भुक्तानी सेवा प्रदायकलाई पनि आधिकारिक प्रतिनिधि, एकै व्यक्तिले बहु संस्थाको सेवा दिन सक्ने
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई पनि आधिकारिक प्रतिनिधि मार्फत सेवा दिन सक्ने बाटो खुला गरेको छ । केन्द्रीय बैंकले बैंक÷वित्तीय संस्था मात्र नभई भुक्तानी सेवा प्रदायक कम्पनीले पनि प्रतिनिधि मार्फत भुक्तानी सेवा दिने व्यवस्था गरेको हो।
केन्द्रीय बैंकले प्रविधि मैत्री बैंकिङ सेवाको विस्तारका लागि भूक्तानी सेवा प्रदायकलाइ पनि आधिकारिक प्रतिनिधिको व्यवस्था गरेको जनाएको छ । सो व्यवस्था अन्तर्गत आधिकारिक प्रतिनिधिले सेवा प्रदान गर्दा ग्राहकसंग कुनै पनि प्रकारको सेवा शुल्क भने लिन नपाइने व्यवस्था गरेको छ । भुक्तानी सेवा प्रदायक संस्थाले आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी सम्बन्धी सेवा प्रवाह गर्दा आधिकारिक प्रतिनिधि छनौटको लागि सक्षमता परीक्षण गरी दुई पक्षबीच सम्झौता गरेको हुनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
केन्द्रीय बैंकका अनुसार भुक्तानी प्रदायक र आधिकारिक प्रतिनिधि बीच सम्झौता गर्दा अन्य भुक्तानी सेवा प्रदायक संस्थाको आधिकारिक प्रतिनिधि भई काम गर्न प्रतिवन्ध लगाउने गरी शर्त राखेर सम्झौता गर्न नपाइने केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार आधिकारिक प्रतिनिधिले आवश्यकता अनुसार सब–एजेन्ट पनि नियुक्त गर्न सक्छन । सब–एजेन्टमार्फत भुक्तानी सम्बन्धी सेवा प्रवाह गर्दा आधिकारिक प्रतिनिधि र सब–एजेन्टबीच सम्झौता भने हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
आधिकारिक प्रतिनिधि वा सब–एजेन्टमार्फत भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्ने सम्बन्धमा भुक्तानी सेवा प्रदायक संस्थाको सञ्चालक समितिबाट नीतिगत व्यवस्था गरेको हुनुपर्छ । भुक्तानीसम्बन्धी सेवा प्रवाह गर्न नियुक्त गरिएका आधिकारिक प्रतिनिधिको निगरानी गर्ने जिम्मेवारी भुक्तानी सेवा प्रदायक संस्थाको हुनेछ ।
सब–एजेन्टको निगरानी गर्ने जिम्मेवारी आधिकारिक प्रतिनिधिको हुनेछ । सब–एजेन्टले गरेको भुक्तानीसम्बन्धी कार्यको सम्पूर्ण जिम्मेवारी आधिकारिक प्रतिनिधिको हुनेछ । आधिकारिक प्रतिनिधि वा सब–एजेन्टद्वारा ग्राहकलाई प्रदान गरिने सम्पूर्ण भुक्तानी सम्बन्धी सेवाको अन्तिम जिम्मेवारी भुक्तानी सेवा प्रदायक संस्था स्वयंमको हुने केन्द्रीय बैंकले जनाएको छ ।
भुक्तानी सेवा प्रदायक संस्थाले नियुक्त गरेको आधिकारिक प्रतिनिधि वा आधिकारिक प्रतिनिधिले नियुक्त गरेको सब–एजेन्टले वालेट वा प्रि–पेड कार्ड जस्ता भुक्तानी उपकरणहरूमा नगद जम्मा गर्ने वा भुक्तानी गर्ने सेवा प्रदान गर्न सक्छ । त्यसैगरी ग्राहकले लिएको सेवाको वालेट मार्फत भुक्तानी तथा रकमान्तरणको कार्य गर्ने सक्छन् । वालेट वा उपकरणको कारोबार विवरण वा मौज्दात प्रदान गर्ने काम समेत एजेन्ट र सव एजेन्टले गर्न सक्छन ।
प्रचलित कानूनको पालना गरी सुरक्षित तवरले विद्युतीय ग्राहक विवरण लिने तथा उक्त विवरण अद्यावधिक गर्ने र रिमोट अनबोर्डिङ गरी वालेट खाता खोल्ने काम समेत प्रतिनिधिले गर्न सक्छन । केन्द्रीय बैंकका अनुसार सरकारी सेवा तथा करका लागि भुक्तानी लिने/दिने काम समेत एजेन्ट र सव एजेन्टले गर्न सक्छन।
आधिकारिक प्रतिनिधि वा सब–एजेन्टहरू इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थासँगको कारोबारमा कालोसूचीमा नपरेको वा परेको भए फुकुवा भएको कम्तीमा ३ वर्ष पूरा भएको स्वःघोषणा लिनुपर्छ । आधिकारिक प्रतिनिधि वा सब–एजेन्टको लागि भुक्तानी सेवा प्रदायक संस्थाले तालिम तथा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नु पर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।
भुक्तानी सेवा प्रदायक संस्थाले नियुक्त गरेको आधिकारिक प्रतिनिधिले सेवा बन्द गर्न सक्ने अवस्थालाई ध्यानमा राखी सेवाको निरन्तरताको लागि व्यावसायिक निरन्तरता योजना तयार गर्नुपर्ने हुन्छ । त्यस्तै, आधिकारिक प्रतिनिधिले पनि आफूले नियुक्त गरेको सव एजेन्टले सेवा बन्द गर्न सक्ने अवस्थालाई ध्यानमा राखी त्यस्तो योजना तयार गरेको हुनुपर्छ ।
भुक्तानी सेवा प्रदायक संस्थाले आधिकारिक प्रतिनिधि वा आधिकारिक प्रतिनिधिले सब–एजेन्टहरू नियुक्त गर्दा सकेसम्म वित्तीय पहूँच कम भएका स्थानलाई प्राथमिकता दिनु पर्नेछ । भुक्तानी सेवा प्रदायक संस्थाले आफ्नो वेवसाइटमा आधिकारिक प्रतिनिधि तथा सब–एजेन्टको अद्यावधिक सूची अनिवार्य राख्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।