जय अम्बे स्टील्सले एकै वर्षमा गर्यो ९ अर्बको कारोबार, ९६% आम्दानी टिएमटी छडबाट

0
Shares

स्टील उद्योगहरुको सूचीमा शीर्ष स्थानमा रहेको अम्बे स्टील्सको भगिनी संस्था जय अम्बे स्टील्स लिमिटडले सन् २०२२ मा ८ अर्ब ८२ लाख (अपरिष्कृत) रूपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको आम्दानी गत वर्षको तुलनामा ३५ प्रतिशत अर्थात् २ अर्ब १० करोड ५७ लाखले बढेर ८ अर्ब ८२ लाख पुगेको हो । सञ्चालन आम्दानीमा वृद्धि भएसँगै कम्पनीको अर्मोटाइजेसन, डिप्रिसियसन, ब्याज र कर अघिको नाफा पनि वृद्धि भएको छ । गत वर्ष सञ्चालन आम्दानीको ३.६ प्रतिशत रहेको उक्त नाफा सन् २०२२ मा ८.८ प्रतिशत रहेको छ । उद्योगको चालुपुँजी कुल आम्दानीको ३६ प्रतिशत रहेको छ ।

अम्बे ग्रुप प्रमोटर रहनु, अम्बे ब्रान्ड नामबाट नै स्टीलको बिक्री वितरण गर्नुले पनि जय अम्बे स्टील्स उद्योगलाई आफ्ना सामाग्रीहरुको बजारिकरणमा सहयोग गरेको छ । साथै उद्योगले सन् २०२० मा टिएमटी छडका लागि आवश्यक पर्ने बिलेटको प्लान्ट जडान गरेको छ । प्लान्ट जडान गर्नु अघि उद्योगले बिलेटहरुको आयात गर्दै आएको थियो । बिलेटको उत्पादन उद्योग भित्र सुरु भएपछि कम्पनीले बिलेटको आयातमा खर्चने रकम अरु प्रयोजनमा प्रयोग गरेको जनाएको छ ।

कुल ८ अर्ब ८२ लाख आम्दानी गरेको उद्योगले कुल आम्दानीको ९६ प्रतिशत आम्दानी टिएमटी छडको व्यापारबाट मात्रै गरेको छ । उद्योगले टिएमटी छड, वान्डिङ वायर र जीआइ वायरहरुको बिक्री वितरण गर्दै आएको छ । तर आम्दानीको अधिकांश हिस्सा टिएमटी छडले ओगटेको छ । छड उत्पादक कम्पनीहरुको सङ्ख्या बजारमा बढ्दै गएको समयमा ३–४वटा सामाग्रीहरुमा मात्रै आफ्नो उत्पादन सिमित राख्दा उद्योगले मनग्य आम्दानी गर्न भने सकेको छैन।

भारतले स्टील निर्यातमा लगाएको प्रतिबन्ध तथा नेपाल सरकारले टिएमटी छडको निर्यातमा ३० प्रतिशत कस्टुम ड्युटीको नियम लागु गरेपछि स्टील उद्योगहरु प्रभावित बनेका छन् । यद्यपि भारतले लगाएको प्रतिबन्ध फुकुवा गरिसकेको छ र भारतसँगको सीमा जिल्ला बाँकेमा उद्योग रहेका कारण कच्चा पदार्थको ढुवानीमा सहजता भएको छ ।

उद्योगमा अम्बे ग्रुपका न्यौपाने, अग्रवाल र पौडेल परिवारको सेयर रहेको छ । कम्पनीको अध्यक्ष शोभाकर न्यौपाने रहेका छन् ।

७ अर्ब १६ करोड ५० लाख बैकिंङ कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्राले दीर्घकालीन कर्जाका लागि बी प्लस र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । कम्पनीको तरलता स्थायित्वमा आएको कमी, चालु पुँजीमा बढेको निर्भरताका कारण आम्दानी राम्रो देखिएता पनि इक्राले रेटिङ घटाएको छ । यस अघि सोहि कर्जाका लागि डबल बी माइन्स रेटिङ गरेको इक्राले उक्त रेटिङ बी प्लसमा घटुवा गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।