माईखोला हाइड्रोपावरको आईपीओ फागुन २५ देखि खुल्ने

0
Shares

माईखोला हाइड्रोपावर लिमिटेडको आईपीओ फागुन २५ गतेदेखि बिक्री खुल्ने भएको छ । कम्पनीले सोमबार आह्वानपत्र प्रकाशन गर्दै आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कुल ५ लाख ४५ हजार ९८ कित्ता सेयर जारी गर्न लागेको जनाएको हो ।

पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । प्रति सेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता सेयर स्थानीय र १ लाख ५२ हजार ९४१ कित्ताका लागि सेयर वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको साधारण सेयर आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

यस्तै कम्पनीले सर्वसाधारणमा १५ करोड २९ लाख ४१ हजार रुपैयाँ बराबरको १५ लाख २९ हजार ४१० कित्ता सेयर छुट्टाएको छ । सोमध्ये सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन हुने आईपीओ चैत ९ गतेसम्म मात्र खुला हुनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको हकमा भने छिटोमा चैत ९ गते र सो अवधिमा सबै सेयर बिक्री नभए चैत २४ गतेसम्म आईपीओ खुला हुनेछ ।

आईपीओ निष्काशनको लागि कम्पनीले रेटिङ्ग एजेन्सी इक्रा नेपाल लिमिटेडबाट रेटिङ गराएको छ । इक्राले कम्पनीको आईपीओलाई ‘इक्रा एनपि डबल बी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कहाँबाट भर्न सकिन्छ ?

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा स्वीकृती प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सिआश्वा प्रणाली मार्फत आवेदन गर्न सक्नेछन् ।

यस्तै इलाम जिल्लाका स्थानीय बासिन्दाले आयोजना रहेको स्थल, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले तयार पारेको अनलाईन व्यवस्थाबाट पनि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्रति दरखास्त फाराम बापत आवेदकले २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

कति दिने आवेदन ?

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्मका लागि तथा आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् ।

प्रतिमेगावाट लागत २० करोड ३७ लाख

कम्पनीले सुपरमाई क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाको प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ । निर्माण सम्पन्न हुँदासम्म कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ लाग्ने अनुमान छ ।

कम्पनीले २०७७ असार ३१ गतेदेखि व्यवसायीक उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरिरहेको छ । आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन १०.०१ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने लाग्ने अवधि २०.७४ वर्ष लाग्ने उल्लेख छ । आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष ६ महिना बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ फागुन २०७९, सोमबार  ११ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।