धितोपत्र बोर्डद्धारा ५ कम्पनीलाई झण्डै १ अर्बको साधारण सेयर निष्काशन गर्न अनुमति


नेपाल धितोपत्र बोर्डले ५ वटा कम्पनीलाई झण्डै १ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई ९३ करोड १० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डका अनुसार एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा एशियन हाइड्रोपावरलाई ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिइएको हो । आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि २ चरणमा उक्त सेयर निष्काशन हुनेछ ।

त्यस्तै सानिमा क्यापिटलको बिक्री प्रबन्धकत्वमा सुपरमाई हाइड्रोपावरलाई १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति दिइएको बोर्डले जनाएको छ । कम्पनीले पनि आयोजना प्रभावित र सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ ।

सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता शेयर सानिमा क्यापिटलकै बिक्री प्रबन्धकत्वमा निष्काशन अनुमति पाएको हो । उक्त सेयर पनि आयोजना प्रभावित र सर्वसाधारणलाई गरी २ चरणमा निष्काशन हुनेछ ।

माया खोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता शेयर प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशन अनुमति पाएको हो ।

शुभम पावरलाई पनि मुक्तिनाथ क्यापिटलको बिक्री प्रबन्धकत्वमा ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५८० कित्ता सेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

यी कम्पनीले पनि आयोजना प्रभावित र सर्वसाधारणलाई गरी २ चरणमा सेयर निष्काशन गर्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।