चालु आर्थिक वर्षको ७ महिना अर्थात साउनदेखि माघसम्ममा मुलुकको कूल व्यापार घाटा ८ खर्ब रूपैयाँ नाघेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत माघ मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख ९ हजार पुगेको छ ।
गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको तुलनामा १८.७१ प्रतिशतले कमी आएको हो ।
७ महिनाको अवधिमा देशको कूल व्यापार १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल ९ खर्ब १९ अर्ब १६ करोडको आयात हुँदा ९३ अर्ब ४३ करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आवको ७ महिनामा कूल व्यापार २०.८४ प्रतिशतले घटेको छ । गत आवमा कूल १२ खर्ब ७९ अर्ब १२ करोड बराबरको व्यापार भएको थियो ।
गत आवमा ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकोमा चालु आवको ७ महिनामा १९.९० प्रतिशतले कमी आई ९ खर्ब १८ अर्ब १६ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।
यस्तै, गत आवको ७ महिनामा एक खर्ब ३१ अर्ब ६५ करोड बराबरको माल वस्तु निर्यात भएकोमा चालु आवको ७ महिनामा २९.०३ प्रतिशतले ओरालो लागेर ९३ अर्ब ४३ करोड बराबरको वस्तु निर्यात भएको हो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया