उत्पादन लागत घटाएर औधोगिक वातावरण सिर्जना गर्न निजी क्षेत्रको माग

0
Shares

उत्पादन लागत घटाएर मुलुकमा औधोगिक वातावरण सिर्जना गर्नुपर्नेमा निजी क्षेत्रका प्रतिनिधिहरूले जोड दिएका छन् ।

८ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले उत्पादन लागत घटाएर सरकारले व्यवसायीक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन् ।

जग्गा, वित्तीय लागत, लजिष्टिक, प्रशासनिक खर्च, श्रम/ज्याला र आयकर उच्च हुँदा अन्य मुलुकहरुको उत्पादनसँग नेपालमा उत्पादन भएको वस्तुहरुले प्रतिस्पर्धा गर्न नसकेको भन्दै उनीहरुले सरकारले उत्पादन लागत कम गर्न निजीक्षेत्रसँग सहकार्य गर्नुपर्ने उल्लेख गरे ।

एफएनसीसीआईका अध्यक्ष गोल्छाले आफ्नो हजुरबुबाले उद्योग स्थापना गर्दाको समय र अहिले उद्योगीहरुले भोगिरहेको समस्यामा खासै भिन्नता नभएको भन्दै सरकारले औधोगिक वातावरण सिर्जना गर्न नसक्दा कुल ग्राहस्थ उत्पादनमा उद्योगको हिस्सा घटेर ५ प्रतिशतमा संकुचित बन्न पुगेको बताए ।

पुर्वाधारमा सरकारको कमजोर लगानी, औधोगिक लागत बढ्दा जाँदा नेपाली मालवस्तुको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको, ब्याजदर, तरलता र सरकारले राजश्वमुखीभन्दा रोजगारमुखी सोच राख्दा उद्योगधन्दा समस्यामा परेको उनको भनाई थियो ।

देशभित्रै रोजगारी सिर्जना गर्न नसक्दा ५० लाख युवा रोजगारीका लागि विदेशिनुपरेको तितो यथार्थ प्रस्तुत गर्दै उनले देशभित्र भ्यालु एड गर्नसक्ने उद्योग स्थापना गर्न सकेको भए रोजगरीसँगै मुलुकको व्यापार घाटा र देशको समृद्धिमा समेत योगदान पुग्ने धारणा राखे । सरकारले आयात रोक्दा चार महिनामा २५ प्रतिशतभन्दा कम राजश्व संकलन भएकाले सरकारलाई साधारण खर्च धान्न समेत मुस्किल पर्न थालेको गोल्छाले बताए ।

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले सरकारले बजेटमा राम्रा नीति तथा कार्यक्रम आउने गरेको भएपनि त्यसको कार्यान्वयन नहुँदा उद्योगीहरु सधैँ समस्या भोग्न बाध्य हुने गरेको बताए ।

बजेटमा नवप्रवद्र्धनात्मक कार्यक्रमका लागि सरकारले बिउ पुँजी उपलब्ध गराउने भनेपनि अझै पाउन नसकेको बताए । यस्तै सरकारले निर्यात प्रवर्दन गर्न ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेपनि त्यसको क्षेत्रलाई फराकिलो बनाउन माग गरे । सिमेन्ट निर्यातमा राम्रो सम्भावना देखिएको भन्दै आगामी तीन वर्षमा १५ खर्बसम्मको निर्यात हुनेसक्ने भएकाले नगद अनुदानको दायरालाई फराकिलो बनाउन माग गरे ।

उद्योगहरुको उत्पादन लागत घटाउन, युवा उद्योगी जन्माउन र निर्यातमा प्रोत्साहन गर्न सरकारी नीति आउनुपर्ने अग्रवालले बताए । अर्थतन्त्रमा समस्या देखिएको बेला उद्योगहरु झनै धरासायी हुने हुँदा नयाँ उद्योग खोल्नभन्दा सञ्चालनमा रहेका उद्योग बचाउने सरकारी नीति आवश्यक रहेको उनले बताए । औद्योगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने उनको भनाई छ ।

स्वदेशी वस्तु उत्पादन र निर्यातमा काम गर्ने उदेश्यका साथ परिसंघले ल्याएको ‘मेक इन नेपाल’ कार्यक्रम सफल बनाउन सरकारले विशेष सहुलियत दिएर सस्तो मूल्यमा स्वदेशी वस्तु पाउने अवस्था सिर्जना गर्न माग गरे । हालसम्म ८० व्यवसायीले स्वदेशी चिन्ह लिएको बताउँदै उनले यसले उपभोक्तालाई मूल्य र गुणस्तरप्रति विश्वस्त हुनसक्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।