अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाईमा कमजोरीः अर्थमन्त्री शर्मा

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताउँदै अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए ।

नेपालको अर्थतन्त्र एकैपटक उचाई पुगिहाल्ने र एकैपल्ट तल गिरिहाल्ने चरित्रको होइन भन्दै अर्थमन्त्री शर्माले भने, “तल कतै खसिहाल्यो भने अलिकति दूरीमा मात्र खस्ने हो, धेरै तल गहिराइनमा पुग्ने अवस्था होइन । त्यसकारण संकटको कुरा होइन यहाँको चुनौतिहरुको बारेमा छलफल भने पक्कै पनि गर्नुपर्छ ।”

नेपालको मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने नहुने भएकाले जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनले बताए । “केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।” उनले भने,
निजीक्षेत्रले अर्थतन्त्रमा बहुआयामिक असर परिरहेको बताउँदै गर्दा अर्थमन्त्रीले व्यवसायीक नेतृत्व, राजनैतिक प्रतिनिधिहरु, अर्थशास्त्रसँग सम्बन्धीत विज्ञ, विशेषज्ञहरुलाई समेत संकटको अवस्था छ भनेर हल्ला नफिँजाउन आग्रह गरे । उनले भने,“जे हो त्यो भन्नौं र यहाँ यहाँ चुनौति छ । यहाँ समस्या छ भनौं ।”

कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्कहरु सुधारउन्मुख हुँदै गएको स्पष्ट पारे । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएको, पर्यटनको क्षेत्रको विकासलाई होर्दा अर्थतन्त्र सुधार भइरहेकाले अर्थतन्त्र सुधारउन्मुख भएको कुरा उनको भनाइ छ । पछिल्लो समय सरकारले कुल बजेट खर्च समग्रमा २२ प्रतिशत वृद्धि भएपनि संरचनागत क्षमता अभावका कारण अहिले पनि पुँजीगत खर्च ७ प्रतिशत मात्र रहेको उनले बताए । अहिले पनि ९.४८ अर्ब डलर विदेशी सञ्चित रहेकाले ८ महिनाको वस्तु आयात गर्नसक्ने अवस्था रहेको छ ।खानी, ढुङ्गा, गिटी, सिमेन्टहरुको निर्यातलाई जोड दिन नसक्दा नेपालको निर्यात घटेकाले त्यतातर्फ ध्यान दिनुपर्ने उनले बताए । यसबाट रोजगारी सिर्जना गरी गरीबी निवारणमा समेत मद्दत मिल्ने उनले बताए । 

राजश्व संकलन लगायतका कतिपय क्षेत्रहरुमा कमी आएको भएपनि त्यसको पनि प्रशासनिक र खुला सीमानाहरुलाई व्यवस्थाहरु गर्न सकेको खण्डमा पूरा गर्न सकिने उनको विश्वास छ । सरकारको अहिले निर्वाचनको समय भएकाले त्यसतर्फ ध्यान नपुगको बताउँदै उनले सीमानाकामा प्रविधिको प्रयोग गरेर अगाडि बढ्दा चोरी निकासीमा कमी आई राजश्व बढ्ने उल्लेख गरे । काममा कमी आउँदा पछिल्लो सयम माग पक्ष कमजोर रहेको बताउँदै उनले विकास निमार्णको काममा तीव्रता दिन सके माग बढ्ने अवस्था सिर्जना हुने दाबी गरे ।

चालु पुँजी कर्जा निर्देशिका सम्बन्धमा व्यवसायीहरुले उठाएका केही विषयहरुमा समयसन्दर्भ र ब्याजदरका कुराहरु उठाएकोमा ब्याजदर वृद्धिलाई मौद्रिक नीतिको पहिलो समीक्षा मार्फत सम्बोधनको प्रयत्न गरिएको भएपनि त्यो नपुग भए छलफल गरेर समाधान गर्न नेपाल सरकार, अर्थमन्त्रालय र राष्ट्र बैंक अहिले पनि तयार रहेको उनले स्पष्ट पारे । निजी क्षेत्रको ७० प्रतिशत बढी योगदान रहेकाले उनीहरुको आवाजलाई सुनेर समाधानका लागि एकसाथ लिँदै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

सरकारमा बस्नेहरुले निजी क्षेत्रको आवाजलाई गम्भिरतापुर्वक लिनुपर्ने जरुरी भएको बताउँदै उनले भने, “निजी क्षेत्रको कुराहरुलाई आत्मसात गर्दै उत्साहित बनाएर अगाडि जान जरुरी छ । त्यसलाई बेवास्ता गरेर देश अगाडि बढ्न सक्दैन, त्यसपछि मात्रै अर्थतन्त्रलाई गतिशिल, प्रभावकारी र एउटा गुणात्मक विकासमा लैजान सक्छौं ।”

सूचना प्रविधिमा युवाहरुलाई आकर्षण गरी तथा जलविद्युत र सुचना प्रविधिको क्षेत्रले नेपालको अर्थतन्त्रलाई कायमपट गर्ने उनको भनाई छ । यी दुई क्षेत्रमा प्रगति गर्नसके ब्यापारघाटा कम गर्न र अर्थतन्त्र गुणात्मक रुपमा अगाडि बढाउन मद्दत मिल्ने शर्माले बताए । उनले भने “अबको नयाँ आयाम भनेको देशभित्र रहेको पानीको सहि सदुपयोग गरी ग्रीन हाइड्रोजना र ग्रीन एमोनिया हो । यसमा उत्पादनमा लगानी केन्द्रित गर्न सकिए आज इन्धन आयात गर्ने देश भोलि एक दशकभित्र निर्यात गर्नसक्ने अवस्थामा पुग्छ ।”

यस्तै उनले पर्यटनको क्षेत्रमा लगानी केन्द्रित गर्दै कृषि र अन्य क्षेत्रहरुमा पनि सँगसँगै लैजानुका साथै पुर्वाधारको क्षेत्र र यातायातमा दूरी घटाउनेगरी काम गर्नुपर्ने आजको माग रहेको उनले बताए । अर्थतन्त्रमा ठूलो गुणात्मक छलाङ ल्याउन देशभित्रै त्यस्ता क्षेत्रहरुको छनौट गरी आकर्षण गर्न लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको उनको बुझाई छ । हाम्रा काम गर्ने शैली, तौरतरिकामा परिवर्तन गर्न सकिएमा मात्रै यो सम्भव हुने उनले बताए । नेपालको संकट भनेको कमजोर क्षमता, संरचना सुदृढ नहुँदा संरचनागत कमजोरी, भनेजस्तो डेलीभरी नहुँदा इपिसेन्सी नहुनु रहेको अर्थमन्त्रीले शर्माले औंल्याए ।

अर्थमन्त्री शर्माका अनुसार समावेशी विकासको माध्यमबाट समग्र आर्थिक विकासलाई अगाडि लैजाने, अधारभुत वर्गलाई माथि उठाउने, समाजिक न्याय स्थापना गर्दै जाने आवश्यकता एकातिर रहेको र अर्कोतिर नयाँ प्रविधि र अनुसन्धानबाट विकसित भएको कुराहरुको उत्पादन र विश्व बजारमा नेपालले हस्तक्षेप गर्नसक्ने आवश्यकता छ ।  सोचहरुको परिवर्तनसँगै संगनात्मक संरुचनात्मक परिवर्तन, हाम्रो क्षमता अभिवृद्धि र संस्थाहरुलाई पुनरसंरचना गरेर त्यसलाई नयाँ फरम्याटमा पुनरसंगठिन गर्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए । राजनैतिक नेतृत्वले देशभित्र रहेका सबै साधन स्रोतहरुको सदुपयोग गर्नसक्ने क्षमता राख्नुपर्ने भएकाले राजैतिक नेतृत्वले त्यो क्षमता वृद्धि गर्न जरुरी भएको उनको भनाई छ ।

जलवायु संकट र समस्या नेपालले ब्यहोरिरहेकाले त्यसमा पनि नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा हस्तक्षेपकारी भुमिका गर्दै त्यसको स्रोतलाई प्रयोग गर्दै, अन्तर्राष्ट्रिय लगानीलाई बढीभन्दा बढी भित्र्याएर अगाडि जानुपर्ने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।