माघदेखि ब्याजदर र ऋण उपलब्धता अझै सहज बन्छ: राष्ट्र बैंक

0
Shares

मंसिर मसान्तसम्ममा देखिएको वित्तीय क्षेत्रको तुलनात्मक सुधारले माघमा पुग्दा अझै तिव्रता पाउने र त्यसले ब्याजदर नियन्त्रण र ऋण उपलब्धता अझै सहज हुने राष्ट्र बैंकका प्रवक्ता कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताएका छन् ।

समृद्धि फाउण्डेसनले राजधानीमा आयोजना गरेको एक कार्यशालामा भट्टले विदेशी मुद्राको संकटोन्मुख अवस्थाबाट सहज अवस्थामा मुलुक आइसकेको भन्दै वित्तीय क्षेत्रमा तरलताको अवस्था पनि सहज हुँदै गएको बताए ।

‘हामी विदेशी मुद्रा सञ्चति, भुक्तानी सन्तुलतजस्ता चिन्ताका विषयबाट करिव मुक्त हुने अवस्थामा पुगेका छौ,’ उनले भने, ‘ अब निजी क्षेत्रले सहज ऋण पाउन सक्ने गरी माघदेखि स्थिति अझै सहज बन्ने छ ।’ मुद्रास्फिति समेत घट्दै जाने दिशामा रहेको उनको भनाई थियो । पुस लागेसँगै एसएलएफको माग शुन्य प्राय रहेको भन्दै माघदेखि बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह क्षमता बढ्ने उनको भनाइ छ । ब्याजदरको स्थायीत्वका लागि राष्ट्र बैंकले बेलैमा निश्चित मापदण्ड तोकिदिएकाले अवस्था अझै खराब हुनबाट जोगिएको उनको दाबी छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले उद्यमी ब्यवसायीलाई मात्र समस्याको भार थोपरिएको भन्दै अवस्था तत्काल सहज बनाउने पहल थाल्न आग्रह गरेका थिए । चर्को ब्याजदर, चालु पुँजी कर्जा निर्देशिकाको असामयिक कार्यान्वयन, आयात प्रतिबन्धजस्ता व्यवस्थाले निजी क्षेत्र र मुलुकको अर्थव्यवस्थालाई नै प्रतिकुल असर पारेको धारणा राखे। निजीक्षेत्र निरासावादी भएर पनि आसामार्न नसकेको अवस्थामा पुगेको छ, उनले भने, सानादेखि ठूला व्यवसायी सबै मारमा परेको छन्, पुसमा अन्त्य सम्ममा अवस्था अझै बिग्रन सक्छ ।’

राष्ट्र बैंकले दिएको पुर्नकर्जा सुविधा फिर्ता, स्थानीय निकायको बचतलाई निक्षेपमा गणना गर्न नपाइने, सरकारले नै बाध्यकारी बनाएर आन्तरिक ऋण उठाउन लागेको र कर भुक्तानीको समयजस्ता कारणले तरलताको अवस्था सहज नहुने उनको भनाइ थियो । महँगो ब्याजदरका कारण उद्यम व्यवसाय गर्नु भन्दा बैंकमै बचत गरेर ब्याज कमाउनु बढी लाभ हुने अवस्था आएको प्रति सचेत हुन सरोकारवालालाई उनले सचेत गराए ।

अर्थतन्त्रको दिगो उत्थानका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर काम गर्न नसकेको निजी क्षेत्रलाई सम्मानजनक र प्रतिस्पर्धी वातावरण दिन सरकार र नियामक निकाय चुकेको उनको भनाइ थियो ।

कार्यक्रममा होटलसंघ नेपालकी अध्यक्ष सृजना राणाले पर्यटन क्षेत्रमा अहिले केहि सुधार देखिए पनि त्यसलाई दिगो र अझै प्रगतिउन्नमुख बनाउन पर्यटन क्षेत्रमा दिँदै आएका पुनकर्जा सुविधा तथा अन्य सहुलियत अझै केहि समय आवश्यक रहेको तर्क गरेकी थिइन । ‘सन् २०१९ मा १२ लाख पर्यटक नेपाल आएका थिए तर २०२२ सकिने बेलासम्म ६ लाख पुग्ने तरखरमा छ,’ उनले भनिन्, पर्यटन पुनः बाउन्सब्याक गर्न सरकारी तथा नियामकको अझै साथ सहुलियत आवश्यक छ ।’

पूर्व अर्थसचिव शंकरप्रसाद अधिकारीले अर्थतन्त्रलाई राजनीतिक अस्थिरताको चक्रले प्रभावित पारिरहेको भन्दै राजनीतिक नेतृत्वले कर्मचारी व्यवस्थापन तथा नीतिगत स्थाइत्वमा नै नकारात्मक दबाव सृजना गर्ने गरेको बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।