अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने

0
Shares

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकले मासिक एक हजार रुपैयाँ भुक्तानी गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यो योजना आगामी बैशाख देखि पूर्ण रुपमा कार्यन्वयनमा आउनेछ ।

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारले कोषमा मासिक आधारभूत पारिश्रमिकको २०ं.३७ प्रतिशत रकम भुक्तानी गर्नुपर्नेछ । नेपाल सरकारले अहिले औद्योगिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक ९ हजार ३८५ तोकेको छ भने सेवा सुविधा सहित १५ हजार तोकेको छ ।

तर, कोषले न्यूनत्तम पारिश्रमिक ९ हजार ३८५ लाई आधारित बनाई योगदान रकम तोकेको छ । श्रमिकले आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकम अर्थात एक हजार ३२ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, सरकारले ९.३७ प्रतिशत अर्थात् ८८० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । श्रमिकको योगदान रकम सरकारको भुक्तानी गर्नका लागि अनिवार्य नभएका कारण अवस्था अनुसार श्रमिक आफैले पनि भुक्तानी गर्नुपर्ने अवस्था सृजना हुन सक्ने कोषका कार्यकारी प्रमुख कपिल ज्ञवालीले बताए ।

अनौपचारिक क्षेत्रका श्रमिकले औषधी उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्ततता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजनामा सहभागी हुन पाउनेछन् । 

श्रमिकले योगदान गरेको रकममध्ये १ प्रतिशत रकम औषधी उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजनामा जम्मा हुनेछ । १.४ प्रतिशत रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा जम्मा हुनेछ । ०.२७ प्रतिशत रकम आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुनेछ भने वृद्धवस्था सुरक्षा योजनामा २८.३३ प्रतिशत रकम जम्मा हुनेछ । श्रमिकले आधारभूत पारिश्रमिकको तीन गुणनासम्म रकम जम्मा गर्न सक्नेछन्।

अनौपचारिक क्षेत्रका श्रमिक स्थानिय तहको वडा कार्यलयको सिफारिश पत्रको आधारमा सूचीकरणको व्यवस्था गरिएको छ। स्वरोजगार श्रमिकको हकमा दर्ताको प्रमाणपत्र वा स्थानिय निकायको सिफारिश पत्रको आधारमा कोषले सूचीकरण गर्नेछ । श्रमिकले अग्रिम रुपमा योगदान रकम भुक्तानी गरेमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

लगातार तीन बर्षसम्म सामाजिक बीमाका योजनाको उपयोग नगरेमा २० प्रतिशतसम्मको रकम निवृतभरण योजनामा हस्तान्तण हुनेछ । कर्जा र सापटी पनि पाउनेछन् ।

औषधी उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा योजना अन्र्तगत योगदानकर्ताले एक लाख रुपैयाँसम्मको उपचार खर्च पाउनेछन् । श्रीमतीको मातृत्व सुविधाका लागि ९८ दिन बराबरको पारिश्रमिक पाउनेछन् । दुर्घटना भएमा सात लाख रुपैयासम्मको उपचार खर्च पाउनेछन् । अशक्ततता भएमा पेन्सन बापत आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम भुक्तानी हुनेछ ।

काजकिरिया खर्च २५ हजार, आश्रित श्रीमती वा श्रीमानले आजिवन आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पेन्सन पाउनेछन् । २१ बर्षसम्म दुई वटा छोरछोरीलाई मासिक आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम शैक्षिक वृति पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।