एनसेलले सुरु गर्यो ई–सिम सेवा, कुन कुन् मोबाइलमा चल्छ ?


निजी क्षेत्रको दुर सञ्चार सेवाप्रदायक एनसेल आजियटा लिमिटेडले इ सिम सेवा सुरु गरेको छ ।

योसँगै अब एनसेलका प्रयोगकर्ताले पनि आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्न सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले मंसिर ९ गते शुक्रबारदेखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको हो ।

ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ । यो भौतिक रुपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र केही गरि आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।

एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई आफ्नो हाल प्रयोग भईरहेको सिमलाई ई–सिममा अपग्रेड गर्न सक्ने एनसेलले जनाएको छ । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ । सेवा लिने क्रममा एसएमएस पठाउन र सिम अपग्रेड गर्न कुनै शुल्क नलाग्ने एनसेलले जनाएको छ ।

ग्राहकले आफुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । नयाँ ग्राहकहरुले पनि कुनै पनि एनसेल सेन्टरबाट आफुले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पुरा गरि ई–सिम लिन सक्छन् ।

ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ । ग्राहकहरूले आफ्नो मोबाइल ई–सिम चल्ने÷नचल्ने थाहा पाउन एस्ट्रिक्स ह्यास ०६ ह्यास डालय गर्नुपर्ने हुन्छ । यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ ।

आइफोनका पछिल्ला मोडलहरु जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिम चलाउन सकिन्छ । त्यसै गरि सामसङको ग्यालेक्सी ए २१ सिरिज, ग्यालेक्सी ए २२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सेल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिम चल्छ ।

ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलहरुमा एक भन्दा बढि ई–सिम नम्बर दर्ता गर्न सकिने छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।