सुदूरपश्चिममा प्रवाह भएको कुल कर्जाको ७२.६३ प्रतिशत सेवा क्षेत्रमा 


आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको अधिकांश कर्जा सेवा  क्षेत्रमा केन्द्रित रहेको देखिएको छ । राष्ट्र बैंकको अध्ययन अनुसार गत आवमा उक्त प्रदेशका बैंक वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ७२.६३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको हो । 

२०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४९ अर्ब ४६ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यस मध्ये ७२.६३ प्रतिशत सेवा क्षेत्रमा रहेको केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुले गत आवको प्रबाह गरेको कर्जा २०७८ असार मसान्तको तुलनामा १७.४२ प्रतिशतले धेरै हो । 

गत आवमा उक्त प्रदेशबाट बैंक तथा वित्तीय संस्थाले १ खर्ब १५ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो निक्षेप गत आवको तुलनामा २७.२७ प्रतिशतले धेरै हो ।

गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.१९ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.६४ प्रतिशत रहेको अध्ययनले देखाएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.५० प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् ०.९३ प्रतिशत छ ।

गत आवमा सुदुर पश्चिम प्रदेशको कृषि बालीको उत्पादन ८.१६ प्रतिशतले घटेको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी कोदोको उत्पादन ४०.४९ प्रतिशतले वृद्धि भएको छ भने धान उत्पादनमा ३१.४९ प्रतिशतले ह्रास आएको छ ।

त्यसैगरी, तरकारी उत्पादनमा २.०५ प्रतिशतलेवृद्धि भएकोछ भने फलफूल तथा मसला ३.०४ प्रतिशतले बढेको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १०.१९ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । यस प्रदेशका उद्योगको औसत क्षमता उपयोग ४२.९३ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

औद्योगिक उत्पादनमध्ये गत आवमा अवधिमा तोरीको तेलको उत्पादनमा ह्रास आएको छ भने अन्य वस्तुहरुको उत्पादनमा वृद्धि भएको छ । गत आवमा बैंक वित्तीय संस्थाले कुल कर्जाको १७.१८ प्रतिशत उद्योग क्षेत्रमा लगानी गरेका छन् । 

गत आवमा यस प्रदेशमा पर्यटकस्तरीय होटल तथा लज संख्यामा ११.६३ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा रजिष्ट्रेशन संख्या २७.२८ प्रतिशतले घटेको छ भने रजिष्ट्रेशन राजस्व ७.१२ प्रतिशतले घटेको छ । 

त्यसैगरी सुदुर पश्चिममा यातायात साधन संख्या १२.९२ प्रतिशतले वृद्धि भएको छ । गत आवमा उक्त प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरुबाट ५२ मे.वा. विद्युत उत्पादन भई राष्ट्रिय प्रशारण लाईनमा जोडिएको अध्ययनमा उल्लेख छ । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।