वाणिज्य बैंकहरुकाे ७५२ स्थानीय तहमा शाखा विस्तार, कुल ५ हजार २९ शाखा मार्फत सेवा

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
९फाल्गुन, २०७९, मंगलवार / Feb 21, 2023 17:09:pm

मुलुकका ७५३ स्थानीय तहहरु मध्ये चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।

राष्ट्र बैंकका अनुसार ७ वटा प्रदेश अन्तर्गत ७७ वटा जिल्लामा रहेका ७५३ मध्ये एक स्थानीय तहमा मात्रै शाखा नपुगेको हो । विसं २०७८ पुससम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

सबै स्थानीय तहमा वाणिज्य बैंकको कम्तिमा एक शाखा विस्तार गर्ने नेपाल राष्ट्र बैंकको नीति बमोजिम ७५२ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । तर, बझाङ जिल्लाको साईपाल गाउँपालिकामा हालसम्म वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । हाल प्रदेश नम्बर ७ मा रहेका ८८ वटा स्थानीय तह मध्ये ८७ वटा स्थानीय तहमा शाखा पुगेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार ५२८ रहेकोमा समीक्षा अवधिमा ६० वटाले बढेर २०७९ पुस मसान्तमा ११ हजार ५८८ पुगेको छ । जसमध्ये २०७९ पुससम्म वाणिज्य बैंकहरुको कुल शाखा संख्या ५ हजार २९, विकास बैंकहरुको कुल शाखा संख्या १ हजार १२८, फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या २८० र लघुवित्त वित्तीय संस्थाहरुको कुल शाखा संख्या ५ हजार १५१ वटा पुगेको छ । २०७८ असार मसान्तको तुलनामा साढे एक वर्षमा वाणिज्य बैंकहरुको कुल शाखा संख्या २७६, विकास बैंकहरुको १०५, फाइनान्स कम्पनीहरुको ५८ र लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ४६६ वटाले वृद्धि भएको हो ।

चालु अबको कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या भने १२१ वटामा सीमित भएको छ । सोमध्ये २२ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । पछिल्लो एक वर्षको अवधिमा मर्जरका कारण वाणिज्य बैंकका संख्या ५, विकास बैंक १ र लघुवित्तको संख्या ६ वटाले घटेको छ ।

मर्जर प्राप्तीका कारण १८३ संस्थाहरुको इजाजत खारेज

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments