उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध हुने सदस्यहरुलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताएका छन् ।
आठौं उद्योग दिवस २०७९ को अवसर पारेर नेपाल उद्योग परिसंघले उद्योग सचिव डा. तोय नारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उनले उद्योग मन्त्रालय उद्योगीहरुलाई सहजिकरण गर्ने मन्त्रालय रहेको र उद्योगीहरुको समस्या समाधानमा प्रतिबद्ध रहेको बताए । कम्तिमा १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेको पनि उनले जानकारी दिए ।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाल उद्योग परिसंघले औद्योगिक विकासका लागि प्रभावकारी रुपमा आफ्ना गतिविधिहरुलाई अगाडि बढाउँदै आएको बताए । उनले उद्योग क्षेत्रको विकासका लागि गहन अध्ययन गरेर परिसंघ अगाडि बढ्दै आएको र सरकारले निजी क्षेत्रबाट यस्तै प्रयासको अपेक्षा गरेको बताए । निजी क्षेत्र र सरकार मिलेर नै औद्योगिक विकास गर्न सकिने उनको भनाई थियो ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरुलाई सहुलियत दिन आग्रह गरेका थिए ।
भारत, अष्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान संचालन भईरहेकोमा नेपालमा परिसंघको अग्रसरतामा मेक इन नेपाल अभियान संचालन भईरहेको छ । मेक इन नेपाल अभियानमा आवद्ध उत्पादनहरुलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालले बताए । उद्योग मन्त्रालय उद्योगीहरुको फोकल मन्त्रालय बन्नुपर्नेमा जोड दिँदै त्यसले उद्योगहरुको महत्व बढाउने र उद्योगीहरुको समस्या समाधानमा अन्य मन्त्रालय एवं सरोकारवाला पक्षसँग समन्वय गर्न सहयोग गर्ने उनको भनाई थियो । नीतिगत स्थिरतामा जोड दिँदै उनले निश्चित अवधिसम्म नीति परिवर्तन नुहने गरी उद्योगी, लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने बताए ।
कार्यपत्र प्रस्तुत गर्दै परिसंघको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुहरूको आयात निरुत्साहित गर्नुपर्ने बताएका थिए । उद्योग तथा लगानी प्रवद्र्धनसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थालाई एकीकृत गर्दै उद्योगलाई पर्ने समस्या समाधान तथा उनीहरूले पाउने सुविधा तथा सहुलियत एकै स्थानबाट उपलब्ध गराउन एकीकृत औद्योगिक विकास ऐन तर्जुमा गरी कार्यान्वयन गर्न उनले आग्रह गरे ।
यस वर्षको उद्योग दिवसको नारा “औद्योगिक लगानी र पूर्वाधारः समृद्धिको बलियो आधार” रहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया