विन नेपाल लघुवित्तले एफपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त


नेपाल सेवा लघुवित्तसँग र्मर पुरा गरी बनेको विन नेपाल लघुवित्तले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम थप गरी सर्वसाधारणमा ५१ हजार २९३ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो । एफपिओ निष्काशन गर्नका लागि लघुवित्तले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा आयोजित एक कार्यक्रममा एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

साविकको नेपाल सेवा लघुवित्तले मर्जर पहिले सर्वसाधारणमा सेयर जारी गरी नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको थियो । यता विन नेपालले भने सर्वसाधारणमा सेयर जारी गरेको थिएन । जसका कारण दुई संस्थाका बिच मर्जर सम्पन्न हुँदा संस्थापक सेयरधनीहरुको हिस्सा बढ्न गएको थियो । उक्त हिस्सा मिलाउनका लागि लघुवित्तले थप नयाँ सेयर निष्काशन गर्न लागेको हो ।

नेपाल सेवा र विन नेपाल एक आपसमा १०० बराबर ७५ को अनुपातमा र्मरमा गएका थिए भने लघुवित्तको नाम विन नेपाल राखिएको थियो । १०० बराबर ७५ को अनुपातमा र्मर सम्पन्न गरी बनेको विन नेपाल लघुवित्तको चुक्ता पुँजी ७ करोड २४ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

मर्जर प्रकृया पुरा भए पछि आर्थिक वर्ष २०७७ । ०७८ बाट ९.३३ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत जेठ ३१ गतेको साधारण सभाले अनुमोदन गराईसकेको छ । उक्त बोनस बितरण पश्चात लघुवित्तको चुक्ता पुँजी ७ करोड ९२ लाख ५ हजार ५४० रुपैयाँ कायम भएको थियो ।

मर्जरका कारण बढेको संस्थापकको हिस्सालाई ७० तथा सर्वसाधारणको हिस्सा ३० कायम गर्न ५१ हजार २९३ कित्ता एफपिओ निष्काशन भएपछि लघुवित्तको चुक्ता पुँजी ८ करोड ४३ लाख ३४ हजार ८४० रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।