प्रदेश एकमा ऋणीको संख्या २७ प्रतिशतले बढ्यो, कर्जा निक्षेप अनुपात १४८.४ प्रतिशत


गत आर्थिक वर्षमा प्रदेश नं. १ मा बैंकबाट ऋण लिनेको संख्या २६.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वषृको तुलनामा सो प्रदेशमा ऋणीको संख्या एक लाख ३७ हजारले बढेको हो ।

गत आवमा प्रदेश नं. १ मा निक्षेपकर्ताको संख्या २५.४ प्रतिशत वृद्धि भई ६० लाख ४२ हजार ९ सय ५१ पुगेको छ भने ऋणीहरुको संख्या २६.८ प्रतिशत वृद्धि भई ३ लाख ८ हजार ८९७ पुगेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ । २०७८ असार मसान्तमा निक्षेपकर्ताको संख्या ४८ लाख १८ हजार ४०४ र ऋणीहरुको संख्या २ लाख ४३ हजार ६५८ रहेको थियो ।

२०७९ असार मसान्तमा प्रदेश नं. १ मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ५.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ६६ अर्ब पुगेको छ । सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको राष्ट्र बैंकले जनाएको छ । प्रदेश नं. १ का बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप मध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७७.२ प्रतिशत रहेको छ भने अन्य जिल्लाको २२.८ प्रतिशत रहेको छ ।

जिल्लागत निक्षेप संकलनको आधारमा मोरङ जिल्लाको योगदान सबैभन्दा बढी ३१.९ प्रतिशत र तेह्रथुम जिल्लाको सबैभन्दा कम १.३ प्रतिशत योगदान रहेको छ ।

२०७९ असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा १३.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४४ अर्ब पुगेको छ । २०७९ असार मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा १०.० प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २२.३ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६७.७ प्रतिशत रहेको छ ।

२०७८ असार मसान्तमा प्रदेश नं. १ मा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३८.७ प्रतिशत रहेकोमा २०७९ असार मसान्तमा १४८.४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं. १ मा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले घटेर १० लाख ४१ हजार १ सय ८६ हेक्टर कायम भएको छ । यस प्रदेशमा कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ५२.६ प्रतिशत रहेको छ । २०७७/७८ मा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५३.४ प्रतिशत रहेको थियो । विशेष गरी तयारी लत्ता कपडा उत्पादन गर्ने गार्मेण्ट उद्योग, सिन्थेटिक कपडा, फलामे छड तथा पत्ती, चप्पल जस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा केही कमी आएको देखिन्छ ।

प्रदेश नं. १ का उद्योगहरुको पछिल्लो पाँच वर्षको औसत क्षमता उपयोग ५७.८ प्रतिशत रहेको छ । उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा तोरीको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९२.० प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा यस अध्ययनमा समेटिएका ठुला ४२ उद्योगहरुमा कार्यरत ५.९ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन ्।

२०७९ असार मसान्तमा कुल औद्योगिक कर्जा १६.५ प्रतिशतले घटेर १ खर्ब २१ रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ११.५ प्रतिशतले बढेको थियो । विशेष गरी निर्माण, खानी र विद्युत ग्यास तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाह भएको कर्जा घटेकाले समग्र औद्योगिक कर्जा घटेको देखिन्छ । २०७९ असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २२.३ प्रतिशत रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।