राजस्व अनुसन्धान विभागद्धारा राजस्व चुहावटका ६ सहित ११ मुद्दा दायर

0
Shares

राजस्व अनुसन्धान विभागले पछिल्लो तीन महिनाको अवधिमा राजस्व चुहावटका ६ वटा मुद्दा दायर गरेको छ ।

विभागले आज प्रेस नोट जारी गर्दै गत कात्तिक दोस्रो सातायता राजस्व चुहावटसम्बन्धी ६ वटा र विदेशी मुद्रा अपचलनसम्बन्धी ५ मुद्दा गरी ११ वटा दायर गरेको जनाएको छ । त्यस्तै, वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई कारबाही भएको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो तीन महिनामा राजस्व चुहावटका १९९ सूचना आएका थिए । जसमध्ये ७६ सूचनामाथि थप अनुसन्धानका लागि विभिन्न निकायमा लेखी पठाएको र ६ सूचनामाथि अनुसन्धान टुङ्ग्याएर मुद्दा दर्ता भएको विभागले जनाएको छ ।

दायर भइसकेका छ मुद्दामा आठ प्रतिवादीलाई ६४ करोड ३१ लाख रुपैयाँ बराबर सजाय माग दाबी गरिएको छ । यही अवधिमा विदेशी विनिमयको अपचलनतर्फ ६ सूचना आएकामा पाँच मुद्दा दायर भएका छन् । ६ जनाविरुद्ध ५२ लाख ३३ हजार रुपैयाँ बराबर माग दाबी गरी मुद्दा दायर गरिएको प्रेस नोटमा उल्लेख छ ।

त्यस्तै, वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसिटिएस) को अनुगमनबाट ७६ फार्म तथा कम्पनीलाई ५८ लाख १८ हजार रुपैयाँ बराबर जरिवाना गरिएको विभागले जनाएको छ । आर्थिक सुशासन कायम गर्न पछिल्लो समय राजस्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणलाई प्रभावकारी बनाउँदै लगिएको विभागले दाबी गरेको छ ।

“राजस्व चुहावटमा संलग्न व्यवसाय, फार्म तथा व्यक्तिको कारोबारस्थलमा विभागले अनुमगन बढाउने, कारोबारस्थलबाट कागजात नियन्त्रणमा लिने, अनुसन्धान गर्ने र कानुनले तोकको सीमाभित्र तथा अभियोजन गर्ने वा कर निर्धारण गर्ने काम भएको छ”, प्रेस नोटमा उल्लेख छ ।

सरकारले पछिल्लो केही समय आयातमा कडाइ गरेका चिनी, कपडाजन्य सामान, मदिरा तथा विद्युतीय सामानमा चोरी पैठारी बढी हुनसक्ने भन्दै विभागले अनुगमन बढाएको जनाएको छ ।

त्यस्तै, भन्सार बिन्दु प्रयोग नगरी गोदामस्थलमा स्रोत नखुलेका मालवस्तुको भण्डारण र कारोबार गरेको सूचनाको आधारमा यस्ता क्रियाकलापमा संलग्न व्यवसायीलाई अनुसन्धानको दायरामा ल्याएको विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ माघ २०७९, आइतबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।