व्यवसायी आन्दोलित भएपछि अर्थतन्त्रको बचाउमा अर्थमन्त्री र गभर्नर

0
Shares

उद्योगी व्यसायीहरुले अर्थतन्त्रमा बहुआयामीक असर देखिएको बताउँदै गर्दा अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारी दुबैले सुधार आउन थालेको बताएका छन् । अर्थमन्त्री र गभर्नर बीचको लामो समयसम्मको तिक्ततापछि उनीहरु अर्थतन्त्रको अवस्थाको विषयमा एक देखिएका हुन ।

अर्थमन्त्री जनार्दन शर्माले गभर्नरका कारण अर्थतन्त्रमा समस्या आएको बताउँदै निलम्बन सम्म गरेका थिए । गभर्नर अदालत गएपछि नियमित काममा फर्केका थिए भने अर्थमन्त्री पनि करका दरको विषयमा विवादमा परेर राजीनामा दिइ पुनबाहाली भएका थिए । दुबैले आफ्नो पदको दोस्रो इनिङ सुरुगरेपछि मात्र विस्तारै एउटै मञ्चमा देखिन थालेका थिए ।

तर, बिहीबार आर्थिक पत्रकार समाजको वार्षिक उत्सवको कार्यक्रममा भने अर्थमन्त्री र गभर्नरले एकै स्वरमा पछिल्ला दिनहरुमा अर्थतन्त्रमा सुधार आएको दाबी गरे । उद्योगी व्यवसायीहरुले अर्थतन्त्र जटिल समस्यामा फसेको, माग बढ्न नसकेको उच्च ब्याजदरका कारण लगानी गर्ने अवस्था नभएको भन्दै गुनासो गरेका थिए ।

तर, अर्थमन्त्री र गभर्नरले अर्थतन्त्र सुधारका लागि चालिएका नीतिगत व्यवस्थाले व्यवसायीलाई पारेको अफठ्यारोको विषयमा छलफल गरेर समाधान गर्न खुला रहेकोमा समेत एक देखिए । अर्थतन्त्रमा धेरै सुचकहरुमा सुधार आएको हुनाले आगामी अर्थतन्त्र सुधारका लागि लिएका नीतिगत व्यवस्थालाई क्रमिक रुपमा समिक्षा गर्दै जानेमा समेत दुबैको एउटै भनाई थियो । पछिल्लो अर्थतन्त्रको अवस्थाप्रतिको बुझाईमा अर्थमन्त्री र गभर्नरको एकरुपता देखिन थालेको छ । विग्रेको सम्बन्ध सुधार सहित सार्वजनिक मञ्च सेयर गर्न थालेको धेरै नभएपनि अर्थतन्त्रमा देखिएको सुधारमा भने दुबै सहमत देखिएका हुन ।

तर, अर्थमन्त्रीले नेपालको अर्थतन्त्र श्रीलंङका जस्तो हुन्छ भन्नेहरुलाई आफुले हिजो पनि खण्डन गर्दै आएको दावी गर्दै गभर्नर अधिकारी प्रति कटाक्ष गर्न भने छोडेनन । अर्थतन्त्र संकटमा छ भन्नु अर्थतन्त्र नबुझ्नु हो भन्दै अर्थमन्त्री जनार्दन शर्माले भने,“नेपाल श्रीलंका हुन्छ भन्नेहरुलाई पनि निरन्तर खण्डन गर्दै आएको स्मरण गराउन चाहान्छु ।”

अर्थतन्त्रमा संकट आएको नभई केही समस्या र चुनौतिहरु रहेको मन्त्री शर्माको बुझाइ छ । विदेशी सञ्चिति, रेमिट्यान्स तथा पर्यटन क्षेत्रको विकास हेर्दा अर्थतन्त्रमा सुधार आएको देखिएको उनले बताए ।पछिल्लो समयमा राजस्व कम उठेको पनि खुला सिमानाका कारणले भएकाले त्यसलाइ व्यवस्थापन गर्न आवश्यक रहेको उनले औल्याए । “खुला सीमानालाई व्यवस्थीत र प्रविधिको प्रयोग बढाउन आवश्यक छ,” उनले भने,“अर्थतन्त्रमा माग बढाउनका लागि विकास निर्माणका कामलाई तिब्रता दिनुपर्ने भएको छ ।”

