अजोड इन्स्योरेन्सले संस्थापक सेयरको हिस्सा ५१ प्रतिशतमा झार्यो, मर्जर के होला ?


प्रभु इन्स्योरेन्ससँग मर्जर प्रकृयामा रहेको अजोड इन्स्योरेन्सले संस्थापक सेयरको हिस्सा घटाएको छ । इन्स्योरेन्सले हालको ७० अनुपात ३० को संस्थापक र साधारण सेयरको हिस्सा ५१ अनुपात ४९ कायम गरेको हो ।

कम्पनीको शुक्रबार सम्पन्न विशेष साधारण सभाले संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गर्ने निर्णय पारित गरेको हो ।

यसका साथै इन्स्योरेन्सले मर्जर प्रकृयालाई अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने तथा बीमाङ्कीय मूल्याङ्कन र डिडिए लगायतका लागि परामर्शदाता तथा विज्ञहरु नियुक्त गर्ने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरेको हो । यद्यपी विशेष साधारण सभाले प्रभु इन्स्योरेन्ससँगको मर्जर प्रकृयाका सम्बन्धमा नभई कुनै पनि संस्थाका बिचमा मर्जर भन्ने आशय राखेर मर्जर सम्बन्धि प्रस्तावहरु पारित गरेको छ ।

यस अघि प्रभु इन्स्योरेन्सले पनि विशेष साधारण सभामा अजोडको जसरी नै मर्जर सम्झौता गरेको पार्टनर कम्पनीको नाम उल्लेख नगरी मर्जर सम्बन्धि निर्णयहरु पारित गरेको थियो ।

साधारण सभाबाट पारित हुनु पर्ने मर्जर प्रस्तावमा पार्टनर कम्पनीको नाम नै उल्लेख नहुनुले साधारण सेयरधनीमा अन्यौलता उत्पन्न गरेको छ । दुवै कम्पनी सम्बद्ध व्यक्तिहरुले भने मर्जर बिचमा नै टुटेको खण्डमा अफ्टेरो अवस्था आउन सक्ने भएकाले साधारण सभाको निर्णयमा पार्टनर कम्पनीको नाम उल्लेख नगरिएको प्रतिकृया दिएका छन् ।

उनीहरुले केही कारणले मर्जर तोडिएको खण्डमा अर्को कम्पनीसँग प्रकृया अघि बढाउन सजिलो हुनेगरी साधारण सभाको निर्णय तयार गरिएको बताएका छन् ।

विशेष साधारण सभा सके पछि दुवै कम्पनीले मर्जरको अन्तिम स्वीकृतिका लागि बीमा प्राधिकरणसँग अनुमति माग गर्नेछन् ।

दुवै कम्पनीले गत असार ३२ गते एक आपसमा मर्जरमा जाने सम्झौता गरेका थिए । प्रारम्भिक सम्झौतामा प्रभु र अजोड १००ः७० को अनुपातमा मर्जरमा जाने सहमती भएको थियो ।

मर्जरपश्चात् कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै हुने र अध्यक्षमा अजोडका अजाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्यलाई राख्ने सहमति भएको थियो ।

हाल प्रभु इन्स्योन्सको चुक्ता पूँजी २ अर्ब २८ करोड रूपैयाँ र अजोडको १ अर्ब रुपैयाँ छ । मर्जर प्रकृयाले पुर्णता पए पछि बन्ने प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

प्रभु र अजोड इन्स्योरेन्स मर्जरमा जाने

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।