बजार बन्द गरेर आयात खोल्दैमा आन्दोलन रोकिन्न – नाडा अध्यक्ष थापा


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले सबै किसिमका प्रतिबन्ध नहटुञ्जेल व्यवसायीको आन्दोलन जारी रहने बताएका छन् ।

मंगलबारको मन्त्रीपरिषद बैठकले आयात प्रतिबन्ध लगाइएका वस्तुहरुको आयात सुचारु गर्ने निर्णय गरेको थियो । योसँगै सवारी साधनको आयात प्रतिबन्ध हटेको छ । आयात प्रतिबन्धलाई स्वागत गरेका नाडा अध्यक्ष थापाले अन्य क्षेत्रमा गरिएका कडिकडाउ तथा प्रतिबन्ध हटाउन माग गरेका हुन् ।

सरकारले विगत ८ महिनादेखि लगाएको आयात प्रतिवन्ध खुल्ला गर्ने निर्णय गर्नु समयको आवश्यकता भएको बताएका उनले चुनाव लगत्तै यो निर्णय गर्ने तयारी नौलो नभएको टीप्पणी गरे ।

आयात प्रतिबन्ध हटाउन मात्र अटो व्यवसायीले आन्दोलन नगरेको बताएका उनले बजार पुर्ववत अवस्थामा फर्किनका लागि आवश्यक वाताबरण बनाउनका लागि दवाब दिइएको थापाले बताए ।

नगद मार्जिनको व्यवस्था हटाउनु पर्ने, अटोकर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, चालु पुँजी कर्जा निर्देशन हाललाई स्थगन गर्नु पर्ने, अटो कर्जा सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नु पर्ने लगायत विषयलाई केन्द्रमा राखेर आन्दोलन सुरु भएको उनको भनाई छ ।

“व्यवसाय गर्न सक्ने वातावरण कतै पनि छैन । यस्तो बेला बजारलाई पुर्ववत अवस्थामा फर्काउन विगतका व्यवस्थालाई निरन्तरता दिन हामी दवाबमुलक कार्यक्रम गर्न बाध्य भएका हौं,” थापाले नोटबजारसँग भने । “बजारमा तरलता वृद्धिको लागि आवश्यक मौद्रिक औजार प्रयोग, लामो समयदेखि थला परेको अटोमोबाइल ब्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदान गर्नु पर्ने जस्ता हाम्रा मागहरुको अझै सम्बोधन भएको छैन । त्यही भएर बिहीबार थप कार्यक्रम सहित माइतीघरमा शान्तिपुर्ण बिरोध गर्न लागिएको हो,” उनले भने ।

“५० प्रतिशतको फाइनान्सिङका कारण बजार कोल्याप्सको अवस्थामा छ । २ हजारभन्दा बढी कमर्शियर भेहिकल भित्र्याउन सकिएको छैन । प्यासेन्जस मेहिलमा पनि उस्तै अवस्था छ,” थापाले भने, “यस्तो अवस्थामा बन्द कोठामा थुनेर प्रतिष्पर्धामा पठाएको महसुस भईरहेको छ । त्यसैले सम्बद्ध पक्षहरुसँग म सबै किसिमका निषेधहरु हटाएर बजारलाई पुर्ववत अवस्थामा फर्काउन आग्रह गर्छु ।”

पछिल्लो समय व्यवसाय सञ्चालन गर्न असहज हुने किसिमका सबै व्यवस्था खारेज नहुन्जेल हामी खबरदारी गर्न नछोड्ने थापाको भनाई छ । उल्लेखित मागहरु सबै ब्यवसायीहरुको साझा माग भएकाले दवाब कार्यक्रममा सबै क्षेत्रका व्यवसयाीको समर्थन र ऐक्यबद्धता रहेको उनले बताए । अहिले अटो व्यवसायीले सुरु गरेको दवाबमुलक कार्यक्रमलाई वेवास्ता गरे सबै व्यवसायी एक हुन सक्ने उनले चेतावनी पनि दिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।