बैंकहरुले टर्म लोनमा परिवर्तन गरेपछि घट्यो ओभर ड्राफ्टको वृद्धिदर

0
Shares

बैंक तथा वित्तीय संस्थाले ओभर ड्राफ्टलाई परिवर्तन गरेर टर्म लोन बनाएपछि ओभर ड्राफ्टको वृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकले ओभर ड्राफ्ट कर्जामा कडाइ गर्नुका साथै जोखिम भार पनि बढाएपछि बैंकहरुले ओभर ड्राफ्टलाई टर्म लोनमा परिवर्तन गरेका हुन।

नेपाल राष्ट्र बैंकले घरजग्गा र सेयर बजारको लगानी नियन्त्रण गर्नका लागि ओभर ड्राफ्टमा नियन्त्रण गरेको थियो । केन्द्रीय बैंकले ओभर ड्राफ्ट कर्जाको सीमा ५० लाख तोकेको छ । त्यो सबै बैंक वित्तीय संस्थामा गरेर लिन पाइने कर्जाको सीमा हो । त्यसका साथै यस्तो कर्जा घर जग्गा धितोमा प्रबाह गर्ने भए धितो मूल्याङकनको ३० देखि ४० प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ । यसमा पनि काठमाडौ उपत्यका भित्रको घरजग्गाको सन्दर्भमा ३० र उपत्यका भन्दा बाहिरको हकमा ४० प्रतिशतसम्म मात्र दिन सक्ने व्यवस्था गरेको छ।

त्यसैगरी बैंक वित्तीय संस्थामा तरलता सहज भएको अवस्थामा सस्तो ब्याजदरमा यस्ता खालका कर्जा लगानी बढाएपछि सेयर बजार र जग्गाको मूल्य आकासीयो । त्यसलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले थप अर्को नीतिगत व्यवस्था पनि गरेको छ । राष्ट्र बैंकले अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरेको छ।

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको लगानी नियन्त्रण गर्नका लागि प्रयोजन नखुलेका कर्जाहरुमा कडाई गरेपछि ओभर ड्राफ्ट कर्जा प्रवाहमा कमी त आयो । तर, बैंकहरुले ओभर ड्राफ्ट कर्जालाई पनि टर्म लोनमा परिवर्तन गर्न थालेपछि भने यस्तो कर्जा घटेको हो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा ७५३ अर्ब ३३ करोड रुपैयाँ ओभर ड्राफ्ट कर्जा प्रबाह गरेका छन् । यो कर्जा गत असार अन्तिमको तुलनामा ४ प्रतिशत अर्थात ३४ अर्ब ५६ करोड रुपैयाँले धेरै हो । गत असारसम्ममा बैंक वित्तीय संस्थाले ७१८ अर्ब ७७ करोड रुपैयाँ यस्तो कर्जा लगानी गरेका थिए । गत आवमा यस्तो कर्जा १३.३२ प्रतिशतले बढेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा यस्तो कर्जा करिब ३० प्रतिशतले बढेको थियो।

त्यसैगरी ओभर ड्राफ्ट कर्जाको वृद्धि दरमा कमी आएको भएपनि टर्म लोन भने बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्र यस्तो कर्जा ५० अर्ब ७९ करोड रुपैयाँ थपिएको छ । गत असारसम्ममा बैंक वित्तीय संस्थाले ११ खर्ब ९६ अर्ब ४८ करोड रुपैयाँ बरावरको टर्म लोन प्रबाह गरेका थिए । चालु आवको असोजसम्ममा यस्तो कर्जा बढेर १२ खर्ब ४७ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

चालु आवको साउन महिनामा ०.७८ प्रतिशतले बढेको ओभर ड्राफ्ट भदौ महिनामा ३.३३ प्रतिशतले बढेको छ । त्यसैगरी यस्तो कर्जा भदौ महिनाको तुलनामा असोजमा ०.६३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । तर, साउनमा टर्म लोन करिब २ प्रतिशतले बढेको थियो भने भदौमा भने ०.६९ प्रतिशतले घटेको छ । तर, भदौ महिनाको तुलनामा असोज महिनामा यस्तो कर्जा ३.१० प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।