बैंक वित्तीय संस्थाको नाफा ३५ प्रतिशतले बढ्यो

0
Shares

चालु आर्थिक वर्षको कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ३४.८९ प्रतिशतले बढेको छ । बैंक वित्तीय संस्थाको खुद नाफा गत असोजको तुलनामा कात्तिकमा ६ अर्ब ८६ करोड रुपैयाँले बढेर २६ अर्ब ५५ करोड ६० लाख पुगेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजसम्ममा बैंक वित्तीय संस्थाले १९ अर्ब ६८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका थिए। बैंक वित्तीय संस्थाले कात्तिक महिनामा मात्रै करिब ७ अर्बले नाफा बढाएका हुन ।

गत आर्थिक वर्षको तुलनामा चालु आवको कात्तिकमा बैंक वित्तीय संस्थाको नाफा करिब ४ प्रतिशतले धेरै हो । २०७८ कात्तिकमा बैंक वित्तीय संस्थाले २५ अर्ब ५९ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

चालु आर्थिक वर्षको कात्तिकमा २६ वाणिज्य बैंकहरुले ६ अर्ब २२ करोड ६० लाख रुपैयाँ नाफा कमाएका छन् । असोज महिनामा १८ अर्ब ३१ करोड नाफा कमाएका बैंकहरुले कात्तिकमा ३४ प्रतिशतले बढाएर २४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ नाफा गरेका हुन ।

त्यसैगरी १७ विकास बैंकहरुले चालु आवको चौथो महिनामा ५२ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका छन् । विकास बैंकहरुले असोजसम्ममा एक अर्ब २९ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेकोमा कात्तिकमा ४४ प्रतिशतले बढाई एक अर्ब ८६ करोड ५० लाख रुपैयाँ पु्रयाएका हुन ।

चालु आर्थिक वर्षको चौथो महिनामा १७ फाइनान्स कम्पनीले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा असोज महिनाको तुलनामा २२ प्रतिशतले धेरै हो । असोज महिनासम्ममा फाइनान्स कम्पनीहरुले १७ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

कात्तिक महिनासम्ममा बैंक वित्तीय संस्थाको कुल निक्षेप कुल ग्राहस्थ उत्पादन ४८ खर्ब ५१ अर्बको १०६.८२ प्रतिशत रहेको छ । त्यसैगरी कर्जा कुल ग्राहस्थ उत्पादनको ९८.६८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा बैंक वित्तीय संस्थासंग रहेको कुल निक्षेपमा मु्द्दति निक्षेपको हिस्सा ५९.२५ प्रतिशत रहेको छ ।

कात्तिक महिनामा बैंक वित्तीय संस्थाको निक्षेपको औसत ब्याजदर ८.३२ प्रतिशत रहेको छ । यसमा बचतको औसत ब्याजदर ७.४२, मुद्दतिको १०.६५ र कल निक्षेपको २.७३ प्रतिशत औसत ब्याजदर रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी कर्जाको औसत ब्याजदर १२.६५ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।