मर्जर प्रकृयामा रहेका इन्भेष्टमेण्ट र मेगा बैंकको ५ महिना पछिको पहिलो सेयर कारोबार यस्तो


मर्जरमा जाने सम्झौता गरेसँगै ५ महिनादेखि रोक्का रहेको नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार मंगलबारदेखि खुलेको छ ।

कारोबार खुलेसँगै दुवै बैंकको अधिक सेयर कारोबार भएको छ भने मूल्यमा तिब्र उतारचढाव आएको छ ।

गत जेठ २७ गते मर्जर सम्झौता गरेका दिन नेपाल इन्भेष्टमेण्ट बैंकको प्रतिकित्ता सेयर २६५ रुपैंयामा किनबेच भएको थियो भने मेगाको २२६ रुपैयाँमा किनबेच भएको थियो ।

५ महिना रोक्का रहेर बुधबार ५ रुपैयाँ बढी अर्थात २७० रुपैयाँमा पहिलो कारोबार भएको इन्भेष्टमेण्ट बैंकको सेयर मूल्य २७८ रुपैयाँसम्म पुगेको थियो । बजार ओरालो लाग्ने क्रममा २६२ रुपैयाँसम्म झरेको बैंकको सेयर मूल्य अन्तिम समयमा २६७ रुपैयाँमा कारोबार भएको छ ।

उता मेगाको पनि पहिलो कारोबार ३ रुपैयाँले बढेर २३० मा खुलेको थियो । कारोबार खुलेको मूल्यभन्दा माथि चढ्न नसकेको मेगाको प्रतिकित्ता सेयर मूल्य २१५ रुपैयाँसम्ममा झरेर अन्तिममा २२३ रुपैयाँमा कारोबार बन्द भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको ६७ हजार २२७ कित्ता सेयर ५४५ पटक किनबेच हुँदा १ करोड ८० लाख ८२२ रुपैयाँको कारोबार भएको छ ।

उता मेगाको १ लाख ६९ हजार ८२८ कित्ता सेयर ७१० पटक किनबेच हुँदा ३ करोड ७४ लाख ५७ हजार ७८९ रुपैयाँको कारोबार भएको छ ।

दुवै बैंकको सेयर मूल्य अहिलेको अवस्थामा नै कारोबार हुने संकेत बजारले देखाएको छ । यही मूलयको आसपासमा अब दुवै बैंकको सेयर कारोबारले निरन्तरता पाउने छ ।

नेपाल स्टक एक्स्चेञ्जले मंगलबार मात्र सिभिल बैंकलाई पनि बुधबारदेखि आधारभूत बाहेकका सेयरधनीको कारोबार खुलाउन स्वीकृति दिएको छ । योसँगै मर्जर तथा विलयका कारण कारोबार रोक्का रहेका २९ कम्पनीको संख्या २६ मा झरेको छ ।

कारोबार खुलाउन आग्रह गरेका साना किसान र आरएमडिसी लघुवित्तको कारोबार खुलेपछि पनि २४ कम्पनीको सेयर कारोबार रोक्का अवस्थामा रहनेछ ।

मर्जरमा रहेका ३३ मध्ये २९ कम्पनीको सेयर कारोबार खुल्दै, यी हुन् कम्पनी

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।