पवन गोल्यानको रिलायन्स स्पिनिङ मिल्सको आम्दानी १० अर्ब बढी, २.३१ अर्बले बढ्यो

0
Shares

गोल्यान ग्रुपका प्रमुख तथा एनएमबि बैंकका अध्यक्ष समेत रहेका पवन गोल्यानको कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आम्दानी अघिल्लो वर्षको तुलनामा २ अर्ब ३१ करोडले वृद्धि भएको छ ।

सन् २०२१ मा ७ अर्ब ७९ करोड रुपैयाँ आम्दानी रहेको उद्योगको सन् २०२२ मा आइपुग्दा २ अर्ब ३१ करोडले बढेर १० अर्ब १० करोड रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा उद्योगको आम्दानी ३० प्रतिशतले बढेको हो । उद्योगको आम्दानीमा वृद्धि भएसँगै अरु वित्तीय मापक सूचांकहरु पनि बलियो देखिएका छन् ।

डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको उद्योगको नाफा सन् २०२२ मा कुल सञ्चालन आम्दानीको १७.३६ प्रतिशत रहेको छ । सो नाफा गत वर्ष १६.८६ प्रतिशत थियो । सेयरधनीहरुको सेयर र उद्योगको कर्जाको अनुपात ०.८२ रहेको छ । जुन गत वर्ष ०.९३ थियो । यसैगरी उद्योगले कर्जाको ब्याज तिर्न सक्ने क्षमता कर्जाको १२.२९ गुणा रहेको छ ।

सन् १९९४ मा स्थापना भएको रिलायनस स्पिनिङ मिल्स नेपालको सबैभन्दा ठूलो स्पिनिङ मिल रहेको छ । उद्योगले पोलिस्टर, भिस्कोज, एक्राइलिक र्यान, पोलिस्टर टेक्सटर्ड र्यान लगायतका सामाग्रीहरुको उत्पादन गर्दै आएको छ ।

उद्योगले पोलिस्टर र्यान, भिस्कोज र एक्राइलिक र्यानहरुको व्यापार भारतीय बजारमा गर्दै आएको छ । भारत र टर्कीयमा र्यानको माग बढ्दै गएको छ । सन् २०२२ मा उद्योगले भारत र टर्कीयमा मात्रै कुल ब्यापारको ७४ प्रतिशत ब्यापार गरेको छ भने भारत र टर्कीय बाहेकका अरु देशहरुमा १८ प्रतिशत ब्यापार गरेको छ ।

गोल्यान ग्रुपका प्रमुख पवन कुमार गोल्यान प्रमुख रहेको उद्योगमा एमएस ग्रुपका शशिकान्त अग्रवाल र अध्यक्ष गोल्यानको लगानी रहेको छ । नेपालका अनुभवी व्यवसायीहरु प्रमोटर रहँदा उद्योगलाई कर्जा प्राप्त गर्न र स्वस्थकर वित्तीय सूचांक निर्माण गर्न सहयोग पुगेको छ ।

यसैगरी नेपाल सरकारले निर्यात प्रवर्द्धनका लागि विभिन्न किसिमका प्रावधान गर्दै आएको छ । जसको सकारात्मक प्रभाव उद्योगको सञ्चालन आम्दानीमा परेको छ ।

उद्योगले क्षमता विस्तार लागि पहिलो चरणमा १ अर्ब ४० लाख लागतमा प्रति वर्ष ४ हजार ६८० मेट्रिक टन सिन्थेटिक स्पन र्यान उत्पादन गर्ने प्लान्ट र दोस्रो चरणमा २ अर्ब ६० करोड लागतमा ८ हजार २८० मेट्रिक टन कटन–सिन्थेटिक मिश्रित र्यान उत्पादन गर्ने प्लान्ट जडान गर्ने योजना बनाएको छ । यी दुबै प्लान्ट जडानका लागि आवश्यक पर्ने रकम कर्जामा निर्भर रहेको हुँदा योजना सम्पन्न हुने वा नहुने मै अलमल छ ।

सन् २०१६ देखि २०१८ को अवधिमा डेडिकेटेट फिडर चार्ज प्रयोग गरेबापत नेपाल विद्युत प्राधिकरणलाई उद्योगले १ अर्ब ६१ करोड १० लाख भुक्तानी गर्नुपर्नेछ । अहिले उक्त मुद्दा अदालतमा गएको छ । अदालतले नेपाल विद्युत प्राधिकरणको पक्षमा फैसला गरेमा उद्योगको भारी रकम प्रयोग हुने देखिन्छ । जसको प्रभाव कम्पनीको कर्जा रेटिङ, कर्जा प्राप्ति र वित्तीय सूचांकहरुमा पर्नेछ ।

उद्योगले ८ अर्ब ९५ करोड दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले दीर्घकालीन कर्जाका लागि ‘ए माइनस’ र अल्पकालीन कर्जाका लागि ‘ए–२ प्लस रेटिङ’ गरेको छ ।

मिल्सले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा गत असार ३१ गते ७ लाख ७० हजार ६४० कित्ता सेयर बुकबिल्डिङ्ग विधिबाट जारी गर्न अनुमति मागेको छ । उद्योगले प्रतिसेयर ६०८ देखि ९१२ रुपैयाँ बीचमा सेयर जारी गर्ने मूल्य तोकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।