विराटनगर अस्पतालले २ अर्ब लागतमा क्यान्सर अस्पताल निर्माण गर्दै

0
Shares

नेपालको पूर्वी क्षेत्रमा स्वास्थ्य सेवा दिदै आइरहेको विराटनगर अस्पतालले क्यान्सर युनिटको विस्तार गर्ने भएको छ । २ अर्ब बढी लागतमा विराटनगर अस्पतालले क्यान्सर अस्पतालको निर्माण गर्ने भएको हो ।

७४ प्रतिशत कर्जा र २६ प्रतिशत इक्युटीको मिश्रीत लागतमा क्यान्सर अस्पताल युनिटको निर्माण भइरहेको छ । क्यान्सर युनिटको भवन निर्माण कार्य सकिएको छ र उपकरण तथा अरु साधनहरुको इन्सटलेसन प्रक्रिया अघि सरेको छ । क्यान्सर युनिट सन् २०२३ को जनवरी महिनाबाट सञ्चालनमा आउने अनुमान अस्पतालले गरेको छ ।

विराटनगर अस्पतालले विशेषज्ञ मेडिकल तथा सर्जिकल सेवा प्रदान गर्नुका साथै मेडिकल कलेज पनि सञ्चालन गरिरहेको छ । अस्पतालले डर्माटोलोजी, फरेन्सीक मेडिसीन, अर्थाेडन्टिक्स, पेरिडोन्टिस लगायतका क्षेत्रमा समेत सेवा दिदै आएको छ । यसैगरी काठमाडौँ विश्वविद्यालय अन्तर्गतका एमबीबीएस, नर्सिङ, फिजियोथेरापी विषयको अध्ययन अध्यापन कक्षा समेत सञ्चालन गरेको छ ।

अस्पतालले बिरामीको उपचारबाट कुल आम्दानीको ७६ प्रतिशत आम्दानी गर्दै आएको छ । मेडिकल कलेज सञ्चालनबाट अस्पतालले वार्षिक रुपमा २२.७ प्रतिशत आम्दानी गर्ने गरेको छ । क्यान्सर युनिट सञ्चालन आएसँगै पूर्वी नेपालका अधिकांश मानिसहरु लाभान्वित हुनेछन् भने अस्पतालको सञ्चालन आम्दानीमा पनि वृद्धि हुने छ ।

अस्पतालको सञ्चालन आम्दानी सन् २०२१ मा सन् २०२०को तुलनामा आकर्षक रुपले बढेको छ । सन् २०२० मा ९८ करोड रहेको अस्पतालको आम्दानी सन् २०२१मा बढेर १ अर्ब ५५ करोड ६० लाख पुगेको छ । सन् २०२० को तुलनामा अस्पतालको सञ्चालन आम्दानी ५७ प्रतिशतले वृद्धि भएको छ ।

अस्पतालले क्यान्सर युनिटको निर्माणका लागि अस्पतालले ३ अर्ब कर्जा लिएको छ । कर्जाका लागि केयर रेटिङ्स नेपालले डबल बी र ए४ रेटिङ गरेको छ । केयर रेटिङ्सले २ अर्ब ९० करोड बराबरको दीर्घकालीन कर्जा र १० करोड बराबरको अल्पकालीन कालीन कर्जाका लागि क्रमश डबल बी र ए४ रेटिङ गरेको हो ।

यस अघि आवश्यक वित्तीय जानकारी नदिएकोमा केयर रेटिङले विराटनगर अस्पताललाई डबल बी माइन्स, ए४ रेटिङ दिई इस्सुअर नट कोअपरेटिङमा सूचीकृत गरेको थियो । तर विराटनगर अस्पतालले वित्तीय जानकारी दिएपछि केयर रेटिङ्सले अस्पताललाई इस्सुअर नट कोअपरेटिङको सूचीबाट हटाएको छ र रेटिङ पनि सुधार गरेको छ ।

सन् २००८ मा डा.ज्ञानेन्द्र मान सिंह कार्कीले अस्पतालको निर्माण गरेका थिए । अस्पतालमा ६३४ वटा बेड उपलब्ध रहेका छन् भने विभिन्न किसिमका विशेषज्ञ सेवा अस्पतालले प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।