पत्रकार महासङ्घ र नेत्रज्योति सङ्घबीच निःशुल्क आँखा जाँच सम्बन्धी सम्झौता

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१९माघ, २०७९, बिहीबार / Feb 02, 2023 13:30:pm

नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच आँखा उपचारसम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल र सङ्घका तर्फबाट अध्यक्ष प्रा. डा. चेतराज पन्तले आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा महासङ्घका अध्यक्ष पोख्रेलले प्रविधिको विकाससँगै लामो समय कम्प्युटरलगायत उपकरणको प्रयोगले पत्रकारको आँखामा समस्या देखिन थालेको बताए । उनले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभान्वित हुने बताए ।

सङ्घका अध्यक्ष पन्तले जनचेतना र सूचनाको अभावले आँखासम्बन्धी समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताए । उनले निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागिपरेको बताए ।

विसं २०३५ मा स्थापना भएको गैरनाफामूलक संस्था नेत्रज्योति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, एक सय ५० आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखामार्फत नागरिकलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments