कुमारी बैंकको सेयर कारोबार आइतबारदेखि खुल्ने, मर्जर सम्झौताको २ महिनामै बोलायो विशेष साधारण सभा


एनसीसी बैंकसँग मर्जर प्रकृयामा रहेको कुमारी बैंकको सेयर कारोबार आइतबारदेखि खुल्ने भएको छ ।

गत असोज १० गते मर्जर सम्झौता गरेसँगै रोक्का भएको बैंकको सेयर कारोबार नेप्सेको स्वीकृतिसँगै आइतबारदेखि खुल्ने भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आधारभूत बाहेकका सबै सेयरधनीले आइतबारदेखि बैंकको सेयर कारोबार गर्न सक्छन् । बैंकले आवश्यक कागजात सहित मंसिर ६ गते कारोबार खुलाईदिन गरेको आग्रहलाई बिहीबार स्वीकृत गर्दै कारोबार फुकुवाको निर्णय गरिएको नेप्सेले जनाएको छ ।

यता मर्जर प्रकृयालाई पूर्णता दिन कुमारी बैंकले विशेष साधारण सभा आह्वान गरेको छ । बुधबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले मंसिर २५ गते आइतबार विशेष साधारण सभा बोलाउने निर्णय कुमारी बैंकले गरेको छ । विशेष साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । मंसिर १४ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

मर्जर सम्झौता भएको २ महिनाको अवधिमा नै बैंकले विशेष साधारण सभा आह्वान गरी मर्जरलाई निष्कर्षमा पुर्याउन लागेको हो । जेठदेखि मर्जरको प्रकृयामा रहेका वाणिज्य बैंकहरुले प्रकृया अघि बढाउँदै गर्दा कुमारीले मर्जरलाई पुर्णता दिन तिब्रता दिएको हो ।

विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित भएर अन्तिम स्वीकृति पाए पछि फेरी बढीमा १५ दिनका लागि सेयर कारोबार स्थगन गर्न सक्छ । मर्जर पछि सेयर स्वाप, नाम तथा अन्य प्रकृया पुरा गर्न साधारण सभा सम्पन्न भए पछि बढीमा १५ दिनका लागि सेयर कारोबार पूर्ण रुपमा रोक्का गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।