मन्त्रालय र विभागहरुबीच समन्वय नहुँदा भन्सारमा समस्या : व्यवसायी

नोटबजार संवाददाता
काठमाण्डौं ।
१०माघ, २०७९, मंगलवार / Jan 24, 2023 16:54:pm

नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोद कुमार सेठियालले सरकारकै मन्त्रालय र विभागहरुबीच समन्वय नहुँदा त्यसको मार सेवाग्राही र व्यवसायीले झेल्नुपरेको बताएका ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भ पारेर सोमबार काठमाडौंमा एक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष सेठियाले भन्सार क्षेत्रमा विगतको तुलनामा निकै सुधार आए पनि गर्न बाँकी काम अझै धेरै रहेको बताए ।

सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले उनीहरुबीच विश्वास बढाउन सके समस्या समाधान सहज हुने उनको भनाइ छ । भन्सार नेतृत्व छिटोछिटो परिवर्तन नगर्न आग्रह गरेका सेठियाले नीतिगत स्थिरताको आवश्यकता पनि औंल्याए।

उच्च भन्सार दरले अनधिकृत व्यापार बढाउने भन्दै सेठियाले भन्सार दरलाई वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए । भन्सार कार्यालयहरुले एलसीबाट भुक्तानी हुने गरी आयात भएको, उत्पादकबाटै सिपमेन्ट भएको र भन्सारको मार्गदर्शन अनुसार नै आयात भएको वस्तुको हकमा पनि बिल मूल्यलाई मान्यता नदिने गरेको गुनासो गर्दै उनले सन्दर्भ मूल्यांकन पुस्तिका हटाई कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए । सन्दर्भ मूल्यांकनले विदेशी मुद्राको अपचलनदेखि अधिक र न्यून बिजकीकरण जस्ता अभ्यासलाई बढावा दिइरहेको उनको भनाइ थियो ।

पुनः मूल्यांकनका लागि आवेदन गरेका हजारौं फाइल लामो समयदेखि अनिर्णित रहेकोमा ध्यानाकर्षण गराएका सेठियाले वस्तु वर्गीकरणको हार्मोनिक सिस्टम कोड ८ अंकबाट बढाएर १० गर्नुपर्ने र बढी महसुल असुल्ने उद्देश्यले वर्गीकरण परिवर्तन गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

न्यून बिजकीकरण न्यूनीकरण र स्वदेशी उद्योग संरक्षणका लागि आयात हुने वस्तुको इकाइमा भन्सार लगाउनुपर्ने सुझाव दिँदै भन्सार महसुलका सन्दर्भमा पूर्वादेश दिने व्यवस्थामा रहेको समस्या हटाउन माग गरे ।

भन्सार पुनः मूल्यांकन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन र चोभार सुक्खा बन्दरगाहमा व्यवसायी आकर्षित हुने वातावरण बनाउन पनि उनले माग गरे ।

त्यसैगरी, भन्सार कार्यालयमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न पाउने समयसीमा व्यवहारिक बनाउन, सबै प्रमुख भन्सार कार्यालयमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्न र भन्सारको बेरुजु भन्दै वर्षौंपछि व्यवसायीलाई पत्र पठाउने चलनको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा विश्व भन्सार संगठनका सल्लाहकार श्याम दाहालले भन्सार क्षेत्रको अवस्था र गर्नुपर्ने सुधारका विषयमा प्रस्तुति दिए थियो भने अर्थसचिव, राजस्व सचिव र भन्सार विभागका महानिर्देशकले संघ तथा निजी क्षेत्रले उठाएका मुद्दाहरुको जवाफ दिए ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments