विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्रालय सम्हाल्दै, अनुभवबीच असीमित चुनौति

0
Shares

चुनावी परिणाम र सत्ता निर्माणको गठजोडमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को ‘यु टर्न’ ले गठित नयाँ सरकारमा अर्थमन्त्रीका रुपमा पुनः विष्णुप्रसाद पौडेल नियुक्त भएका छन् ।

विसं २०५३ सालमा नै मन्त्री बनेका पौडेल अहिले सातौं पटक मन्त्री बनेका हुन् भने तेस्रो पटक अर्थमन्त्री बनेका हुन् । पौडेलले पछिल्लो पटक केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा गठित सरकारमा २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म उप्रधानमन्त्री तथा अर्थमन्त्रीको रुपमा काम गरेका थिए । त्यसअघि ओलीकै प्रधानमन्त्रीत्वमा २०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म पनि उनी अर्थमन्त्री थिए । दुबै पटक अर्थमन्त्री हुँदा नेपाली अर्थतन्त्र र आर्थिक विकासलाई नयाँ मोड दिने गरी बजेट प्रस्तुत गरेको दाबी उनको रहँदै आएको छ ।

शालिन स्वभावका मानिने पौडेल नेकपा एमालेका उपाध्यक्ष हुन् । २०७८ मङ्सिर १० देखि १४ मा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र रहँदै आएका पौडेल हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट विजयी भएका हुन् । त्यति मात्र नभइ दाहालसँग सुमधुर सम्बन्ध रहेका पौडेलको सक्रियता गत मंसिर ४ गते भएको निर्वाचनमा ठूलो दल भएको नेपाली काग्रेसबाट सत्ताको साचो नेकपा एमालेमा पुगेको हो ।

अर्थतन्त्रको जटिलता समानाको अपेक्षा

अर्थतन्त्रको विशेष ज्ञान नभएको भन्दै विभिन्न आलोचना हुने गरेपनि पौडेलले विगतमा विज्ञ तथा सरोकारवालाहरुको साथ लिने क्रममा चुकेनन । कर्मचारी बृत पनि चिढिनु पर्ने अवस्था आएको थिएन । मौद्रिक अर्थशास्त्री विज्ञ डा युवराज खतिवडाकोसमेत तीव्र विरोध भएकामा विष्णु पौडल भने ठूला विवादमा परेका थिएनन् । यद्धपि बालुवाटार जग्गा प्रकरणमा भने उनी आम समुदायस्तर मै आलोचित हुने गरेका छन् ।

यहि क्रममै उनी अहिले अर्थमन्त्री बनेका पौडेललाई विगतको जस्तो सहज अवस्था भने छैन । राष्ट्रिय र अन्तराष्ट्रिय कारणले अर्थतन्त्र चुनौतिपूर्ण रहेको वर्तमान अवस्थामा अर्थमन्त्रालय पुनः नेतृत्व गर्न आएका पौडेललाई यसपाली चुनौति भने सानो छैन । पछिल्ला समय राष्ट्रिय अर्थतन्त्रलाई जागृत गर्नका लागि राज्यका विभिन्न आर्थिक नीतिहरुको प्रभावकारिता नदेखिएपनि मौद्रिक नीति भने बलियो भूमिकामा आएको अवस्था छ । यो भनेको अर्थतन्त्र आधारको दिगो विस्तार भन्दा पनि उपकरणीय परिचालनको निर्भर हुन पुगेको छ जुन अत्यन्तै अल्पकालीन हो ।

तरलता अभाव, नून राजश्व संकलन, कमजोर सरकारी वित्त परिचलानजस्ता असरदेखि अर्थतन्त्रको अधारशिला राष्ट्रिय पुँजी निर्माणमा सिथिलता, जनताको खस्कदो क्रय शक्ति नयाँ उद्यमशीलताको अवरुद्ध जस्ता गम्भिर समस्याको समाधान निकाल्न उनका लागि अहिलेको चुनौतिको विषय हो । जुन सामना र समाधान नगरी पौडेललाई सुखै छैन ।

२०१६ मंसिरमा स्याङ्जाको पुतलीबजारमा जन्मिएका पौडेल १८ वर्षकै उमेरबाट राजनीति सुरु गरेका हुन् । २०३७ असार १२ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) का दस्तावेजहरु सहित भैरहवाबाट गिरफ्तार भएपछि उनले राजकाज मुद्धामा ३ बर्ष कारागार चलान भएका थिए । तर ४५ दिनको लगातारको मेहनत र तयारी पछि २०३७ भदौ १ गते विहान ४ः३० बजे भैरहवा जेलबाट बिद्रोह गरी भागेका थिए ।

२०५१ माघ २७ देखि विभिन्न समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय संगठन विभागको सदस्य, सचिव र प्रमुखको जिम्मेवारी बहन गर्दै आएका पौडेल २०५३ मा पार्टीको उद्योग व्यवसाय विभागको प्रमुख, २०५५ असारमा स्थानीय निकाय विभागको प्रमुख र २०६६ असारमा संसदीय विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए भने २०५६ मा पार्टीको केन्द्रीय कार्यालय सचिव बनेका थिए ।

विसं २०७१ असारमा काठमाडौंमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको उपमहासचिवमा निर्वाचित भएका पौडेल २०७५ जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिव बनेका थिए ।

पौडेलका सात सत्ता

  1. २०५३ चैत्र १२ देखि २०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृतिमन्त्री
  2. २०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म जलस्रोतमन्त्री
  3. २०६७ चैत्र ३ देखि २०६८ भदौ ११ सम्म रक्षामन्त्री
  4. २०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म पनि अर्थमन्त्री
  5. २०७७ असोज २८ देखि २०७८ बैशाख ३१ सम्म अर्थमन्त्री
  6. २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म उप्रधानमन्त्री तथा अर्थमन्त्री
  7. २०७९ पुस ११ देखि अर्थमन्त्री

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।