माइक्रो फाइनान्समा बल्झिँदै समस्या, ४ महिनामा थपियो साढे २ अर्ब ‘लोन लस प्रोभिजन’

0
Shares

कोरोना महामारी तथा रुस युक्रेन युद्धले अर्थतन्त्रमा पारेको असर माइक्रो फाइनान्समा पनि देखिन थालेको छ । अर्थतन्त्रमा देखिएको समस्याले सर्वसाधारणको क्रय शक्ति कमजोर भएपछि लघुवित्तमा पनि कर्जा ‘डिफल्ड’ उच्च दरमा बढेको हो ।

माइक्रो फाइनान्सको डिफल्ट रेट बढेपछि खराब कर्जा बापतको व्यवस्था समेत अस्वभाविक रुपमा बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा माइक्रो फाइनान्सको कर्जा जोखिम व्यवस्था बापत २ अर्ब ३३ करोड २० लाख रुपैयाँ थप भएको छ । यो रकम गत असारको तुलनामा २० प्रतिशतले धेरै हो । गत असारसम्ममा ११ अर्ब ७० करोड ८० लाख रुपैयाँ कर्जा जोखिम व्यवस्था गरेका लघुुवित्तले चालु आवको ४ महिनामा मात्र २ अर्ब ३३ करोड २० लाख रुपैयाँले बढाएर उक्त शीर्षकमा १४ अर्ब ४ करोड रुपैयाँको व्यवस्था गरेका हुन् ।

कोरोना महामारीमा आर्थिक गतिविधि ठप्प भए । सबै क्षेत्रको रकम बैंकिङ क्षेत्रमा गयो । त्यसले बैंकिङ प्रणालीमा अधिक तरलता भयो । अधिक तरलता भएपछि सस्तो दरमा कर्जा लगानीमा बैंक वित्तीय संस्था आक्रमक भए । सस्तो दरमा विस्तार भएको कर्जाले सम्पत्तिको मूल्य मात्र बढायो । फलस्वरुप महंगी बढ्नुका साथै आयात उच्च हुन पुग्यो । नेपाल राष्ट्र बैंकले आयात र महंगी नियन्त्रण्का लागि कर्जा विस्तारको गतिलाई सुस्त बनाउने नीति लियो ।

महंगी नियन्त्रण र कर्जा विस्तारलाई सुस्तता दिन केन्द्रीय बैंकको नीतिका कारण ब्याजदर बढ्न गयो । उच्च ब्याजदर भएपछि कर्जाको माग कम हुन थाल्यो भने वित्तीय क्षेत्रमा कर्जा लगानी योग्य रकमको समेत अभाव बढ्न थाल्यो । अन्तर्राष्ट्रिय परिस्थितीका कारण भित्रिएको महंगी र राष्ट्र बैंकको कर्जा नियन्त्रणको नीतिले आम सर्वसाधारणको सम्पत्तिको मूल्य घट्ने तथा आम्दानीमा गिरावट आएपछि कर्जा तिर्ने क्षमतामा समेत ह्रास आएको एक माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृतले नाेटबजारलाइ बताए ।

“विगत ३० वर्ष यताकै जटिल समस्या आएको बैंकहरुले समेत बताउँदै आएका छन,” उनले भने “पहिला भनेको रेट तिरे समयमा पैसा पाइन्थ्यो । तर, अहिले निक्षेपमा पनि राष्ट्र बैंकका विभिन्न व्यवस्थाले महंगो रेट तिर्दा पनि निक्षेप नपाउने अवस्था छ ।” उच्च ब्याजदरमा समेत आवश्यकता अनुसार नयाँ निक्षेप नपाएपछि बैंकहरुले नै कर्जा विस्तार भन्दा पनि पुरानो कर्जा घटाएको अवस्था छ । बैंकहरुले राष्ट्र बैंकले तोकेको कर्जा निक्षेप अनुपातको सीमा काम गर्नका लागि पनि कर्जा घटाउन परेको उनको भनाइ छ ।

“बैंकहरुले तरलता सहज भएको समयमा लघुवित्तलाई चाहिने भन्दा धेरै कर्जा दिइ पैसा ‘डम्प’ गरेका थिए,” उनले भने, “तरलता समस्या हुन थालेपछि उक्त कर्जा फिर्ता माग्न थाले । त्यसका लागि लघुवित्तहरु कर्जा भुक्तान गर्न तयार नभएको हुनाले पनि केही समस्याहरु आएको हो । अहिले लघुवित्तमा कर्जाको ग्रोथ छैन ।”

उच्च आयातका कारण बढेको शोधानान्तर घाटा, सरकारी ढुकुटीमा पैसा थुप्रिएपछि र रियल स्टेट ओरालो लागेपछि बैंक वित्तीय संस्थामा निक्षेप घट्ने उनको भनाइ छ । अर्थतन्त्र नै समस्यामा भएको हुनाले सबै क्षेत्रमा परेको असर माइक्रो फाइनान्समा पनि देखिएको उनको भनाइ छ ।

अर्थतन्त्रको चक्रिय प्रभाव स्वरुप माइक्रो फाइनान्सको खराब कर्जा बढ्न थालेको बताउँदै उनले भने, “उद्योगी व्यवसायी तथा लघुवित्तका ऋणीले नै आन्दोलन गर्नु परेको अवस्था पहिलो पटक हो ।” माइक्रो फाइनान्समा डिफल्ट बढेको स्विकार गर्दै उनले भने,“माइक्रो फाइनान्समा मात्र होइन, अन्य बैंक वित्तीय संस्थाको पनि डिफल्ट रेट बढेको छ ।”

माइक्रो फाइनान्समा धितो नभएपनि समुह ग्यारेन्टी हुने र समुहको निक्षेपलाई नै धितो मानिने भएकाले तुलनात्मक रुपमा राम्रो रहेको उनको बुझाइ छ ।

माइक्रो फाइनान्समा कर्जा जोखिम व्यवस्थाको रकम बढेको मात्र नभई ऋण तिर्ने ऋणीको संख्यामा समेत उच्च वृद्धि भएको छ । कात्तिक महिनासम्ममा कर्जा ओभर ड्यू राख्ने ऋणीको संख्या बढेर ७ लाख भन्दा माथि पुगेको छ । कोरोना महामारीमा कुल ऋणी मध्ये ३६ प्रतिशतको कर्जा ड्यू थियो । तर, त्यो विस्तारै घटेर साढे ११ प्रतिशतसम्म आएको थियो । तर, पछिल्लो समयमा यो बढेर पुन २२ प्रतिशतको हाराहारीमा पुगेको छ ।

२०७९ असार अन्तिममा कुल ऋणीको संख्या ३३ लाख ३ हजार एक सय थियो । २०७९ कात्तिकसम्ममा कुल ऋणीको संख्या ३३ लाख ४ हजार ७ सय ५ पुगेको छ । गत असारमा समयमा कर्जा नतिर्ने ऋणीको संख्या ३ लाख ८२ हजार ३ सय ५३ रहेको थियो । यो कुल ऋणीको प्रतिशत हो ।

त्यसैगरी चालु आर्थिक वर्षको पहिलो ४ महिना अर्थात कात्तिकसम्ममा ओधर ड्यू ऋणीको संख्या ७ लाख ४२ हजार ४ सय ६९ पुगेको छ । यो संख्या कुल ऋणीको २२.४६ प्रतिशत हो । गत असारको तुलनामा चालु आवको पहिलो तुलनामा समयमा कर्जा नतिर्न ऋणीको संख्या ३ लाख ६० हजार एक सय १६ अर्थात ९४ प्रतिशतले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७९, आइतबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।