डेढ वर्ष पछि कर्मचारी सञ्चय कोषले पायो प्रशासक, जितेन्द्र धिताल नियुक्त


डेढ वर्षदेखि रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले कोषमा निमित्त प्रशासकको रुपमा कार्यरत धिताललाई प्रशासक नियुक्त गर्ने निर्णय गरेको हो ।

गोरखा स्थायी घर भएका धिताललाई ५ जनाको सर्टलिष्टबाट सरकारले कोषको प्रशासकमा नियुक्त गरेको हो । अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिले खुला प्रतिस्पर्धाबाट धिताल सहित ५ जनाको नाम सिफारिस गरेको थियो । जसमा धिताल सहित कमल प्रसाद रेग्मी, डा. नरेन्द्रराज पौडेल, जीवन कुमार कटुवाल र विजय कुमार श्रेष्ठ परेका थिए ।

झण्डै डेढ वर्षअघि २०७८ भदौ १० गते कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै प्रशासकको पद रिक्त रहेको कोषमा धिताल कार्यवाहक प्रशासकको जिम्मेवारीमा थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।