अर्थतन्त्रका जानकार तथा व्यवसायीलाई पनि अर्थमन्त्री शर्माले जे हो त्यही मात्र भन्न अनुरोध गरे । “चुनौती र समस्या के छ त्यो जस्ताको त्यस्तै भनौं,” उनले भने,“ब्याजदर वृद्धि तथा चालु पुँजी कर्जाको विषय व्यापारी तथा उद्योगी साथीहरुले उठाउन भएको छ । मौद्रिक नीतिको समिक्षाबाट ब्याजदर घटाउने विषयमा केही कदम लिइएको छ । त्यो कति पुग्यो र पुगेन भन्ने विषयमा छलफल गरेर समाधान तर्फ जान सकिन्छ । यसका लागि नेपाल राष्ट्र बैंक पनि खुला छ भनेर गभर्नरले भनिसक्नु भएको छ ।” नेपाल सरकार र राष्ट्र बैंक अहिले पनि छलफलका लागि तयार रहेको शर्माको भनाई छ ।

खानी, ढुङ्गा, गिटी, सिमेन्टको निर्यातलाई जोड दिन नसक्दा नेपालको निर्यात घटेकाले त्यतातर्फ ध्यान दिनुपर्ने उनले बताए । यसबाट रोजगारी सिर्जना गरी गरीबी निवारणमा समेत मद्दत मिल्ने उनले बताए । चालु पुँजी कर्जा मार्गदर्शनको सम्बन्धमा व्यवसायीहरुले उठाएका केही विषयहरु छलफल गरेर समाधान गर्न नेपाल सरकार, अर्थमन्त्रालय र राष्ट्र बैंक अहिले पनि तयार रहेको उनले स्पष्ट पारे । “अबको नयाँ आयाम भनेको देशभित्र रहेको पानीको सहि सदुपयोग गरी ग्रीन हाइड्रोजन र ग्रीन एमोनियाको उत्पादन केन्द्रित गर्न सके इन्धन आयात एक दशकभित्र निर्यात गर्नसक्ने अवस्थामा पुग्छ, ” उनले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व अर्थतन्त्र कोरोना महामारीको र रुस युक्रेन युद्धको असरले दबाबमा रहेको भएपनि नेपालको सन्दर्भमा भने नराम्रो अवस्था नदेखिएको बताए । अहिले भारत बाहेकका दक्षिण एसियाली मुलुकहरुको अर्थतन्त्रको तुलनामा नेपालको धेरै सकारात्मक रहेको उनको भनाइ छ । “भारतको अर्थतन्त्रमा समस्या नआउनुको कारण राजनीतिक स्थायीत्व हो,” उनले भने,“हामीकँहा राजनीतिक स्थायीत्व नहुदा पनि अर्थतन्त्र स्ट्यावल छ ।”

अर्थतन्त्रमा सुधारको संकेत देखिएको भएपनि केही आफठ्याराहरु रहेको उनले बुझाइ छ । गत वर्ष २.३४ अर्बको विदेशी मुद्रा गुमाएको बताउँदै उनले भने,“राष्ट्र बैंक स्थापना करिब ५५ वर्ष वितीसक्दा पनि झण्डै साढे २ अर्ब विदेशी मुद्रा सञ्चिति थियो । ५५ वर्षमा जम्ममा भएको विदेशी मुद्रा एक वर्षमै खर्च भएपछि आयात नियन्त्रण सहितका केही नीतिगत व्यवस्थाहरु अपनाएको उनले बताए । आयात नियन्त्रण सहितका केही नीतिको सकारात्मक प्रभाव स्वरुप पछिल्लो ३ महिनाको अवधिमा १२ अर्ब रुपैयाँ बरावरको शोधनान्तर बचत हुन पुगेको जानकारी उनले दिए । गत वर्षको तीन महिनाको तुलनामा भने एक खर्ब सुधार भएको अवस्था छ । यो सुधारले क्रमश तरलता सहज अवस्थामा आउन थालेको छ । ब्याजदर बढेको विषयलाइ बजारले नै करेक्सन गर्ने उनको भनाइ छ।

