वैदेशिक रोजगारीमा गएका र आयोजना प्रभावितलाई मंगलबारदेखि सुपर मादी हाइड्रोको सेयर निष्काशन हुँदै, कस्तो छ कम्पनी ?


सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गते मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्दैछ ।

कम्पनीले जारी पूँजीको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ । जसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पुँजी २ अर्ब १० करोडको ५ प्रतिशतले हुन आउने १० लाख ५० हजार कित्ता तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा छुट्टाएको २१ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि सर्वसाधारणलाई निष्कासन हुने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर निष्कासन गरी बाँकी रहने १८ लाख ९० हजार कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणमा जारी हुनेछ ।

आयोजना प्रभाविततर्फ अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नम्बर १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्टाइएको छ । यस्तै आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नम्बर २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन हुनेछ ।

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आईपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाकालागि छुट्टाइएको सेयर पुस ५ गतेसम्म सबै बिक्री नभएको खण्डमा भने पुस २० गतेसम्म म्याद लम्बिनेछ । दुबैतर्फ लगानीकर्ताले न्यूनतम १० देखि ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले नेपाल मेरो सेयरको मोबाइल एप, धितोपत्र बोर्डबाट सि–आश्वा सेवाको अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेकाले कुन–कुन बैंकमा अनलाइनबाट खोल्न सक्छन् रेमिट्यान्स खाता ?

स्थानीय बासिन्दाहरुले भने कास्कीमा रहेको एनसीसी बैंकको न्यूरोड शाखा, कुमारी बैंकको कहुनखोला, माछापुच्छ्रे बैंकको मादी, सानिमा बैंकको न्यूरोड पोखरा शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीका बारेमा

कम्पनीले आईपीओ सेयर बिक्री गर्न गराएको रेटिङ्गमा रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर डबल बी’ रेटिङ्ग प्रदान गरको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

४४ मेगावाट क्षमताको आयोजना प्रतिमेगावाट १८ करोड ९७ लाख ७२ हजार रुपैयाँको दरमा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । यस आधारमा आयोजनाको कुल लागत ८ अर्ब ३५ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

२०६५ सालमा कम्पनी दर्ता भई २०६९ देखि कारोबार सुरु गरेको कम्पनीले २०७३ चैत २१ गत विद्युत उत्पादन अनुमति पाएको हो । आयोजनाको अनुमति २१०८ चैत १६ गतेसम्म वहाल रहनेछ ।

काठमाण्डौंको डिल्लीबजारमा रजिष्टर्ड कार्यालय रहेको कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग हुने गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको सिभिल कार्य निर्माण ठेकेदार फेवा कन्सट्रक्सन, हाइड्रोमेकानिकल कार्य निर्माण ठेकेदार माछापुच्छे« मेटल एण्ड मेसिनरी वर्कस प्रा.लि र ईलेक्ट्रोमेकानिकलको लागि एशिया प्यासिफिक पावर टेक कम्पनी लि,चाइना रहेको छ ।

ट्रान्समिसन लाईनको ठेक्का ईको इन्फ्रा विल्डर्स प्रा.लि. ले २०७८ असार ११ मा प्राप्त गरि प्रशारण लाइन निर्माण कार्य जारी रहेको छ । आयोजनाको इन्जिनियरिङ्ग डिजाइन तथा अन्य परामर्शका लागि सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ्ग प्रा.लि. लाई चयन गरिएको छ ।

२०७५ जेठ ८ गते देखि आयोजना निर्माण भइरहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युतीय उर्जालाई १९ किलोमिटरसम्म १३२ के.भी. को डबल सर्किट विद्युत प्रशारण लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको कास्की स्थित लेखनाथ सब–स्टेसनमा पु¥याई राष्ट्रिय प्रशारण प्रणालीमा समाहित गर्ने कम्पनीको योजना छ ।

आयोजनाले मिति २०७८ जेठ २८ देखि ब्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएकोमा कोभिड १९ को महामारी तथा बाढि पहिरोको कारण २०७९ भाद्र १ गतेदेखि व्यवसायिक उत्पादन गर्नका लागि म्याद थप गर्न नेपाल विद्युत प्राधिकरण समक्ष निबेदन पेश गरेको थियो । उक्त अवधिमा पनि विद्युत उत्पादन सुरु हुन नसकेपछि फेरी २०७९ माघ मसान्तदेखि उत्पादन सुरु गर्ने म्याद पाएको छ ।

हालसम्म आयोजनाको सिभिल कार्य तर्फ करिब ९५ प्रतिशत, हाइड्रोमेकानिकल कार्य करिब ८७ प्रतिशत, ईलेक्ट्रोमेकानिकल कार्य करिब ९० प्रतिशत र प्रशारण लाइन पनि करिब ९० प्रतिशत निर्माण पुरा हुँदा औषतमा आयोजनाको निर्माण ९४ प्रतिशत पुरा भएको कम्पनीले जनाएको छ ।

सरदरमा वार्षिक २४२.६५ गिगावाट विद्युत उत्पादन क्षमता रहेको आयोजनाले साधारण लगानी फिर्ता हुने अवधि ६.२८ वर्ष हुने अनुमान छ । कम्पनीको प्रक्षेपित नेटवर्थको विबरण यस्तो छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।