व्यवसायीले अर्थतन्त्रको अवस्थालाई देखाएर सरकारसँग ‘नेगोसिएसन’ गर्दाको असर सेयर बजारमा

0
Shares

उद्योगी व्यवसायीले अर्थतन्त्रमा बहुआयामिक असर परेको भन्दै विरोध प्रकट गर्न थालेपछि त्यसको असर झाँगिदै गएको छ । व्यवसायीहरुले औपचारिक–अनौपचारिक रुपमा गर्दै आएको विरोधले धितोपत्र बजारका लगानीकर्ताको आत्मबलमा समेत असर गरेको हो ।

उद्योगीले कहिले ब्याजदर अस्वभाविक बढेको भन्दै आन्दोलन गरेका छन् भने कहिले सार्वजनिक फोरम मार्फत अर्थतन्त्रमा जटिल समस्या आउन थालेको भन्दै सरकारलाई सचेत गराउँदै आएका छन् । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा मार्फत ब्याजदर घटाउन पर्ने व्यवसायीको मागलाइ सम्बोधन गर्न बैंकहरुको कर्जा र निक्षेपको ब्याजदर अन्तरलाई ०.४ प्रतिशतको बिन्दुले घटायो ।

सरकारले नियन्त्रण गरेको आयात खुलाउनु पर्ने तथा बैंकिङ प्रणालीको ब्याजदर घटाउनुपर्ने माग उद्योगीहरुले राख्दै आएका छन् । त्यसका साथै अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रणका लागि केन्द्रीय बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्गदर्शन समेत लागु हुनु नहुने माग राख्दै आएका छन् । व्यवसायीहरुले आन्तरिक तथा बाह्यक अर्थतन्त्रको समीक्षा भन्दा पनि आफ्नो व्यवसाय र नाफाको मात्र चासो राख्दै सरकार तथा राष्ट्र बैंकको नीतिको विरोध गर्दै आएका छन् । उक्त विरोधले अर्थतन्त्रमा सबै जसो क्षेत्रमा छाप पार्न थालेको छ । त्यसको उदाहरण बुधबारको सेयर बजारलाई लिन सकिन्छ ।

उद्योगी व्यवसायीले औपचारिक रुपमै विरोध गर्दै राष्ट्र बैंकको नीतिले ब्याजदर नघट्ने बताउँदै अर्थतन्त्र सुधारका लागि तत्काल गर्नुपर्ने कामहरु सुझाएको छ ।

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले संस्थागत रुपमै अर्थतन्त्रमा बहुआयामीक असर परेकाले जोगाउन सरकारलाई आग्रह गरेको छ ।

त्यसैगरी महासंघले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको चार महिनाको तथ्याङ्क हेर्दा पुँजी बजारमा करिब ४० प्रतिशत र घर जग्गा कारोबार ४८ प्रतिशत गिरावट आएको जनाएको छ । मंगलबार महासंघले अर्थतन्त्रका विभिन्न पक्षहरुलाई विश्लेषण गरेपछि बुधबार खुलेको धितोपत्र बजार घटेको छ । निजी क्षेत्रको छाता संगठनबाटै अर्थतन्त्रमा गम्भिर संकट आउन लागेको अभिव्यक्ति आएपछि सेयर बजारका लागानीकर्तामा अन्योलता छाउदा बुधबार सूचक मात्र होइन कारोबार रकम समेत घटेको छ ।

बुधबार कारोबार रकम ८४ करोड २६ लाख ९५ हजार ३०२ रूपैयाँमा समेटिएको छ । आइतबार २ अर्ब २ करोड तथा सोमबार १ अर्ब ४९ करोड माथि सेयर कारोबार भएकोमा मंगलबार ९५ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । यसदिन २३८ वटा कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर १५ हजार ६९१ वटा संख्यामा खरिद बिक्री भएका छन् । बुधबार नेप्से ३.५१ अंकले घटेर १९४९.८५ बिन्दुमा झरेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८४ अंकले घटेर ३८१.८५९ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार भएका १३ उपसमूहगत सूचकमध्ये ब्यापार र लघुवित्त बाहेक सबै ११ वटै घटेको छ । फाइनान्स सर्वाधिक १.०९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४ करोड ७९ लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नबिल बैंक ४.१५ करोड, नेष्डो समृद्ध लघुवित्त ३.८३ करोड, शिवम् सिमेन्ट ३ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक २.८७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको बजारमा घलेम्दी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.१७ प्रतिशतले बढेर २५० रुपैयाँ पुगेको छ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ४, रुरु जलविद्युत आयोजना ३.३१, बुद्धभुमी हाइड्रोपावर २.८४ र श्वेतगंगा हाइड्रोपावरको २.७२ प्रतिशतले बढेको छ ।

उता यस दिन लक्ष्मी इक्वीटी फन्डको इकाईमूल्य ५.७६, वीन लघुवित्त ४.४०, गुहेश्वरी मर्चेन्ट ३.२७, आरबिबि म्युचुअल फन्डको इकाईमूल्य ३.२५ र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य २.९४ प्रतिशतले घटेको छ ।

बुधबार सेयर बजारको कुल बजार पुँजीकरण ५ अर्बले घटेर २८ खर्ब ४ अर्ब ७४ करोड २७ लाख रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।