निजी क्षेत्रले बढेको ब्याजदर र अर्थतन्त्र सुधारका लागि ल्याएका केही नीतिगत कुरामा अब्जेक्सन जनाएको उनले बताए । चालु पुँजी कर्जा मार्गदर्शनकै सन्दर्भमा पनि छलफल र बहस गर्न राष्ट्र खुला रहेको बताए । चालु पुँजी कर्जा मार्गदर्शनको उद्देश्य ऋणीहरुले आफ्नो व्यवसयालाई र कर्जालाइ व्यवस्थीत गर्नु प्रयो भन्ने हो । “लिएको कर्जा सहि ठाँउमा सदुपयोग हुनु पर्यो भन्ने हो,” गभर्नर अधिकारीले भने,“चालु पुँजी कर्जा हो भने चालु पुँजीकै लागी प्रयोग होस । ऋणीहरु मिसम्याच भएर भोलिको दिनमा आफठ्यारोमा नपरुन भन्ने नै हो ।” मार्गदर्शन भनेको संशोधन नै हुन नसक्ने विषय नभएको बताउदै उनले ऋणीहरु पनि अनुशासन भित्र बस्नु पर्ने धारण राखे ।

रेमिट्यान्सलाई आयात र उपभोगमा प्रयोग गरेर अर्थतन्त्र सधैं नचल्ने उनले बताए । “आयात कम गर्न नियन्त्रण गरेका छौ, त्यसले राजस्वमा असर गरेको छ,” उनले भने,“माग घटेको अवस्था छ, अर्थतन्त्रमा सबै कुरा एकै किसिमले जादैनन । तलमाथी हुन्छ । तर, त्यो उतारचढाव सहन सक्ने खालको हो की होइन भन्ने महत्वपुर्ण हो । बाउन्स ब्याक गर्नका लागि सबैको सहकार्य भएपछि सकिन्छ ।”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रसँग सहकार्य गर्न आट राख्ने नेता नदेखेको बताएका छन् । उनले अहिलेको समस्या निजी क्षेत्रको मात्रै नभएर समग्र मुलुकको भएको दाबी गरे । निजी क्षेत्रसँग सहकार्यबिना आर्थिक विकास सम्भव नहुने जानकारी हुँदा हुँदै पनि यो क्षेत्रसँग सहकार्य गर्न डराउने र हिचकिचाउने प्रचलन रहेको उनको बुझाइ छ । ‘निजी क्षेत्रले आर्जन गर्ने नाफामा किन सेलिब्रेशन गर्न सकिदैन ?।’ उनले प्रश्न गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक मुद्दालाई प्राथमिकतामा राख्न आग्रह गरे । अहिले पनि मन्त्रालय–मन्त्रालयबीच हुने असमझदारी र सहकार्य नहुँदा लगानीकर्ताहरूले समस्या खेपेको उनको भनाइ छ ।

नेपाल चम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक मुद्दा फरक भए पनि आर्थिक मुद्दामा सरकारको एउटै धारणा र एकरूपता हुनुपर्नेमा जोड दिए । जनमतबाट निर्वाचित समेत भएका थापा र पौडेललाई प्रश्न गर्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रको कस्तो साथ र सहकार्य चाहन्छ स्पष्ट हुनुपर्ने बताए । अहिले आर्थिक ऐनको पनि आवश्यकता भएको र आयात प्रतिस्थापनमा पनि काम गर्नुपर्ने उनको धारणा छ ।

सो अवसरमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले अहिलेको अर्थव्यवस्था चुनौतीपूर्ण रहेको बताए । ‘आर्थिक वृद्धिदर हासिल गर्ने की आर्थिक स्थायित्व ?’, उनले भने, ‘लगानीयोग्य रकम दीर्घकालिन बनाउनका लागि सरकारले पनि काम गर्नुपर्छ ।’

यसैगरी उनले मौन्द्रिक नीति समिक्षामा निजीक्षेत्र आक्रामक रहेको पनि बताए । अहिलेसम्म पनि बजेट नीति र मौद्रिक नीतिबाट मार्गदर्शन भएको हो की होइन भन्ने विषयमा अन्योलता देखिएको भन्दै उनले मौद्रिक नीतिले बजेटलाई नै सघाउने रहेको बताए । उनले वैदेशिक लगानी भित्र्याउन सम्झौता हुने तर सोहीअनुसार लगानी ल्याउन नसकिएको उल्लेख गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।