प्रधानमन्त्री देउवाले उद्योगीसँगको भेटमा दिए अर्थतन्त्रका समस्या समाधान गर्ने आश्वासन


प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी प्रतिनिधिमण्डलसँग सोमबार विहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरि समाधान निकाल्ने आश्वासन दिएका हुन् ।

अर्थतन्त्र जोगाऔ अभियानमा रहेको महासंघकातर्फबाट अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस विषयमा निजी क्षेत्र सहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिवद्धता जनाएका हुन् ।

शीर्ष नेतृत्वहरूसंग भेटघाटको क्रममा महासंघ प्रतिनिधिमण्डलले यसअघि आइतबारमात्र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुुष्पकमल दाहालसँग अलग अलग भेटगरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन आग्रह गरेको थियो ।

सोभन्दा पहिले गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको महासंघ प्रतिनिधिमण्डलले सोमबार अपरान्ह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुको पनि ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री सहित शीर्ष नेताहरूसंगको भेटवार्तामा प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गरयो ।

ती सबै भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझिदिन आग्रह गरेका थिए । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै संकुचित हुदै गएकोतर्फ उनले ध्यानाकर्षण गराएका थिए ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले उद्योगीलाई दिए अर्थतन्त्र सुधार गर्ने आश्वासन

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।