नवलपुर, पर्वत र बागलुङमा पनि थालियो मतगणना


नवलपुरको क्षेत्र नं २ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लाको क्षेत्र नं २ मा जम्मा ८५ हजार चार सय मत खसेको थियो ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसारका जिल्लाको क्षेत्र नं २ मा ४८ हजार तीन सय ८९ महिला, ३७ हजार १० पुरुष तथा एकजना तेस्रोलिङ्गी मतदाताले भाग लिएका थिए ।

जिल्लाको यस क्षेत्रमा एक लाख २९ हजार दुई सय ८० मतदाता रहेकामा ६६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी भुसालले बताए । यहाँको क्षेत्र नं २ को मतगणना भने आज रातिदेखि हुने मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलको भनाइ छ ।

लुइँटेलका अनुसार देवचुली–४ को मतदान केन्द्रमा मतदान सकिएपश्चात् त्यहाँको मतपेटिका मतगणनास्थलमा ल्याएपछि मतगणनाको तयारी गरिनेछ । मतपेटिका कावासोती आएपछि सर्वदलीय बैठक बसेर मतगणना गरिने लुइँटेलले बताए ।    

पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना अपराह्न ४:३० बजेदेखि सुरु भएको छ ।

प्रतिनिधिसभाका एक प्रदेशसभा दुई निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार दुई सय ७३ मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ एक लाख २२ हजार छ सय ४९ जना मतदाता छन् । निर्वाचनमा ५४ प्रतिशत मात्रै मत खसेको कार्यालयले जनाएको छ । पर्वतमा सत्तारूढ गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलका उम्मेदवार मैदानमा छन् ।

पर्वतमा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

बागलुङ निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं २ को मतगणना सुरु भएको छ । दिउँसो साढे ४ बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समितिको भवन बागलुङमा क्षेत्र नं १ र निर्वाचन अधिकृतको कार्यालय ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा क्षेत्र नं २ को मतगणना भइरहेको छ ।

आइतबारको निर्वाचनमा बागलुङमा ५५ प्रतिशत मतदान भएको बताइएको छ । गत स्थानीय निर्वाचनमा ६९ प्रतिशत मतदान भएको थियो । जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा क्षेत्र रहेको छ ।

प्रतिनिधिसभाको क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य डा सूर्य पाठकलगायत चुनावी मैदानमा छन् भने क्षेत्र नं २ मा शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललगायत चुनावी मैदानमा छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।