैंकहरुले कुल १६ अर्ब २० करोड रुपैयाँ भन्दा धेरै रकम नियम विपरित प्रिमियम बढाएर असुल गरेको देखिन्छ । कर्जा दिँदा तय भएको प्रिमियम दरलाई हेरफेर गर्न नपाइने राष्ट्र बैंकको एकीकृत निर्देशिकामा उल्लेख छ । राष्ट्र बैंकको एकीकृत निर्देशिका २०७८ को निर्देशन १५ अनुसार एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपछि वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः बृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन ।

केन्द्रीय बैंकले हरेक बैंकको वित्तीय विवरण स्वीकृत गर्दा प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गरे नगरेको हेर्ने गरेको छ । तर, केन्द्रीय बैंकले बैंकहरुले फिर्ता गर्नुपर्ने कति र लिएको कति भन्ने विषयमा विस्तृत नहेरी स्वीकृत गर्ने गरेको गुनासो ऋणहरुले गर्दै आएका छन् । केन्द्रीय बैंकमा आएको गुनासोका आधारमा धेरै लिएको प्रिमियम फिर्ता गर भनेको छ । सोही अनुसार बैैंकहरुलाई नै धेरै लिएको ब्याज र फिर्ता गर्नुपर्ने रकम गणना गर्ने जिम्मा दिएको छ । त्यसमा केन्द्रीय बैंकले फिर्ता गरे नगरेको मात्र हेर्ने गरेको छ । यसो गर्दा बैंकहरुले सबै ऋणबाट लिएको नियम विपरितको प्रिमियम फिर्ता गरे भन्ने यकिन गर्ने अवस्था भने छैन ।

केन्द्रीय बैंकले भने बैंकहरुले नियम विपरित असुल गरेको प्रिमियम साढे ४ अर्ब जती रहेको अनुमान गरेको छ । यो फिर्ता गर्नुपर्ने ब्याज नोटबजारको अध्ययनले देखाएको भन्दा करिब तिन गुणा कम हो । राष्ट्र बैंकले आफ्नो अनुमानका आधारमा ८ बैंकहरुको करिब २ अर्ब रुपैयाँ फिर्ता भैसकेको जनाएको छ ।

तर, यसमा पनि केन्द्रीय बैंक सबै कर्जा फाइल हेरेर भन्दा पनि बैंकहरुले नै घोषणा गरेकोमा सहमत भएको छ । नेपाल राष्ट्र बैंकको एक मात्र उद्देश्य भनेको एकपटक सम्झौता गरेर लिएको प्रिमियमा हेरफेर हुनु हुदैन भन्ने रहेको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “बैंकहरुले वढी लिएको ब्याज फिर्ता नै हुनु पर्छ भन्ने हो,”उनले भने,“त्यसका सुरुवात भएको छ ।”

१६ अर्बको गणना विधि

बैंकहरुले गत आवमो ऋणबाट नियम विपरित प्रिमियम बढाएर लिएको ब्याजदर निकाल्दा आर्थिक वर्ष २०७७/०७८ अन्तिम २०७८/७९ अन्तिमको कुल कर्जा जोडिएको छ । दुबै कुल कर्जाको जोडफललाई २ ले भाग गरिएको छ । यसरी औसत कर्जा निकालिएको छ ।

औसत कर्जा निकालिएपछि बैंकहरुको गत आवको ब्याज आम्दानीलाइ औसत कुल कर्जाले भाग गरी एक सयले गुणन गरी औसत ब्याजदर निकालिएको छ । यसरी निकालिएको औसत ब्याजदर ११.२७ प्रतिशत हुन आएको छ । त्यसपछि बैंकहरुले हरेक त्रैमासमा निकालेको आधारदरको औसत निकालिएको छ । सो अनुसार गत आवको औसत आधार दर ८.८६ प्रतिशत कायम भएको छ । यो औसत आधारदरमा अनुमान गरिएको २ प्रतिशत प्रिमियम जोडिएको छ ।

यसरी बैंकहरुले लिनुपर्ने औसत ब्याजदर १०.८६ र लिएको ब्याजदर ११.२७ प्रतिशत निकालिएको छ । यो दुई औसत ब्याजदर बिचको अन्तर ०।४१ प्रतिशत विन्दु हुनु आउछ । यसलाइ पुन ११.२७ प्रतिशतलाइ एक सय मानेर उक्त अन्तरको प्रतिशत निकालिन्छ । यसरी निकालिएको प्रतिशत ३।६६ हुन आउछ ।

यसरी गणना गर्दा गत आवमा बैंकहरुको औसत कुल कर्जा ३९ खर्ब २८ अर्ब ४६ करोड रुपैयाँ छ । सो अवधिमा बैंकहरुको कुल ब्याज आम्दानी ४२२ अर्ब ९० करोड रुपैयाँ रहेको छ । बैंकहरुको कुल ब्याज ३.६६ प्रतिशत निकाल्दा १६ अर्ब २० करोड रुपैयाँ हुनु आउछ । जुन बैंकहरुले नियम विपरित लिएको प्रिमियमको अनुमानित फिर्ता गर्नु पर्ने ब्याज रकम हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।