तरलता संकट टार्न राष्ट्र बैंकले २० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै


नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकिङ प्रणालीमा तरलताको अवस्था कसिलो भएपछि रिपो मार्फत उक्त रकम पठाउन लागेको हो । 

वित्तीय प्रणालीमा तरलता अभावको बढेको अवस्थामा केन्द्रीय बैंकले रिपो मार्फत पैसा प्रबाह गर्छ । राष्ट्र बैंकले मंसिर १५ गते विहीबार बोलकबोल मार्फत उपलब्ध गराइने सो रिपोको अवधि मंसिर २७ गतेसम्मका लागि निर्धारण गरिएको छ ।

केन्द्रिय बैंकले बिहीबार जारी गर्न रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । बोलकबोल मार्फत् जारी हुने सो रिपोको क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् ।

यसभन्दा अघि केन्द्रीय बैंकले असोज २७ गते ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । उक्त रिपोमा ४१ अर्ब ५५ करोडको माग आवेदन परेको थियो । बैंक वित्तिय संस्थाले उक्त रिपो खरिदका लागि अधिकतम ८.५२०० र न्यूनतम ८.३००० प्रतिशत ब्याजदर बोल गरेका थियो । उक्त रिपोको औसत ब्याजदर ८.४४५७ प्रतिशत कायम भएको थियो । 

चालु आर्थिक वर्ष सुरु भएपछि केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको यो छैटौं पटक हो । केन्द्रीय बैंकले चालु आवको हालसम्ममा कुल गरेर एक खर्ब ५० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ । 

राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीमा तरलता अभाव हुँदा रिपो जारी गरेर बजारमा तरलता प्रवाह गर्ने गर्छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत अन्तर बैंक कारोबार दर नीतिगत दर भन्दा २ प्रतिशत धेरै विन्दुले बढेको अवस्थामा रिपो जारी गर्ने व्यवस्था छ । हाल अन्तर बैंक कारोबार दर ८.४८ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले नीतिगत दरलाई ७ प्रतिशत तोकेको छ । नीतिगत दर भनेको ओभरनाइट रिपो रेट हो । वित्तीय प्रणालीमा तरलता कसिलो स्थितिमा रहँदा अन्तर बैंक ब्याजदर बढ्दै जान्छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।