शुभम् पावरको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुँदै
शुभम् पावर लिमिटेडको आईपीओ माघ २७ गते शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार शुक्रबार बिहान ९ बजे क्यापिटलको कार्यालय नारायणचौर नक्साल, काठमाण्डौंमा सेयर बाँडफाँड हुनेछ ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आइपीओमा ४८ हजार १८२ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् । सो मध्ये २ जनाले थप १।१ कित्ता गरी ११ कित्ता हात पार्नेछन् । यस आधारमा अेर्दा सेयर नपाउने आवेदक संख्या कुल आवेदकको ९६ प्रतिशत रहेको छ । कुल आवेदकमध्ये एक सय जनामा ४ जनाले मात्र सेयर हात पार्नेछन् ।
कम्पनीले माघ १८ गते देखि २२ गते आइतबारसम्म प्रति सेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर जारी गरेको थियो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा १३ लाख ६४ हजार ७५६ वटा आवेदन मार्फत १ अर्ब ५१ करोड २१ लाख १३ हजार मूल्यको १ करोड ५१ लाख २१ हजार १३० कित्ताको माग परेको छ । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्याको ३१.१९ गुणा बढी हो ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसकेको छ । ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुका लागि बाँडफाँड भैसकेको छ । यस्तै २९ हजार ३० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८२२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।