बढिमा १ प्रतिशत मात्र प्रिमियम थप्न पाउने व्यवस्था गर्न मोरङ्ग ब्यापार संघको माग
मोरंग व्यापार संघले बैंक तथा वित्तीय संस्थाहरुलाई आधार दरमा बढीमा एक प्रतिशत मात्र प्रिमियम संकलन गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।
संघका अध्यक्ष नवीन रिजाल तथा उपाध्यक्ष नन्द किशोर राठीले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आइतबार भेट गर्दै बैंकहरुको उच्च प्रिमियम दरका कारण बैंक व्याजदर चर्को हुन गएको बताउँदै बढिमा १ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था ल्याउन अनुरोध गरेका हुन् ।
संघले अर्थमन्त्री समक्ष विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गर्न आग्रह गरेका हुन् । अर्थमन्त्रीसँगको भेटमा बैंकहरुले पछिल्लो अवस्थामा बैंकिङ शुल्कहरु अचाक्ली रुपले बढाएकोले त्यसलाई समेत न्यून गराउन निर्देशन दिन अनुरोध गरेका छन् ।
साथै, अध्यक्ष रिजालले मोरंग व्यापार संघको विगतका पहलहरुबाट नेपाल राष्ट्र बैंक र बैंकहरुले निक्षेप लगायतका व्याजहरुमा केहि लचकता अपनाएकोमा धन्यवाद ज्ञापन गरेका थिए भने ऋणीहरुको व्याजदर घटाउने कार्य चाहीँ भई नसकेको जिकिर गरेका थिए ।
अर्थ मन्त्रीले विद्यमान निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुको पछिल्लो खस्कँदो अवस्थालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंकले केही लचक नियमहरु क्रमिक रुपमा ल्याइरहेको जनाएका थिए ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।