पाँच अर्बको ऋणपत्रमा ग्लोबल आइएमईले वार्षिक ११.२५% ब्याज दिने, माघ २९ देखि जारी हुँदै

नोटबजार संवाददाता ।
काठमाडौं ।
२०माघ, २०७९, शुक्रबार / Feb 03, 2023 11:26:am

ग्लोबल आइएमई बैंक लिमिटेडले यहि माघ २९ गते आइतबारदेखि पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदर भुक्ताननी गर्नेगरी उक्त ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो ।

दीर्घकाली लगानीको स्रोत जुटाउन बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरमा ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । पाँच वर्ष अवधिको उक्त ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४–८५’ मा बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेछ । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ ।

जारी ५० लाख इकाई ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारण (सामूहिक लगानी कोषलाई बाँडफाँड भएको ७० हजार कित्ता समेत) लगानीकर्तालाई बिक्री गर्नेछ । सर्वसाधारणबाट मात्रै भने १९ लाख ३० हजार कित्ताका लागि आवेदन माग हुनेछ ।

लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन बन्द छिटोमा फागुन ३ गते र सो अवधिमा सबै बिक्री नभएको खण्डमा ढिलोमा फागुन १४ गतेसम्म खुला हुनेछ ।

लगानीकर्ताले सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर मोबाइल एप, मेरो सेयरको वेवसाइट प्रयोग गरी अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् ।

यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु समेत सि आस्बा प्रणालीमार्फत ऋणपत्रमा आवेदन दिन सकिने बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ए’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थामा कर्जा जोखिम न्यून रहेको संकेत गर्दछ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments